नेकपा एमाले कास्कीको राजनीति दुई कित्तामा ध्रुवीकृत छ। एउटा कित्ता उपमहासचिव पृथ्वीसुब्बा गुरूङको पक्षमा छ भने अर्को कित्ता संगठन विभाग प्रमुख खगराज अधिकारीको। गुरूङ र अधिकारीबीचको टकराव बेलाबेलामा सतहमै देखिन्छ। यसपालि त्यसको निशानामा एमालेले उठाएको मेयर उम्मेदवार दीपक पौडेल परेका छन्।
एमाले केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले पोखराको मेयर पौडेललाई बनाउने निर्णय गरेको थियो। उनले मेयरको टिकट पाएको भोलिपल्ट आइतबार बिहानै उनी संलग्न भनिएको सुनको सिक्री चोरीको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भयो। उक्त फुटेज सार्वजनिक गरेर भाइरल बनाउन एमालेकै केही कार्यकर्ताले जोडबल गरेका थिए।
एमालेले बनाएको मेयर उम्मेदवार पौडेल उपमहासचिव गुरूङ पक्षधर हुन्। एमाले र माओवादी जोडिएर बनेको नेकपा पोखरा महानगर कमिटीको संयोजकमा पौडेल थिए। उनलाई तत्कालीन नेकपा गण्डकी इन्चार्ज गुरूङले महानगर संयोजक नियुक्त गरेका थिए। त्यतिबेला पनि अधिकारी पक्षले पौडेलको विरोध गरेको थियो।
उपमहासचिव गुरूङ मुख्यमन्त्रीका रूपमा पोखरा बस्न थालेपछि दुई नेताबीच कित्ताकाट झाँगिएको हो।
स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख खगराज कास्कीकै भए पनि एमालेभित्र उनका धेरै आलोचक छन्। आलोचकको कुरा सुन्नै नचाहने र आफ्नाविरूद्ध धारणा राख्नेलाई सिध्याउन खोज्ने उनको प्रवृत्ति भएको एक एमाले नेताले बताए।
वडा तहका जनवर्गीय संगठनका कार्यक्रममा समेत प्रमुख अतिथिका रूपमा नबोलाए खगराज रिसाउने गरेको ती नेताको भनाइ छ।
‘सानोतिनो कार्यक्रममा पनि आफूलाई प्रमुख अतिथि बन्न खगराज कमरेड छाड्नुहुन्न,’ ती नेताले भने, ‘बोलाउन बिर्सियो वा उहाँको धारणामा फरक धारणा राख्यो भने पनि राजनीतिबाटै सिध्याइदिने धम्की आउँछ।’
अधिकारीका यस्तै बानीले उनको गृहजिल्ला कास्कीमा लमजुङका गुरूङ हावी भएको ती नेताको भनाइ छ। गण्डकीको मुख्यमन्त्रीका रूपमा गुरूङ पोखरा बस्न थालेपछि उनीहरूबीच प्रतिस्पर्धा बढेको हो।
कास्कीमा रहेको पोखरा विश्वविद्यालयदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म नियुक्ति, कर्मचारी सरूवा, बढुवा, स्थानीय जनप्रतिनिधिलाई टिकट वितरणसम्म यसअघि कास्कीमा खगराजकै हालिमुहाली थियो।
गुरूङ पोखरा बस्न थालेपछि यस्ता नियुक्ति, सरूवा बढुवा र पार्टीभित्रको राजनीतिमा पनि उनले चासो राख्न थाले। मुख्यमन्त्रीका हैसियतमा रहेपछि झन् शक्तिशाली बने।
यसअघि पनि गुरूङले पोखराको एमाले राजनीतिमा भने हस्तक्षेप गरिरहेका थिए। २०७४ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरको मेयर बनाउन एमालेभित्र आन्तरिक निर्वाचन भयो। तत्कालीन एमाले कास्कीका अध्यक्ष कृष्ण थापा पोखराका मेयर बन्न चाहन्थे। त्यतिबेला गुरूङले आफू पक्षधर मानबहादुर जिसीलाई मेयरको टिकट दिलाए।
एमाले विभाजन भएपछि आयोजित गत अधिवेशनमा पनि कार्यकर्ता दुई कित्तामा ध्रुवीकृत भए। एमाले कास्कीका जिल्ला अधिवेशनमा गुरूङका तर्फबाट मनबहादुर गुरूङ र अधिकारी पक्षबाट दामोदर बैरागी जिल्ला अध्यक्षका उम्मेदवार बने। एमालेले बनाएको विधानअनुसार प्यानल बनाउन नपाइने भए पनि दुबै उम्मेदवारले सबै पदमा प्यानल बनाए। मतदाता प्रतिनिधिलाई प्यानलमा मतदान गर्न आह्वान गरे।
