नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ।
उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन सिर्जनाले मेयरको टिकट पाएकी हुन्। उनले आजै मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर मेयरमा उम्मेदवारी दिएकी छन्।
सिंहले आफूलाई गत मंसिरदेखि पार्टी राजनीतिमा थप सक्रिय बनाउँदै लगेकी थिइन्।
१४ औं महाधिवेशनका बेला उनलाई काठमाडौं क्षेत्र नम्बर ७ ले सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बनाएको थियो।
यसैबेलादेखि सिर्जना सक्रिय राजनीतिमा फर्कने आकलन गरिएको थियो।
उनका श्रीमान् प्रकाशमान सिंह कांग्रेस सभापतिका आकांक्षी हुँदा नै उनी महाधिवेशन प्रतिनिधि बनेकी थिइन्।
उनका छोरा प्रभाशमान पनि महाधिवेशन प्रतिनिधि छन्। प्रकाशमान सभापति उम्मेदवार हुँदा उनकै घरबाट तीन जना भोटर थिए।
प्रकाशमान कांग्रेस सभापतिमा पहिलो चरणबाटै बाहिरिए। त्यसपछि उनको गठजोड शेरबहादुर देउवासँग भयो। सिंहले देउवालाई सभापतिमा सहयोग गरेका थिए।
त्यसैबेलादेखिको गुन सभापति देउवाले यसपालि सिर्जनालाई मेयर बनाएर तिरेको छन्। देउवाले यसपालि पार्टीले पाएका तीन महानगरमा उम्मेदवार तय गर्दा सम्बन्धित जिल्लाका नेताहरूसँग परामर्श गरेका थिए।
काठमाडौंको कांग्रेस संगठनमा प्रकाशमानको पकड छ। यसपालि अधिवेशनमा गगन थापासँग मिलेर प्रकाशमानले पकड झन् दरिलो बनाएका छन्।
आज सिर्जनाले मेयरमा उम्मेदवारी दिँदा पनि नेता प्रकाशमान र महामन्त्री गगन थापा उनीसँगै देखिएका थिए।
कांग्रेस काठमाडौं महानगर कार्यसमिति आफ्नो पक्षकाले जितेकोले पनि सिंहलाई यसपालि मेयर उठ्न थप सजिलो भएको थियो।
महानगर सभापति नीलकाजी शाक्य, सचिव सुसन वैद्य, ०७४ मा उपमेयर जितेकी हरिप्रभा खड्गी श्रेष्ठ, सिर्जना सिंह र प्रगतिमान रञ्जितको नाम मेयरमा सिफारिस भएको थियो।
यीमध्ये प्रगतिमान मात्रै सभापति शेरबहादुर देउवानिकट हुन् भने अरू सबै प्रकाशमाननिकट थिए।
सिर्जना गणेशमान सिंहको पारिवारिक विरासतबाट मात्रै भन्दा पनि संगठनमा दु:ख गरेर यहाँसम्म आइपुगेको उनको राजनीतिक इतिहासले देखाउँछ।
गोरखामा जन्मिएकी उनी कक्षा ९ पढ्दादेखि नै कांग्रेससँग नजिक थिइन्। उनले २०३३ सालमै गोरखाका श्यामकुमार श्रेष्ठको हातबाट पार्टी सदस्यता लिएकी थिइन्।
उनी ०३४ सालमा एसएलसी दिएपछि पढ्न भन्दै काठमाडौं छिरेकी थिइन्। उनको कलेज यात्रा महाबौद्ध क्याम्पसबाट सुरू भएको हो।
क्याम्पसमा पढाइलाई निरन्तरता दिइरहेका बेला ०३६ मा देशमा जनमत संग्रहको भयो। कांग्रेस सदस्य र महाबौद्धमा नेविसंघमा समेत क्रियाशील रहेकी उनी बहुदललाई जिताउन भन्दै त्यसबेला गोरखा पनि गएकी थिइन्।
कांग्रेसले त्यसबेला बहुदललाई जिताउन भन्दै महिला बहुदल प्रचारप्रसार समिति गठन गरेको थियो, मंगलादेवी सिंहको संयोजकत्वमा।
गोरखा पुगेकी सिर्जना यही संगठनमा सक्रिय भइन्। पछि मंगलादेवी सिंहको संयोजकत्वमा नेपाल महिला संघ गठन भयो, १७ वर्षको उमेरमा उनी महिला संघ गोरखाकी अध्यक्ष भइन्। जनमत संग्रहमा बहुदल पक्षले हारेपछि सिर्जना काठमाडौं फर्केर नेविसंघ राजनीति र पढाइमै सक्रिय रहेकी थिइन्।
