कर्णाली प्रदेशमा पालिका भागबण्डा गर्ने विषयमा पाँच दिनदेखि जारी गठबन्धन दलहरूबीचको छलफल सकिएको छ। बिहीबारबाट जारी छलफल सोमबार बिहान टुंगिएको छ।
दलहरूबीचको बैठकबाट आठ जिल्लामा पालिका भागबण्डाको टुंगो लागेको छ भने रूकुम पश्चिम र सुर्खेतमा कुनै सहमति जुट्न सकेको छैन। बाँकी रहेका यी दुई जिल्लामा १६ गतेसमम सहमतिको प्रयास जारी राख्ने गरी छलफल टुंगिएको हो।
आज उम्मेदवारी दिने अन्तिम दिन भए पनि फिर्ता लिन मिल्ने समय भने वैशाख १६ गतेसम्म तोकिएको छ।
‘रूकुम र सुर्खेतको बारेमा अन्तिमसम्म पनि प्रयास गर्ने भन्ने कुरा भएको छ, बाँकी यो छलफलबाट भएका सहमतिका बारेमा उपयुक्त समयमा आजै जानकारी गराउँछौं,’ नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले सेतोपाटीसँग भनिन्।
अरू जिल्लाहरू हुम्ला, मुगु, कालीकोट, जुम्ला, डोल्पा, सल्यान, जाजरकोट र दैलेखको विषयमा गठबन्धन दलबीच कुरा मिलेको छ।
बाँडफाँट अनुसार नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख र २६ पालिकामा उपप्रमुख पाएको छ। यस्तै, नेपाली कांग्रसले २५ पालिकामा प्रमुख र २३ पालिकामा उपप्रमुख पाएको छ। नेकपा (एकीकृत समाजवादी) ले १३ पालिकामा प्रमुख तथा १६ पालिकामा उपप्रमुख पाएको छ।
डोल्पामा नेकपा माओवादी केन्द्रले ३ पालिकामा प्रमुख र दुई पालिकामा उपप्रमुख पाउने भएको छ। नेपाली कांग्रेसले १ प्रमुख, ३ उपप्रमुख पाएको छ। नेकपा (एकीकृत समाजवादी) ले ४ प्रमुख र तीन उपप्रमुख पाएको छ।
जाजरकोटमा माओवादी केन्द्रले तीन पालिकामा प्रमुख र उपप्रमुख पाएको छ भने कांग्रेसले पनि सोही संख्यामा प्रमुख र उपप्रमुख पाएको छ। समाजवादीले एक/एक प्रमुख तथा उपप्रमुख पाउने सहमति भएको छ।
दैलेखका ११ स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्रले २ पालिकामा प्रमुख र ३ पालिकामा उपप्रमुख पाएको छ।
कांग्रेसले ६ पालिकामा प्रमुख र ५ वटा पालिकामा उपप्रमुख पाएको छ। एकीकृत समाजवादीले तीन पालिकामा प्रमुख र २ पालिकामा उपप्रमुख पाएको छ।
मुगुमा माओवादीले प्रमुख र उपप्रमुख एक/एक पालिकामा पाएको छ।
कांग्रेसले दुई/दुई जना प्रमुख र उपप्रमुख पाएको छ भने समाजवादीले पनि एक/एक जना प्रमुख उपप्रमुख पाएको छ।
हुम्लामा माओवादीले ४ प्रमुख, २ उपप्रमुख पाएको छ।
कांग्रेसले तीन प्रमुख, दुई उपप्रमुख र समाजवादीले तीन जना उपप्रमुख पाएको छ।
सल्यानमा माओवादीले ४ प्रमुख र ५ उपप्रमुख पाएको छ। नेपाली कांग्रेसले ४ प्रमुख र ३ उपप्रमुख पाएको छ भने समाजवादीले २ प्रमुख र ४ उपप्रमुख पाएको छ।
जुम्लामा माओवादी केन्द्रले ३ प्रमुख, ५ उपप्रमुख पाएको छ। कांग्रेसले ४ प्रमुख, २ उपप्रमुख पाएको छ भने समाजवादीले जुम्लामा एक/एक जना प्रमुख तथा उपप्रमुख पाएको छ।
कालीकोटमा माओवादीले पाँच पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख पाएको छ। कांग्रेसले दुई पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख पाएको छ भने समाजवादीले दुई/दुई वटा पालिकामा प्रमुख र उपप्रमुख पाएको छ।
सहमति भएका यी जिल्लामा गठबन्धनबाट संयुक्त उम्मेदवार भने घोषणा भइसकेका छैनन्। कतिपय पालिकामा गठबन्धन नमान्ने भन्दै छुट्टै उम्मेदवारी पनि परेको छ।
कालीकोटको तिलागुफा नगरपालिकामा कांग्रेसले उम्मेदवारी दिएको छ। जाजरकोटको भेरी नगरपालिकामा समाजवादीले भाग पाएपछि माओवादी केन्द्रको नगर कमिटीले एकातिर विरोध गरको छ।
यद्यपि अहिले सहमति हुन नसकेको सुर्खेत र रूकुम पश्चिममा गठबन्धनमा रहेका दलहरूबाट छुट्टाछुट्टै उम्मेदवार पर्छ/पर्दैन भन्ने खुलाइएको छैन।
नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक जीतबहादुर रानाले अहिले यो बारेमा छलफल नभएको बताए।
‘हामीले के गर्ने भन्ने कुरा टुंग्याउन बाँकी छ, अहिल्यै केही भन्न सकिँदैन,’ रानाले भने।
माओवादीकै एक नेताका अनुसार सुर्खेतमा कांग्रेसको र रूकुम पश्चिममा माओवादीको बलियो पकड भएकै कारण यी दुई जिल्लामा कुरा मिल्न नसकेको हो।
माओवादीले सुर्खेतमा चिङ्गाड र चौकुने गाउँपालिका तथा रूकुम पश्चिमका सबै पालिकामा आफूले नेतृत्व लिनेगरी बार्गेनिङ गरेको थियो। कांग्रेसले यसमा सहमति जनाउन नसकेको ती नेताले सेतोपाटीलाई बताए।