वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि आज देशभरि मनोनयन दर्ता भएको छ।
वीरगन्ज महानगरको मेयरमा पनि विभिन्न उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। सत्तारूढ गठबन्धनबाट जनता समाजवादीका राजेशमान सिंह र नेकपा एमालेबाट विजयी सरावगीले पनि वीरगन्जको मेयर बन्न उम्मेदवारी दिएका छन्।
वीरगन्जमा महानगरको मेयरमा दाबेदारी गरेका यी दुबै जनाको एउटा साझा विशेषता के छ भने उनीहरू दुबै जना २०७४ सालको चुनाव अहिले आवद्ध भएको पार्टीमा थिएनन्।
२०७४ को स्थानीय तहको निर्वाचनमा सरावगी वीरगन्जको मेयर निर्वाचित भए। व्यापारिक पृष्ठभूमिका सरावगीले मधेस आन्दोलनको राप र तापको बलमा चुनाव जितेका थिए। तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा)का तर्फबाट उम्मेदवार बनेका सरावगीले १९ हजार ३ सय ९३ मत ल्याएका थिए। उनले कांग्रेस उम्मेदवार अजय द्विवेदीले भन्दा २ हजार ८ सय मत बढी ल्याएका थिए। तीनै सरावगी २०७८ फागुन २८ मा नेकपा एमाले प्रवेश गरे। उनलाई एमालेले अहिले मेयरको उम्मेदवार बनाएको छ। वीरगन्जको मेयरमा सरावगीलाई अहिले लोसपाले समर्थन गरेको छ।
गठबन्धनका तर्फबाट जसपाले राजेशमान सिंहलाई उम्मेदवार बनाएको छ। उनी २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) बाट मेयर उम्मेदवार बनेका थिए। उनले १२ हजार १ सय ६५ मत ल्याएका थिए।
राष्ट्रिय जनता पार्टी(राजपा) र संघीय समाजवादी फोरम(ससफो)बीच पार्टी एकता भएर २०७६ वैशाखमा जनता समाजवादी पार्टी(जसपा) बन्यो।
२०७८ मा जसपा पार्टी विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बन्यो। राजेशमान सिहंले लोसपा रोजे।
सिंहले २०४३ सालमा नेविसंघबाट राजनीति सुरू गरेका थिए। उनी २०५४ सालमा काग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए। २०६३ को मधेस आन्दोलनदेखि उनी मधेस राजनीतिमा सक्रिय छन्। शरतसिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजावादी पार्टीको महासचिव थिए। २०७४ मा ६ मधेस केन्द्रित दलहरूले पार्टी एकता गरेर राष्ट्रिय जनता पार्टी(राजपा)गठन गरेपछि उनी महासचिव बनेका थिए।
सिंहलाई चैत ८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले वीरगन्ज गएर पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको थियो। उनलाई एमाले प्रवेश गराउने कार्यक्रम पटक-पटक सरेको थियो।
सिंहलाई भन्दा ओलीले सरावगीलाई पहिला पार्टीमा भित्र्याएपछि उनी चैत ७ गते जसपा प्रवेश गरेका हुन्। जसपाले त्यतिबेलै उनलाई मेयरको उम्मेदवार घोषणा गरेको थियो।