स्थानीय तह निर्वाचन २०७९ मा सत्ता गठबन्धन दलबीच पालिका भागबण्डाको कुरा नमिलेका कर्णालीका दुई जिल्लामा दलहरूको एकल उम्मेदवारी परेको छ।
सहमति हुन नसकेको रूकुम पश्चिम र सुर्खेतमा एकल उम्मेदवारी परेको हो।
नेकपा माओवादी केन्द्रका रूकुम पश्चिम संयोजक गोविन्द रोका (सचिन) का अनुसार जिल्लाका पाँच वटा पालिकामा माओवादीको एकल उम्मेदवारी परेको छ। यी पालिकामा नेकपा (एकीकृत समाजवादी) ले पनि एकल उम्मेदवारी दिएको छ।
रूकुम पश्चिमको मुसिकोट नगरपालिकामा भने माओवादी र समाजवादीबीच चुनावी सहकार्य भएको छ। मुसिकोटको मेयरमा माओवादीबाट र उपमेयरमा समाजवादीबाट उम्मेदवारी परेको संयोजक रोकाले जानकारी दिए।
नेपाली कांग्रेसले भने रूकुम पश्चिमका सबै पालिकामा एकल उम्मेदवारी दिएको छ।
यस्तै सुर्खेतका नौ वटै पालिकामा दलहरुले एकल उम्मेदवारी दिएका छन्।
माओवादी केन्द्रका संयोजक जीतबहादुर रानाका अनुसार सुर्खेतको चिङ्गाड गाउँपालिकाको अध्यक्षमा माओवादीबाट उम्मेदवारी परेको छैन। ‘अरू सबै पालिकामा हाम्रो एकल उम्मेदवारी परेको छ, चिङ्गाड गाउँपालिकाको अध्यक्षमा हामीले उम्मेदवारी दिएका छैनौ,’ उनले भने।
उक्त पालिकामा किन अध्यक्षमा उम्मेदवारी परेन भन्ने माओवादीले खुलाउन चाहेन। ‘अहिले सहकार्य भन्ने कुरा पनि छैन, विशेष कारण हामीले त्यहाँ अध्यक्षमा उम्मेदवारी दिएका छैनौं,’ रानाले सेतोपाटीसँग भने।
लगातार पाँच दिनसम्म बसेको सत्ता गठबन्धनका कर्णाली प्रदेशस्थित नेताले प्रदेशका आठ वटा जिल्ला (हुम्ला, मुगु, कालीकोट, जुम्ला, डोल्पा, सल्यान, जाजरकोट र दैलेख) मा पालिका भागबण्डाको टुंगो लगाएपछि सुर्खेत र रूकुम पश्चिमका बारेमा निर्णय गर्न सकेका थिएनन्।
यी दुई जिल्लामा अहिले एकल उम्मेदवारी परेपनि अन्तिम नामावली प्रकाश गर्ने दिनसम्म सहमतिको प्रयास गर्ने सहमति भने भएको छ । यदि सहमति भए अहिले उम्मेदवारी दिएकामध्ये गठबन्धन दलका जो उम्मेदवार पनि फिर्ता हुन सक्नेछन्।
अरू जिल्लामा भागबण्डा मिलेका पालिकामध्ये पनि कतिपय पालिकामा गठबन्धन दलबाटै एकल उम्मेदवारी परेको छ। यद्यपि गठबन्धन दलले संयुक्त विज्ञप्ति निकालेर साझा उम्मेदवारविरूद्ध जाने नेता तथा कार्यकर्तालाई अनुशासनको कारबाही गर्ने चेतावनी भने दिएका छन्।
सहमति भएका ८ जिल्लामा कसलाई कुन पालिका?
गठबन्धन दलबीच भएको सहमति अनुसार हुम्लाको नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ।
खार्पुनाथ र सर्केगाड गाउँपालिकामा अध्यक्ष कांग्रेसले पाएको छ भने उपाध्यक्ष माओवादीले पाएको छ।
माओवादीले अध्यक्ष पाएका चंखेली र ताँजाकोट गाउँपालिकामा उपाध्यक्ष समाजवादीले पाएको छ। अदानचुली गाउँपालिकामा नेपाली कांग्रसले अध्यक्ष पाएको छ भने समाजवादीले उपाध्यक्ष पाएको छ।
जुम्लाको चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, सिंजा गाउँपालिका, पातारासी गाउँपालिकामा कांग्रेसले प्रमुख तथा अध्यक्ष पाएको छ। यी पालिकामा उपप्रमुख/उपाध्यक्ष भने माओवादी केन्द्रले पाएको छ।
हिमा गाउँपालिकामा समाजवादीले अध्यक्ष पाएको छ भने माओवादीले उपाध्यक्ष पाएको छ। तिला, गुठीचौर र तातोपानी गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष पाएको छ। तिला र तातोपानीमा कांग्रेले उपाध्यक्ष पाएको छ भने गुठीचौरमा समाजवादीले उपाध्यक्ष पाएको छ।
मुगुको छाँयाँनाथ रारा नगरपालिकामा मेयर नेपाली कांग्रेसले पाएको छ भने उपमेयर माओवादीले पाएको छ। मुगुम कार्मारोङ गाउँपालिकामा कांग्रेसले अध्यक्ष पाउँदा समाजवादीले उपाध्यक्ष पाएको छ। सोरू गाउँपालिकामा समाजवादी र खत्याड गाउँपालिकामा माओवादीले अध्यक्ष पाएका छन् भने यी दुवैमा उपाध्यक्ष काँग्रेसले पाएको छ।
