पोखरा महानगरमा मेयरको टिकट दीपक पौडेलको हातबाट रातारात खोसेर नेकपा एमालेले प्रदेश सांसद कृष्ण थापालाई दिएको छ। सुन चोरीको आरोपमा पौडेल विवादित बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई मेयर टिकट दिएका हुन्।
एमालेकै केही कार्यकर्ताले पौडेल संलग्न भनिएको करिब १० वर्ष पुरानो सुन चोरीको भिडिओ फुटेज सामाजिक सञ्जालमा सार्वजनिक गरेर भाइरल बनाएका थिए। यसमा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी पक्षधर कार्यकर्ता संलग्न थिए।
पोखराको एमाले राजनीतिमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र खगराज अधिकारीबीच जुँगाको लडाइँ छ। शनिबार साँझ टिकट पाएका पौडेल पृथ्वीसुब्बा पक्षधर हुन् भने सोमबार टिकट पाएका थापा खगराज पक्षधर हुन्। पोखराको राजनीतिमा यी दुबै पक्ष एकले अर्कालाई निषेध गरेर अघि बढिरहेका छन्।
थापालाई मेयर दौडबाट हटाउन पृथ्वीसुब्बाले काठमाडौंमा पत्रकारहरूलाई गण्डकी सरकार परिवर्तन हुने भएकाले सांसदलाई टिकट दिन नसकिने बताएका थिए। लगत्तै थापाले आफूलाई मेयर हुनबाट रोक्न पृथ्वीसुब्बाले मनोगत षडयन्त्र गरेको प्रतिक्रिया दिएका थिए।
गण्डकी प्रदेश सांसद थापाले मेयर टिकट पाएपछि अहिले उनी प्रदेश सभा सचिवालयमा सांसद पदबाट राजीनामा दिन गएका छन्। सांसद पदबाट राजीनामा दिएर मात्र उम्मेदवारी दर्ता गर्न जाने उनले बताए।
प्रदेश सांसदबाट थापाले राजीनामा दिएपछि गण्डकी सरकार परिवर्तन गरेर फेरि मुख्यमन्त्री बन्ने पृथ्वीसुब्बाको सपना कमजोर बनेको छ। गण्डकीमा एमालेका २७ जना सांसद रहेकोमा थापाले राजीनामा दिएपछि २६ जनामा खुम्चिनेछ। त्यसपछि एमालेको सरकार बनाउन कम्तीमा ४ जना अन्य दलका सांसदले समर्थन गर्नुपर्ने हुन्छ।
गण्डकी सरकारमा रहेका जसपा र सरकारलाई समर्थन दिएका जनमोर्चाका २/२ जना सांसदले साथ दिए अझै पनि एमालेको सरकार बन्न सक्छ। सांसद थापाले राजीनामा नदिएको अवस्थामा भने जसपा वा जनमोर्चामध्ये एउटा दल र स्वतन्त्र सांसद राजीव गुरूङ ‘दीपक मनाङे’ले मात्र समर्थन गर्दा पनि एमालेको सरकार बन्ने सम्भावना थियो।
गण्डकी प्रदेश सभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको ११, जनमोर्चा र जसपाको २/२ र स्वतन्त्र सांसद १ जना छन्।
प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उम्मेदवार बन्न लागेका थापा २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका थिए। २०३८ सालदेखि पार्टीको संगठित सदस्य बनेका उनी विद्यार्थी संगठन अखिलको स्थानीयदेखि केन्द्रिय कमिटीसम्म पुगेका थिए।
पञ्चायतकालमा आन्दोलन गर्दा २९ महिना जेल बसेका थापा २०५४ को स्थानीय निर्वाचनमा पोखराको मेयर निर्वाचित भएका थिए। त्यसपछि २०७० मा संविधान सभा निर्वाचनमा हार व्यहोरेका उनी २०७४ को प्रदेश सांसद निर्वाचित थिए।