त्यसबेला महाबौद्ध क्याम्पसमा नेविसंघले इकाइ सभापतिमा सिर्जनालाई नै अगाडि सारेको थियो। नेविसंघको क्याम्पस इकाइ सभापति बनेपछि उनले संगठनमा थप भूमिका पाइन् र सक्रियतापूर्वक निर्वाह गर्न थालिन्।
०३८ सालतिर नेविसंघ सभापति विमलेन्द्र निधि थिए। त्यसबेला विपी कोइराला बिरामी परेका थिए। नेविसंघले उपचारका लागि देशव्यापी रूपमा आर्थिक सहयोग उठाउने निर्णय गरेको थियो। सिर्जना पनि बिपीलाई उपचार खर्च जुटाउन खटेकी थिइन्।
विमलेन्द्र निधि नेविसंघ सभापति हुँदा बिपीको उपचार खर्च गर्न नेविसंघले चन्दा उठाएको थियो। बिपीलाई चन्दा उठाउने काममा अरू नेविसंघ कार्यकर्ताजस्तै सिर्जना पनि खटेर लागेकी थिइन्।
०३८ सालमै उनले क्याम्पस परिवर्तन गरिन्। महाबौद्धबाट उनको पढाइ अब शंकरदेव क्याम्पसबाट अघि बढ्ने भयो। शंकरदेवमा पनि उनले राजनीति छाडिनन् झन् संगठनमा काम गर्न थालिन्।
एक वर्षपछि शंकरदेवमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उनी नेविसंघबाट कोषाध्यक्ष लडेकी थिइन्। त्यसबेला सिर्जना र अखिलकी पम्फा भुसालबीच चुनावी प्रतिस्पर्धा हुँदा सिंहले जितेकी थिइन्।
व्यवस्थापनमा सिंहले स्नातक सकेकी थिइन्, त्यसैबेलातिर उनको भेट नवीन्द्रराज जोशीसँग भयो। जोशी र सिंह राजनीतिक रूपमा नजिकिएका पनि थिए।
नवीन्द्रराजको दोस्ती भने प्रकाशमान सिंहसँग थियो। उनी चाक्सीबारी गइरहन्थे। चाक्सीबारीमा प्रकाशमानको बिहेका कुरा उठ्ने गरेको जोशीले सुनेका थिए।
प्रकाशमान र सिर्जनाबीच विवाह हुनुमा नवीन्द्रराजको पनि समन्वयकारी भूमिका छ। दुबैतर्फका परिवारबीच लामो समय कुराकानी भएपछि ०४२ को फागुनमा प्रकाशमान र सिर्जनाबीच बिहे भएको थियो।
प्रकाशमान भने त्यसबेला काठमाडौं कांग्रेसको राजनीति गर्थे। उनी जिल्ला सचिव र लामो समय काठमाडौं कांग्रेस सभापति भएर काम पनि गरेका थिए।
सानैदेखि राजनीतिमा चासो राख्ने र संगठनमा काम गरेकी सिर्जना बिहे गरेर चाक्सीबारीमा छिरेपछि भने राजनीतिमा ओझेल परेकी थिइन्।
तर उनले ०४६ सालको जनआन्दोलनताका चाक्सीबारीमा कांग्रेसलगायत विभिन्न पार्टीका नेता/कार्यकर्तासँग घुलमिल हुने मौका पाएकी थिइन्।
सक्रिय राजनीतिमा नरहेकी सिर्जनालाई ०५० देखि नै नेपाल महिला संघ काठमाडौंको सल्लाहकार बनाइएको थियो। त्यसबेलादेखि अहिलेसम्म पनि महिला संघको उनी सल्लाहकार छिन्।
त्यही महिला संघले गत चैत १४ मा पहिलो पटक काठमाडौंको मेयरमा सिर्जना उपयुक्त भन्ने निर्णय गर्दै पार्टीमा पहल गर्ने बताएको थियो। सिर्जनालाई मेयरका लागि माहौल बनाउने काम महिला संघ र नेविसंघ काठमाडौंले गरिदियो भने प्रकाशमानको पहलमा सभापति देउवाले उनलाई मेयरको टिकट दिएका छन्।
उम्मेदवारी दर्ता गरेपछि सिंहले यो बीचमा आफूले राजनीति नछोडेको बताइन्।
‘मैले राजनीति छोडेकी थिइनँ, पदमात्र नलिएकी हुँ,’ उनले भनिन्।