कालीकोटको रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, पलाता गाउँपालिका, सन्नीत्रिवेणी गाउँपालिका र पचाल झरना गाउँपालिकामा माओवादीले प्रमुख/अध्यक्ष पाएको छ।
शुभकालिका र नरहरीनाथ गाउँपालिकामा समाजवादीले अध्यक्ष पाएको छ। कांग्रेसले खाँडाचक्र नगरपालिका, महाबै गाउँपालिकामा प्रमुख/अध्यक्ष पाएको छ।
यस्तै खाँडाचक्र नगरपालिका, नरहरीनाथ गाउँपालिका, महाबै गाउँपालिका र शुभकालिका गाउँपालिकाको उपप्रमुख/उपाध्यक्ष माओवादीले पाएको छ। पचालभरना गाउँपालिका, पलाता गाउँपालिका र तिलागुफा नगरपालिकाको उपप्रमुख/उपाध्यक्ष कांग्रेसले पाएको छ।
रास्कोट नगरपालिका र सन्नीत्रिवेणी गाउँपालिकाको उपप्रमुख/उपाध्यक्ष समाजवादीले पाएको छ।
डोल्पाको डोल्पोबुद्ध गाउँपालिका, जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा माओवादीले अध्यक्ष पाएको छ।
छार्काताङ्सोङ गाउँपालिका, काईके गाउँपालिका, से-फोक्सुण्डो गाउँपालिका र ठूलीभेरी नगरपालिकामा समाजवादीले प्रमुख/अध्यक्ष पाएको छ। कांग्रेसले त्रिपुरासुन्दरी नगरपालिकामा मेयर पाएको छ।
यस्तै ठूलीभेरी नगरपालिका, से-फोक्सुण्डो गाउँपालिकामा माओवादीले उपप्रमुख/उपाध्यक्ष पाएको छ। छार्काताङ्सोङ गाउँपालिका, काईके गाउँपालिका र डोल्पोबुद्ध गाउँपालिकामा कांग्रेसले उपाध्यक्ष पाएको छ। मुड्केचुला, जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा समाजवादीले उपप्रमुख/उपाध्यक्ष पाएको छ।
सल्यानको शारदा नगरपालिका, त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कालीमाटी गाउँपालिकामा कांग्रेसले प्रमुख/अध्यक्ष पाएको छ। दार्मा गाउँपालिका, कुमाख गाउँपालिका, बनगाडकुपिण्डे नगरपालिका र बागचौर नगरपालिकामा माओवादी केन्द्रले प्रमुख/अध्यक्ष पाएको छ।
कपुरकोट गाउँपालिका, सिद्धकुमाख गाउँपालिकामा समाजवादीले अध्यक्ष पाएको छ।
कालीमाटी गाउँपालिका, कुमाख गाउँपालिका, सिद्धकुमाख गाउँपालिका, कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिकामा माओवादीले उपाध्यक्ष पाएको छ।
शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिकामा समाजवादीले उपाध्यक्ष पाएको छ। दार्मा गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका र बागचौर नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख/अध्यक्ष पाएको छ।
जाजरकोटको भेरी नगरपालिकामा समाजवादीले मेयर पाएको छ भने कांग्रसले उपमेयर पाएको छ। यस्तै, छेडागाड नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकामा कांग्रेसले प्रमुख/अध्यक्ष पाएको छ। शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका, नलगाड नगरपालिकामा माओवादीले प्रमुख/अध्यक्ष पाएको छ।
यस्तै शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका, नलगाड नगरपालिकामा कांग्रेसले उपप्रमुख/उपाध्यक्ष पाएको छ। बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिकामा माओवादीले उपप्रमुख/उपाध्यक्ष पाएको छ।
दैलेखको नारायण नगरपालिका, दुल्लु नगरपालिका, आठविस नगरपालिका, गुराँस गाउँपालिका, नौमुले गाउँपालिका र डुंगेश्वर गाउँपालिकामा कांग्रेसले मेयर/अध्यक्ष पाएको छ।
महाबु गाउँपालिका, भैरवी गाउँपालिका र चामुण्डा विन्द्रासैनी नगरपालिकामा समाजवादीले मयरे/अध्यक्ष पाएको छ । ठाँटीकाँध गाउँपालिका र भगवतीमाई गाउँपालिका माओवादीले अध्यक्ष पाएको छ।
महाबु गाउँपालिका, ठाँटीकाँ गाउँपालिका, भगवतीमाई गाउँपालिका, भैरवी गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा नेपाली कांग्रेसले उपमेयर/उपाध्यक्ष पाएको छ।
डुंगेश्वर गाउँपालिका र नारायण नगरपालिकामा समाजवादीले उपमेयर/उपाध्यक्ष पाएको छ भने दुल्लु नगरपालिका, आठविस नगरपालिका, गुराँस गाउँपालिका र नौमुले गाउँपालिकामा माओवादीले उपमेयर/उपाध्यक्ष पाएको छ।