सत्तारूढ पाँच दलीय गठबन्धनबाट पोखरा महानगरको मेयर उम्मेदवारमा नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य उठेका छन्।
गठबन्धनमा भागबन्डाको रस्साकस्सी र कास्की कांग्रेसका कार्यकर्ताका बाधा विरोधका बावजुद गठबन्धनबाट उनले टिकट पाएका हुन्। १३ वर्षको उमेरदेखि एमालेको राजनीतिमा भिजेका आचार्यले एमाले परास्त गर्न सक्ने निष्कर्ष गठबन्धनका नेताहरूको छ।
एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं कास्की अध्यक्ष रहेका आचार्य झण्डै ४० वर्ष एमालेमा बिताएका थिए। १३ वर्षकै उमेरमा २०३९ मा अनेरास्ववियुमा आबद्ध भएर विद्यार्थी राजनीति थालेका थिए।
उच्च शिक्षा अध्यनका पृथ्वीनारायण क्याम्पस छिरेपछि उनले राजनीति सुरू गरेका थिए। पृथ्वीनारायण क्याम्पसमा पढ्दै गर्दा अखिलको जिल्ला र गण्डकी अध्यक्ष बनेका आचार्य २०५१ मा स्ववियु सभापति निर्वाचित भए।
आचार्य अखिलको केन्द्रीय सचिवालय सदस्यसम्म पुगे।
विद्यार्थी राजनीतिसँगै आचार्यले २०४२ मा तत्कालीन नेकपा मालेको युवा लिगको सदस्य बनेका थिए। २०४५ सालमा राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याहृावनविरूद्ध आन्दोलन गर्दा गिरफ्तारीसँगै घाइते भए। त्यसपछिको दुई वर्ष २०४७ सालसम्म जेलका राजबन्दी र पार्टीबीचको सम्पर्क सूत्रको जिम्मेवारी पाएका थिए।
२०४७ सालमा नेकपा माले संगठित सदस्यता पाएका आचार्य २०४६ देखि २०५१ सम्म पार्टी विद्यार्थी इलाका कमिटी सदस्य र सचिव भए।
२०५२ सालमा उनी नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य भए। पार्टी विभाजन भएपछि आचार्य २०५४ सालमा नेकपा माले कास्की जिल्ला कमिटी सचिवालय सदस्य बनेका थिए।
राजनीतिसँगै उनी व्यवसायिक संगठनमा पनि सक्रिय रहे। २०६० सालमा नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुखको जिम्मा पाएका थिए।
२०६४ देखि २०६९सम्म नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको फ्रयाक्सन सचिव बनेका थिए।
२०६९ देखि २०७४ सम्म एमाले सम्बद्ध नेपाल राष्ट्रिय वाणिज्य संघ केन्द्रीय कमिटी अध्यक्ष भए। त्यहीबीच २०७१ देखि २०७६ सम्म नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य, २०७१ देखि २०७५ सम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य र २०७५ देखि २०७८ सालसम्म नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य थिए।
२०५१ मा ‘हेलो स्टेसनरी’ पुस्तक पसलबाट व्यवसाय सुरू गरेका आचार्यले अहिले पाठ्यपुस्तक प्रकाशन गृह चलाएका छन्। उनले शैक्षिक सामग्री उद्योग, स्कुल–कलेज, रासायनिक मल उद्योग, हाइड्रो पावर, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटीजस्ता दुई दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठानमा आबद्ध छन्।
उनले पोखरामा पुस्तक पसल पनि चलाए। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको महासचिव हुँदै राष्ट्रिय अध्यक्ष बने।
पोखरा उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य पनि भए। २०५८ सालमा उच्चस्तरीय पुस्तक नीति मस्यौदा समिति, नेपाल सरकारको विज्ञ सदस्य २०५८, २०६६ सालमा पाठयपुस्तक मूल्य निर्धारण समिति, नेपाल सरकारको विज्ञ सदस्य र २०७५ सालमा पोखरा महानगरपालिकाको शिक्षा विज्ञ बनेका थिए।
आचार्यले एमबिए र एमएड गरेका छन्।
एमाले र माओवादी एकता भएर बनेको नेकपा सर्वोच्च अदालतले खारेज गरेपछि पार्टीभित्र विवा चुलिँदै गर्दा एमाले र माओवादी छुट्टिए। त्यसपछि एमालेमा भएको विवादले देशभर माधव नेपाल खेमाले समानान्तर समिति बनायो। आचार्यले कास्कीमा समानान्तर गतिविधि चलाए।
२०७७ चैतमा समानान्तर कमिटीका जिल्ला अध्यक्ष बनेका आचार्य एमालेसँग फुटेर बनेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बने।
गठबन्धनका पाँच दलको साझा मेयर उम्मेदवार बनेका आचार्यलाई चुनाव जित्न अन्य दलका मतदाता आकर्षित गर्नुपर्ने हुन्छ। विशेषगरी कांग्रेस मतदाताले रूखबाहेक अन्यत्र मतदान नगर्ने भनेर दिनहुँजसो असन्तुष्टि पोखिरहेका छन्।
कांग्रेस कार्यकर्ता विमल कार्कीले बागी उम्मेदवारी दिएका छन्।
गठबन्धनका नेताहरू आचार्यले एमालेको काट्ने विश्वास गर्छन्। ४० वर्ष एमालेमा बिताएकाले पनि आचार्यलाई एमालेले मतदान गर्ने उनीहरूको तर्क छ। तर, आचार्यलाई भने गठबन्धन मिलाएर लैजाने चुनौती छ।
गठबन्धनका सबै दललाई मिलाएर लैजाने आचार्यले बताए।
‘हामीले चुनाव जित्छौं, जित्नका लागि सबै एकताबद्ध हुनुपर्छ,’ उनले भने, ‘गठबन्धनका असन्तुष्टि सम्बोधन गरेर नै अघि बढ्छु।’