ललितपुर महानगरपालिकाको मेयरमा दोहोरिन नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका चिरिबाबु महर्जनले पहिलो कार्यकालमा अधुरा रहेका केही काम अब पूरा गर्ने बाचा गरेका छन्।
उनलाई यसपालि उम्मेदवार बनाउन हुँदैन भन्नेमा कांग्रेसभित्रै चर्को लबिङ थियो। सात आकांक्षीहरूको लर्कोबाट कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई नै ललितपुरको मेयर उम्मेदवारमा छानेका हुन्। उनलाई सत्तारूढ गठबन्धनका अरू दलले पनि सघाउने छन्।
ललितपुर महानगरमा राम्रो काम गरेको भनेर तारिफ पाएका महर्जनले यसपालि त्यस्ता के काम गर्ने सोचेका छन् जुन उनले पछिल्ला पाँच वर्षमा गर्न सकेनन्? सोमबार उम्मेदवारी दर्तापछि हामीले उनलाई यही प्रश्न सोध्यौं।
उनले पहिलो नम्बरमा पाटन दरबार क्षेत्रमा बर्खा बेला पानी जम्ने समस्या समाधान गर्न बाँकी रहेको बताए। भने, 'पाटन दरबार क्षेत्रमा बर्खाको पानी जम्ने समस्या छ। हिति (ढुंगेधारा) र सडकमा पानी जम्छ। यो समस्या समाधान गर्न महानगरले २.८ किलोमिटरको पाइपलाइन परियोजना सुरू गरेको छ। यसअन्तर्गत जमेको पानी सोसेर अन्तै पठाइन्छ।'
दातृ संस्था एसियाली विकास बैंक (एडिबी) सँग मिलेर सुरू गरिएको उक्त काम ४० प्रतिशत मात्र पूरा भएकाले फेरि मेयर जिते अर्को कार्यकालमा सिध्याउने उनले बताए।
पाटन दरबार क्षेत्रमै रहेको छैठौं शताब्दीको मंग: हिति लगायत अन्य परम्परागत हितिहरूमा बाह्रै महिना पानी आउने गरी व्यवस्था मिलाउने उनको दोस्रो योजना छ। हाल जारी रहेको देगु तलेजु, नरसिङ, बालकुमारी, रातो मच्छिन्द्रनाथ लगायत मन्दिरहरूको जिर्णोद्धार पनि पूरा गर्ने उनले बताए।
महर्जनले अबको पाँच वर्षमा गर्ने सोच बनाएको तेस्रो योजना हो, पाटनको वातावरण तथा पर्यावरण संरक्षण।
लगनखेलको अशोक स्तुपसँगै जोडिएको ४५ रोपनी जग्गामा सप्तपाताल पोखरीलाई पुरानै स्वरूपमा ब्युँताएर त्यहाँ कमलको फूल फुलाउने उनले बताए। ‘यसका लागि काम सुरू भइसकेको छ। अर्को तीन वर्षमा सप्तपाताल पोखरी पुनर्स्थापना गर्नेछु र त्यहाँ कमलको फूल फुलाउने छु,’ उनले भने।
ललितपुर महानगरभित्र विद्युतीय गाडी व्यापक रूपमा चलाउने गरी काम सुरू गरिएको र फेरि मेयर जिते त्यसलाई निरन्तरता दिने उनले बताए।
महानगरभित्र गुणस्तरीय शिक्षामा काम गर्नु उनको चौथो योजनामा पर्छ।
चालीस सामुदायिक विद्यालय रहेको ललितपुर महानगरमा दरबन्दी मिलानको काम सकिएको र यी विद्यालयको शैक्षिक स्तर सुधार गरी निजी विद्यालयको गुणस्तरको विषयमा पनि ध्यान दिने उनले बताए।
कोरोना महामारी बेला ललितपुर महानगरले राम्रो काम गरेकाले तारिफ पाएको भन्दै त्यसैलाई निरन्तरता दिएर स्वास्थ्य क्षेत्र सुधार गर्ने आफ्नो पाँचौं योजना रहेको उनले उल्लेख गरे।
'७० वर्षमाथिका वृद्धवृद्धालाई निमोनियाको खोप सुरू गरेका छौं। त्यसलाई आउँदो पाँच वर्षमा पूरा गर्ने योजना छ,' उनले भने, 'संघीय सरकारको नीतिअनुसार स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गर्ने छौं।'
महानगरको बेरोजगारी समस्या हल गर्न विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुका साथै तालिम लिएकाहरूलाई व्यवसाय थाल्न सुरू पुँजीको व्यवस्थापन गर्नु उनको छैठौं योजना हो।
‘म फेरि मेयर भएँ भने यी योजनाहरू नगरसभाबाट पास गराएर लागू गर्ने सोच छ,’ उनले भने, ‘महानगरका जनतालाई शिरमा राखेर काम गर्ने छु।’
२०७४ को निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई ३२३ मतान्तरले जितेका थिए।