नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिकामा मेयरका उम्मेदवार टीकाराम खड्काले गरिबी हटाउने र स्वरोजगारी सृजना गर्नु आफ्नो मुख्य लक्ष्य रहने बताएका छन्।
सोमबार मनोनयन दर्ता गर्न पुगेका एमाले दाङका यसअघिका अध्यक्ष खड्काले आफू निर्वाचित भएपछि समाजको सवृद्धि, स्वास्थ्य, शिक्षा, खानेपानी क्षेत्रमा सुधारका साथै तुलसीपुरलाई पर्यावरणीय हिसाबले सुन्दर सहर निर्माण गर्ने सेतोपाटीसँग प्रतिबद्धता व्यक्त गरे।
निर्वाचनको समयमा भोट माग्दा उम्मेदवारले जे पनि पूरा गर्छु भन्छन् नि, तर पछि काम गर्दैनन् भन्ने आरोप छ नि? भन्ने प्रश्नमा उम्मेदवार खड्काले नेकपा एमालेले जे भन्छ, त्यही गर्ने पार्टी रहेको जिकिर गरे।
‘मुलुकको विकास के हो भन्ने कुरा एमालेले सिकाएको छ,’ उनले भने, ‘त्यो अभियानलाई अझै सम्पन्न गराउन मेरो उम्मेदवारी हो।’
जित्छु भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ? भनेर सोध्दा खड्काले आफू जित्नेमा ढुक्क रहेको बताए।
त्यस्तै, उपमेयर पदकी उम्मेदवार श्यानी चौधरीले आफूले जिते तुलसीपुरलाई आहा बनाउने प्रतिक्रिया दिइन्।
‘यदि मैले तुलसीपुरवासीको माया ममता पाए भने म तुलसीपुरलाई आहा तुलसीपुर बनाउने छु,’ उनले भनिन्, ‘आशा छ तुलसीपुर म दंगाली भएर कति खुसी भन्ने गराउने छु।’
चौधरी पहिलो पटक सक्रिय राजनीतिमा उभिएकी हुन्। अहिलेसम्म उनले तुलसीपुरमा ‘दिदी घर’ संस्था चलाउँदै आएकी थिइन्।
तुलसीपुरलाई आहा बनाउने गुणस्तरीय शिक्षामा आफूले जोड दिने उनको भनाइ थियो।
‘हरेक झुपडीमा बस्ने बालबालिकाले क्वालिटी एजुकेसन पाउनुपर्छ र शान्तमय वातावरण हुनुपर्छ,’ चौधरीले भनिन्, ‘कर्मचारी वर्गदेखि हरेकसँग समन्वय गरेर म अगाडि बढ्ने छु।’
तपाईं पहिलो पटक राजनीतिमा आउनु भएको हो नि ? भनेर सोध्दा उनले आफू पहिलो पटक राजनीतिमा आए पनि आफूले राजनीतिक विषय पढेको बताइन्।
‘यो बीचमा मैले ३० वर्ष समाजसेवामा बिताएकी छु र विकास कसरी गर्नुपर्छ भन्नेबारे मलाई देश विदेशको अनुभव छ,’ चौधरीले भनिन्, ‘त्यसैले मैले जितेपछि आहा तुलसीपुर बनाउन सक्छु।’