नेकपा एमालेले पोखरा महानगरपालिकामा यसअघि मेयर उम्मेदवार सिफारिस भएका दीपक पौडेलको टिकट खोसेको छ।
सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएपछि एमालेले पौडेललाई उम्मेदवार नबनाउने निर्णय गरेको हो। उक्त भिडिओमा एउटा सुन पसलमा चोरी भएको देखिन्छ। चोरी गर्ने व्यक्ति पौडेल भएको भन्दै सामाजिक सञ्जालमा भिडिओ भाइरल बनाइएको थियो। पौडेलले भने भिडिओमा देखिने व्यक्ति आफू नभएको बताएका थिए।
पौडेलले मयेरको टिकट पाएपछि पोखरामा एमालेको एक पक्ष निकै असन्तुष्ट बनेको थियो। संगठन विभाग प्रमुख खगराज अधिकारी पक्षधर पौडेलको ठाउँमा अर्कै उम्मेदवार बनाउन चाहन्थे।
पौडेल उम्मेदवारी दर्ताअघि नै विवादित बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ उम्मेदवार परिवर्तन गर्न परामर्श गरेका थिए। पार्टी नेतृत्वले मेयर उम्मेदवार कृष्ण थापालाई दिएको एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दीलिप न्यौपानेले सेतोपाटीलाई बताए।
थापा गण्डकी प्रदेश सांसद हुन् भने २०५४ को निर्वाचनबाट पोखराका मेयर निर्वाचित भएका थिए। उनी एमाले केन्द्रिय सदस्य हुन्।यसअघि एमालेले गण्डकी र लुम्बिनीमा प्रदेश सांसदलाई स्थानीय तहमा उम्मेदवार नबनाउने निर्णय गरेको थियो।
न्यौपानेका अनुसार पोखराको उपमेयरमा मञ्जुदेवी गुरूङ चुनाव लड्न तयार भएकी छिन्। गुरूङलाई पनि शनिबार बसेको केन्द्रीय सचिवालयले उपमेयरमा उठाउने निर्णय गरेको थियो। तर गुरूङले आफूसँग परामर्श नगरी टिकट दिएको भन्दै आइतबार अस्वीकार गरेकी थिइन्। हाल पोखराको उपमेयर रहेकी गुरूङ आइतबार उपमेयरमा चुनाव नलड्ने बताएकी थिइन्। उनी पनि एमाले केन्द्रीय सदस्य हुन्।