एमाले कास्कीका जिल्ला अध्यक्ष भइसकेका थापा अहिले केन्द्रीय सदस्य छन्। पोखराको राजनीतिमा मेयर वा सांसदको टिकट पाइरहेका थापाले प्रदेश सांसद रहेकै अवस्थामा फेरि मेयरको टिकट पाएका छन्। यसअघि टिकट पाएका पौडेलको विवाद देखाएर एमाले अध्यक्ष ओलीले थापालाई टिकट दिलाएका हुन्।
छुवाछुतलाई प्रोत्साहन गरेको आरोप
एमालेले पोखराको मेयर बनाएका नयाँ उम्मेदवार थापामाथि छुवाछुतलाई प्रोत्साहन दिएको आरोप छ। सरकारी लगानीमा सार्वजनिक जग्गामा बनेको किरियापुत्री भवन प्रयोग गर्न दलित समुदायलाई नदिएपछि निम्तिएको विवादमा थापा पीडकका पक्षमा उभिएका थिए।
पोखरा-१६ का सम्मरबहादुर सुनारको २०७६ चैत २३ मा दुबईमा निमोनियाका कारण मृत्यु भयो। लकडाउन भएकाले उनको शव नेपाल ल्याउने अवस्था थिएन। उनका भाइ र माइला छोरा दुबईमै थिए। उतै दाहसंस्कार गरे।
माइला छोरा र भाइ दुबईमै किरिया बसे। सम्मरका जेठा छोरा फ्रान्समा छन् भने श्रीमती, कान्छा छोरा र दाइ पोखरामै छन्।
सम्मरका दाइ, श्रीमती र कान्छा छोरा पोखराको चण्डीटोलस्थित घरमै किरिया बसे।
किरिया बस्नका लागि चण्डीटोलमा किरियापुत्री भवन बनेको थियो। पोखरा महानगर, वडा कार्यालय, स्थानीयलगायतको लगानीमा सार्वजनिक जग्गामा उक्त भवन बनेको थियो।
सोही भवनमा किरिया बस्न सम्मरका दाइ मोहन सुनारले किरियापुत्री भवनको चाबी मागे। चैत २६ गते चाबी माग्दा समाजका मानिसहरूले चाबी दिएनन्।
उल्टै हामी ‘क्षेत्री’ले बनाएको भवनमा ‘कामी’लाई छिर्न नदिने भन्दै हप्काए।
किरियापुत्री भवनको चाबी नपाएपछि सम्मरका श्रीमती, छोरा र दाइ घरमै किरिया बसे। घरदेखि ५ मिनेटको बाटोमा रहेको किरियापुत्री भवन नदिएपछि आधा घन्टाको बाटो हिँडेर कालीखोला गए।
त्यहीं नुहाए, खाना बनाए र खाए। किरियापुत्री भवनमा खाना बनाउने, नुहाउनेलगायतका सुविधा राखिएको थियो। उनीहरू दिनभरि भवनमा बस्ने र बास बस्न घर जाने बताएका थिए।
भवनमा बस्न नपाएपछि खोलामै दिन बिताए। साँझ घरमा फर्किए। १३ दिनको किरिया सकिएपछि समाजले केही मिलाउला भनेर मोहन कुरेर बसे।
किरियापुत्री भवनमा बस्न नदिएकोबारे कसैले केही कुरा गरेनन्। स्थानीय जनक थापा वैशाख १४ गते घर अगाडि बाटोमा आए, मोहनले चलाएको मोटरसाइकल रोकेर गाली गरे। त्यतिबेला जनकले कुटपिट गर्न खोजेपछि मोहनलाई असह्य भयो। उनले २०७७ वैशाख १८ गते जातीय छुवाछुत र भेदभाव कसुरमा जनक थापा, रामबहादुर जिसी र देवबहादुर थापा विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिए।
प्रहरीले तीनै जनालाई पक्राउ गर्यो। जातीय छुवाछुत र विभेदका आरोपमा उनीहरू पक्राउ परेपछि पीडक पक्ष प्रहरी कार्यालय अगाडी प्रदर्शनमा उत्रियो। पक्राउ परेका आरोपितलाई जिल्ला अदालतमा म्याद थप गर्न लैजान लाग्दा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्यो।
त्यतिबेला छुवाछुत आरोप लागेका पीडक पक्ष र प्रहरीबीच झडप भएको थियो। प्रहरीमाथि पीडक पक्षले ढुङ्गामुढा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो। छुवाछुत जस्तो अपराध अनुसन्धानमा प्रहरीलाई अवरोध गरेकाले बल प्रयोग गर्न परेको त्यतिबेला प्रहरीले जनाएको थियो।
