निर्वाचन आयोगमा दल दर्ता नभए पनि दाङका विभिन्न पालिकामा विप्लव नेतृत्वको नेकपाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ। सोमबार जिल्लाभरि नेकपाको समर्थन रहेका स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन्।
तुलसीपुर उपमहानगरपालिकाको उपमेयर पदमा तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका पूर्व अध्यक्ष खेमराज वलीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन्।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका- ३ मा बालकृष्ण खराल, बजारको केन्द्र भाग वडा नम्बर ५ मा प्रेम बुढा, वडा नम्बर ७ मा भिमबहादुर डाँगी (किरण), वडा नम्बर ९ मा इश्वरीप्रसाद पाण्डे, वडा नम्बर १२ मा कुलबहादुर वली (प्रतिरोध), वडा नम्बर १४ मा मिनप्रसाद ढकाल (अरबिन्द), वडा नम्बर १५ मा सुन्दर बिक (सुशील) र वडा नम्बर १९ मा खड्कबहादुर वलीले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतकै शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ मा उक्त पार्टीका मनोज परियारले वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्।
बबई गाउँपालिका-४ मा नेकपाका हरिप्रसाद शास्त्रीले वडा अध्यक्षमा आफ्नो स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत जिल्लाको घोराही उपमहानगरपालिकामा पनि नेकपाको तर्फबाट स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्। उपमहानगरको वडा नम्बर १२ मा नरबहादुर बोहरा र वडा नम्बर ९ मा भूपेन्द्र वली (हिमाल) ले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको विप्लव नेतृत्वको नेकपा-दाङले जानकारी दिएको छ।
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गढवा गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको नेकपाबाट गणेश चौधरीले उम्मेदवारी दिएका छन्। सोही गाउँपालिकाको वडा नम्बर १ मा यज्ञबहादुर कुमालले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। सोही पालिकाको वडा नम्बर ५, ६ र ७ मा पनि स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता भएको छ।
त्यस्तै राजपुर गाउँपालिकाको अध्यक्षमा सर्जु यादवले उम्मेदवारी दिएका छन्। राजपुरकै वडा नम्बर १ मा भुमा महरा, वडा नम्बर २ मा तुलसीराम भण्डारी, वडा नम्बर ४ मा रामप्रसाद हरिजनले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
नेकपाको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले दल दर्ता गरेर चुनावमा भाग नलिने तर देशभक्त, राष्ट्रवादी, एमसिसीविरोधी स्वतन्त्र जनपक्षीय उम्मेदवारलाई सहयोग तथा समर्थन गर्ने नीति लिएको थियो। केन्द्रीय समितिको उक्त निर्णयअनुसार आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपाले उम्मेदवारी दिएको उक्त पार्टीले जानकारी दिएको छ।