तुलसीपुरको मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले विगतमा सत्तामा रहेकाहरूले गरेको विकृति, विसंगतिको अन्त्य गरी ती सबै सफा गर्न आफूले मेयरमा उम्मेदवारी दिएको बताएका छन्।
‘विगतमा सत्तामा रहँदा एमालेका मानिसले गरेका विकृति, विसंगति सफा गर्न म आउन चाहेको हो,’ गिरीले भने, ‘एमालेका मेयरले ६५ करोड जति उपमहानगरपालिकालाई जो ऋण लगाएर जानु भएको छ जितेपछि म त्यसलाई सफा गर्नेछु।’
मेयर घनश्याम पाण्डेको पालामा तुलसीपुरमा करोडौं बेरूजु रहेको आरोप लाग्दै आएको छ। तर, मेयर पाण्डे त्यसलाई ऋण नभनी आगामी सरकारका लागि दायित्व थपिएको तर्क गर्दै आएका छन्।
त्यस्तै, उनले खानेपानी नभएको ठाउँका जनतालाई खानेपानी पुर्याउने, औषधी नपाएका गरिबलाई औषधी उपचारको व्यवस्थापन गर्ने, पढ्न नपाएकालाई पढाउन आफूले ध्यान दिने पूर्वसांसद समेत रहेका गिरीले बताए।
गिरीले भने, ‘स्मार्ट सिटी, टावर भनेर नहुने फुस्रा काम कांग्रेसले गर्दैन।’
नेता गिरीले आफूले मेयरमा सहजै जित्ने दाबी गरे।
‘हाम्रो पाँच दलीय गठबन्धन छ र त्यसले गर्दा पनि हामी थप सशक्त भएका छौं,’ उनले भने, ‘त्यसका साथै बितेको पाँच वर्षमा नेकपा एमालेका मान्छेले हावादारी गफमात्रै गरेको हुँदा हामीलाई नै तुलसीपुरवासीले भोट हाल्ने छन्।’
तुलसीपुर-घोराही सडकखण्ड चारलेन बनाउने जिम्मा तुलसीपुरका मेयरका छोराले लिएर तीन वर्षसम्म पनि लथालिंग अवस्थामा छोडेको हुँदा पनि सर्वसाधारण मानिसहरूले उनीहरूका क्रियाकलाप राम्रोसँग बुझेको हुँदा त्यसको लाभ गठबन्धनका दलहरूलाई हुने उनले तर्क गरे।
त्यस्तै, गठबन्धन दलका उपमेयरका उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगरले पनि विगतमा जितेका एमालेका नेताहरूको क्रियाकलापका कारण आफूहरू जित्नेमा ढुक्क रहेको बताए।
आफूहरूले जितेपछि तुलसीपुरको समग्र विकास र परिवर्तनको लागि काम गर्ने उनले जोड दिए।
उपमेयरका उम्मेदवार रानाले तुलसीपुरको एयरपोर्टको धावन मार्ग विस्तार गरी ठूला जहाज अवतरण हुन सक्ने बनाई हवाई सेवा सहज बनाउने प्रतिबद्धता जनाए।
‘हामी दंगाली ठूला प्लेन चढ्न नेपालगञ्ज र भैरहवा जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘विगतमा जितेकाहरूले गफमात्रै गरे तर हामी काम गरेर देखाउने छौं।’