त्यतिबेला एमाले र माओवादी मिलेर नेकपा बनेको थियो। नेकपा कास्कीका अध्यक्ष थापा थिए। उक्त घटनालगत्तै सांसद एवं नेकपा जिल्ला अध्यक्ष थापाले विज्ञप्ति निकालेर आरोपितलाई रिहा गर्न दबाब दिए।
उनले विज्ञप्तिमा ‘केही उच्छृंखल तत्वहरूले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने, जातिवादी नेता, कार्यकर्ताहरूको षडयन्त्रले सदियौंदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको हुँदा सम्पूर्णमा सावधानीपूर्वक अगाडि बढ्न अनुरोध गर्दछु।’
छुवाछुतको आरोपमा पक्राउ परेकालाई षडयन्त्रपूर्वक पक्राउ गरेको दाबी गरेका थापाले विज्ञप्तीमा भनेका थिए, ‘प्रशासनले गरेको ज्यादति तुरून्त रोक्न, नेपालको संविधानअनुसार सबै समुदायलाई सामाजिक न्याय प्रदान गर्न सम्बन्धित निकाय तथा सरकारसँग माग गर्दछु,’ उनले भनेका छन्, ‘षडयन्त्रपूर्वक प्रहरीले हिरासतमा लिएका नेकपा वडा नं. १६ का सचिवालय सदस्य रामबहादुर जिसी र जनक थापालाई बिनासर्त रिहाइको माग गर्दछु।’
यता उजुरीकर्ता आफैं भने नेकपाका जिल्ला सदस्य थिए। त्यसअघि पनि उनी एमालेको जिल्ला सदस्य थिए। पार्टीको जिल्ला अध्यक्षले छुवाछुत र विभेद भोग्न परेका जिल्ला सदस्यका विरूद्ध पीडककै पक्षमा विज्ञप्ती निकालेको भन्दै मोहन रुष्ट छन्।
अहिले पनि उक्त मुद्धा जिल्ला अदालत कास्कीमा विचाराधीन छ। छुवाछुत र विभेदका पक्षमा थापा लागेको भन्दै कास्कीका एमालेका नेता/कार्यकर्ता रूष्ट बनेका थिए। तत्कालीन नेकपाका दलित संगठनदेखि अन्य सामाजिक संगठनले सांसद पदबाट राजीनामा दिन थापासँग माग गरेका थिए।
गण्डकी प्रदेश सभाका सांसदहरूले समेत थापाले जातीय भेदभाव र छुवाछुतलाई प्रश्रय दिएको भन्दै राजीनामा मागेका थिए। अहिले मेयरका टिकट पाएपछि छुवाछुत र विभेदको सामना गरेका एमाले भित्रकै दलित समुदाय असन्तुष्ट बनेका छन्।
मेयरमा थापाको दौड देखेर एमालेकै कतिपय नेता, कार्यकर्ता पनि असन्तुष्ट थिए। एकै व्यक्तिलाई पटक-पटक अवसर दिने परिपार्टी अन्त्य हुनुपर्ने पोखराका मेयर आकांक्षी युवा नेता रश्मी आचार्यले बताए। केहीदिन अघि सेतोपाटीसँग कुरा गर्दै आचार्यले सांसदका रूपमा जनताले पठाएको म्यान्डेट पूरा नगरी फेरि जनताकै नाम भजाएर अर्को कोर्स थाल्छु भन्नु बेइमानी हुने टिप्पणी गरेका थिए।
‘जनताको नाममा आफ्नो स्वार्थ पूरा गर्न खोजेको देखिन्छ,’ उनले भने, ‘निर्वाचित सांसद, मन्त्रीलाई फेरि तिमी मेयरमा आऊ भनेर कोही जनताले बोलाएको छैन, जनताको नाममा बेइमानी र झुट कुरा गर्न हुँदैन।’
सांसदको भूमिका पूरा नगरी कसैलाई अवसर नै अवसर दिनु त कसैले कहिल्यै अवसर नपाउने परिपाटी ठिक नभएको उनको तर्क छ।
‘कसैलाई अवसरको खातै खात, कसैले एक पटक पनि अवसर नपाउने कुरा राजनीतिक र सांस्कृतिक हिसाबले ठिक होइन,’ उनले भने, ‘जहाँ अवसर पायो, त्यहीं दौडिने कुरा पनि बेठिक हो।’