गत साता बिहिबारदेखि छलफलमा जुटेका सत्ता गठबन्धन दलबीच कर्णालीका आठ जिल्लामा पालिकाको नेतृत्व बाँडफाँटको सहमति भएको छ।
आईतबार बेलुका सुर्खेत र रूकुम पश्चिमबाहेकका जिल्लामा पालिका बाँडफाँटको सहमति भएको हो।
सहमति भएका आठ वटा जिल्लाका पालिकामा माओवादी केन्द्रले सबैभन्दा बढी भाग पाएको छ।
बाँडफाँट अनुसार नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख र २६ पालिकामा उपप्रमुख पाएको छ। यस्तै नेपाली कांग्रसले २५ पालिकामा प्रमुख र २३ पालिकामा उपप्रमुख पाएको छ। नेकपा (एकीकृत समाजवादी) ले १३ पालिकामा प्रमुख तथा १६ पालिकामा उपप्रमुख पाएको छ।
डोल्पामा नेकपा माओवादी केन्द्रले ३ पालिकामा प्रमुख र दुई पालिकामा उपप्रमुख पाउने भएको छ। नेपाली कांग्रेसले १ प्रमुख, ३ उपप्रमुख पाएको छ। नेकपा (एकीकृत समाजवादी) ले ४ प्रमुख र तीन उपप्रमुख पाएको छ।
जाजरकोटमा माओवादी केन्द्रले तीन पालिकामा प्रमुख र उपप्रमुख पाएको छ भने कांग्रेसले पनि सोही संख्यामा प्रमुख र उपप्रमुख पाएको छ । समाजवादीले एक/एक प्रमुख तथा उपप्रमुख पाउने सहमति भएको छ।
दैलेखका ११ स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्रले २ पालिकामा प्रमुख र ३ पालिकामा उपप्रमुख पाएको छ। कांग्रेसले ६ पालिकामा प्रमुख र ५ वटा पालिकामा उपप्रमुख पाएको छ। एकीकृत समाजवादीले तीन पालिकामा प्रमुख र २ पालिकामा उपप्रमुख पाएको छ।
मुगुमा माओवादीले प्रमुख र उपप्रमुख एक/एक पालिकामा पाएको छ। कांग्रेसले दुई/दुई जना प्रमुख र उपप्रमुख पाएको छ भने समाजवादीले पनि एक/एक जना प्रमुख उपप्रमुख पाएको छ।
हुम्लामा माओवादीले ४ प्रमुख, २ उपप्रमुख पाएको छ। कांग्रेसले तीन प्रमुख, दुई उपप्रमुख र समाजवादीले तीन जना उपप्रमुख पाएको छ।
सल्यानमा माओवादीले ४ प्रमुख र ५ उपप्रमुख पाएको छ। नेपाली कांग्रेसले ४ प्रमुख र ३ उपप्रमुख पाएको छ भने समाजवादीले २ प्रमुख र ४ उपप्रमुख पाएको छ।
जुम्लामा माओवादी केन्द्रले ३ प्रमुख, ५ उपप्रमुख पाएको छ। कांग्रेसले ४ प्रमुख, २ उपप्रमुख पाएको छ भने समाजवादीले जुम्लामा एक/एक जना प्रमुख तथा उपप्रमुख पाएको छ।
कालीकोटमा माओवादीले पाँच पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख पाएको छ। कांग्रेसले दुई पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख पाएको छ भने समाजवादीले दुई/दुई वटा पालिकामा प्रमुख र उपप्रमुख पाएको छ।
चार दिनसम्म भएको दलहरुबीचको छलफलमा सुर्खेत र रूकुम पश्चिमका पालिकाको बाँडफाँटका बारेमा भने कुरा मिल्न सकेको छैन ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार सहमति जुट्न बाँकी दुई जिल्लाका बारेमा आज छलफल हुँदैछ। आज ७ बजेदेखि छलफल सुरु गरी मनोनयन दर्ता सुरू हुने समयसम्म टुंग्याईसक्ने उनले जानकारी दिईन्।
‘हिजै (आईतबार) टुंग्याईहाल्ने कुरा थियो, कांग्रेसले आन्तरिक छलफलमा लागेर समय दिन सकेन, आज छलफल गरी यो विषय टुंग्याएर मनोनयन दर्ता गर्नुपर्छ,’ उनले भनिन्।
रूकुम पश्चिम र सुर्खेतका विषयमा यहाँबाट केन्द्रमा प्रतिनिधित्व गर्ने शीर्ष नेताबीच पनि आइतबार छलफल भएको थियो। उनीहरूको छलफलबाट के निश्कर्ष निस्कियो भन्ने खुलाईएको छैन।
आज उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन हो। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि समय दिएको छ।
कर्णाली प्रदेशमा आइतबार गठबन्धन र एमालेबाहेकका अरू दल, गठबन्धनबाट असन्तुष्ट बनेका केही नेता र स्वतन्त्र व्यक्तिले उम्मेदवारी दर्ता गराएका छन्।
गठबन्धनबीच प्रदेशका आठ जिल्लाको पालिकाको नेतृत्वको टुंगो लगाए पनि वडाको भने अझ टुंगो लागेको छैन।
कर्णाली प्रदेशमा ७९ वटा पालिका र ७१८ वटा वडा छन्।