एमाले कास्की अधिवेशनमा गुरूङ पक्षका अध्यक्ष मनबहादुर निर्वाचित भए। यसले उनलाई झन् बलियो बनायो।
पोखराको मेयर उम्मेदवार छनोटमा पनि आन्तरिक निर्वाचन गर्ने एमालेको तयारी थियो। निर्वाचनको तयारी अन्तिम चरणमा पुगेपछि सबैको नाम सिफारिस गर्ने सर्तमा चुनाव रोकिएको थियो। चुनाव रोक्न पनि एक अर्कोले चुनाव हार्ने भएर रोकेको दोषारोपण गरे।
पोखराका मेयरमा गुरूङले भीम कार्की, व्यवसायी पुष्पज्वति ढुङ्गाना, मीना गुरूङ र दीपक पौडेलको नाम सिफारिस गर्न चाहन्थे। खगराज भने प्रदेश सांसदसमेत रहेका पूर्वमेयर कृष्ण थापा, दर्शन लामालगायतलाई सिफारिस गर्न चाहन्थे। अन्तिममा थापालाई टिकट दिलाएर मेयर उम्मेदवार बनाउने खगराजको चाहना थियो।
२०५४ सालका मेयर थापालाई फेरि उम्मेदवार बनाउनबाट रोक्न गुरूङले चलाखी गरे। एमाले केन्द्रीय सचिवालयको निर्णय सार्वजनिक गर्दै उनले गण्डकी र लुम्बिनीमा सरकार परिवर्तनको सम्भावना भएकाले सांसदलाई टिकट नदिने धारणा राखिदिए।
उपमहासचिव गुरूङको बोली काठमाडौंमा खस्न नपाउँदै फेरि पोखरामा असन्तुष्टि सुरू भयो। मेयर आकांक्षी सांसद थापाले आफूलाई रोक्न पृथ्वीसुब्बाले मनोगत षडयन्त्र गरेको प्रतिक्रिया दिए। गण्डकीमा सरकार परिवर्तनको सम्भावना नै नरहेको जिकिर गरे।
दुई नेताबीच देखिएको गुटबन्दी निषेधको राजनीतिमा परिणत हुँदै गएको कतिपय कार्यकर्ताको भनाइ छ। पोखराको मेयर उम्मेदवार बनेका पौडेललाई जोडेर सिसिटिभी फुटेज सार्वजनिक गरेर भाइरल बनाउन एमाले कार्यकर्ताले खेलेको भूमिकाले यसलाई पुष्टि गरिदिएको छ।
यो पनि पढ्नुस्:
पोखराका मेयर उम्मेदवार मनोनयन दर्ताअघि नै विवादित बनेपछि एमाले अध्यक्ष केपी ओलीले उम्मेदवार परिवर्तन गर्न सक्ने जनाएका छन्। पोखरामा खगराज पक्षका कार्यकर्ता सोमबार दिउँसोसम्म भए पनि उम्मेदवार परिवर्तन गर्न चाहन्छन्।
एमाले पोखराका एक नेताले सेतोपाटीलाई भने, ‘पोखरामा एमाले बलियो छ, गठबन्धनलाई जित्न सक्छ, तर यस्ता उम्मेदवार बोकेर कसरी जनतालाई जवाफ दिने?’
एमालेको दुई तिहाइ बहुमत हुँदासमेत पोखराका सम्पदा मासेको, सेटिङमा काम गरेको, भ्रष्टाचारलाई संरक्षण गरेको आरोपबाट उम्किन पनि एमालेलाई गाह्रो हुने ती नेताको भनाइ छ।
‘पोखरामा यो ५ वर्षमा गरेका गल्ती सच्याउने वाचा गरेर मतदातासमक्ष जानुपर्ने अवस्था छ,’ अर्का नेताले भने, ‘यस्तो अवस्थामा उम्मेदवार नै स्वच्छ छविका नभएपछि कुन मुख लिएर जनताकोमा जाने।’
एमालेका एक केन्द्रीय नेताका अनुसार पौडेल यसपालि अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा मेयर उम्मेदवार बनाइएका हुन्। पोखरामा जेल बस्दादेखि नै पौडेल ओलीसँग नजिकिएका थिए। यसअघि २०७४ को प्रदेश सभा चुनावमा पनि ओली उनलाई उम्मेदवार बनाउन चाहन्थे। त्यतिबेला त्यहाँ माओवादी केन्द्रलाई छोड्नु पर्ने भएकाले पौडेल उम्मेदवार बन्न पाएनन्। अहिले भाइरल भइरहेको भिडिओबारे त्यतिबेला पनि कुरा उठेको ती नेताले बताए। तर ओलीलाई त्यसलाई वास्ता गरेका थिएनन्।
'उहाँलाई अहिले टिकट दिनुमा अध्यक्ष ओलीकै चाहना देखिन्छ। अब परिवर्तन पनि उहाँले नचाहेर हुन सक्दैन,' ती नेताले भने।
यो पनि पढ्नुस्: