रमैइ चौधरी पञ्चायतकालका प्रधानपञ्च हुन्। उनका छोरा श्रीप्रसाद पनि पञ्चायत कालमै वडाध्यक्ष थिए।
यो जगदम्बाकुमारी चौधरीको माइती घरको राजनीतिक पृष्ठभूमी हो।
राजनीतिक परिवारको पृष्ठभूमिमा हुर्किएकी जगदम्बाले राजनीति नबुझ्ने कुरै भएन। बिरासत भए राजनीति गर्न सहज पनि हुन्छ। त्यही भएर २०६७ सालमा उनले नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिइन्। आस्था त पहिलेदेखि नै थियो।
तीनै जगदम्बा यतिबेला दाङका दस पालिकामध्ये प्रमुखमा उम्मेदवारी दिने एक्ली महिला बनेकी छिन्।
उनलाई नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको केन्द्र राप्ती गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको उपप्रमुखमा निर्वाचित जगदम्बालाई पार्टीले पुन दोहोर्याउँदै प्रमुखमा उम्मेदवार बनाएको छ। पाँच वर्षको कामले आत्मबल बढेको हुँदा आफूले प्रमुख पदमा उम्मेदवारी दिएको जगदम्बाले सेतोपाटीसँग भनिन्।
४६ वर्षे जगदम्बाले शिक्षा शास्त्रबाट बिए पास गरे पनि अहिले राजनीति शास्त्रबाट स्नात्तोकत्तर पढिरहेकी छन्।
राप्ती गाउँपालिका वडा नं. ५ पहरूवाकी जगदम्बालाई बिहेपछि पनि राजनीति गरिरहन घर परिवारले बन्देज लगाएन।
प्रहरी जागिरबाट रिटार्ड उनका श्रीमान सन्तराम चौधरीले अगाडि बढ्न उनले जहिल्यै हौसला दिए।
माछा पालन गर्दै आएका सन्तरामले घर ब्यवहार सम्हालेपि उनले पालिका सम्हाल्दै जनताको सेवामा खटिइन्।
‘मेरो श्रीमान र घर परिवारबाट मैले धेरै साथ सहयोग पाएकी छु,’ जगदम्बाले भनिन्, ‘श्रीमानले राजनीति गर्नुपर्दैन घरै बसेर घर ब्यवहार सम्हाल भनेको भए मेरो के लाग्थ्यो र?’
एमबिबिएसको तयारी गर्दै गरेका छोरा नसिबले पनि आमालाई सधै अगाडि बढ्न हौसला दिन्छन्।
जगदम्बाले उपप्रमुखको भूमिकामा रहँदा न्यायिक समितिसहित विभिन्न समन्वय समितिमा बसेर निष्पक्ष भूमिका निर्वाह गरेको बताउँछिन्।
‘मैले कहिलै पनि कसैलाई तेरो-मेरो भनेर ब्यबहार गरिनँ र भविश्यमा पनि गर्ने छैन,’उनले सेतोपाटीसँग कुरा गर्दै भनिन्, ‘सत्य तथ्य र आवश्यकताको आधारमा सेवा प्रवाह गर्नुपर्छ भन्ने मलाई लाग्छ।’
उनको त्यही निष्पक्ष भूमिकाको मूल्याङकन गरेरै जगदम्बालाई पार्टीले गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनाएको कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले स्पष्ट पारे।
जगदम्बा पनि आफ्नो योग्यता र क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक पाँच वर्ष काम गरेको बताउँछिन्।
‘पाँच वर्ष काम गरेपछि मेरो विश्वास र आत्मबल बढ्यो,’ उनले अगाडि भनिन्, ‘कुनै पनि क्षेत्रमा मानिस जति अगाडि बढ्यो उति अगाडि बढ्न मन लाग्दोरहेछ। त्यही भएर मैले विगतको अनुभवका आधारमा गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी हुँ।’
आफूलाई राप्तीबासीले सही मूल्याङकन गरि निर्वाचित गराउने जगदम्बाको विश्वाश छ।
‘यतिखेर न्यायमूर्ती भनेको मतदाता हुनुहुन्छ,’ उनले भनिन्, ‘एउटी अगाडि बढ्न खोजेकी चेलीलाई सबै दाजुभाइ तथा दिदी बहिनीले सघाउनुहुनेछ भन्ने विश्वाश छ।’
आफूले जितेमा पुरूष दाजु भाइले भन्दा राम्रो र पादर्शी ढंगले सेवा दिने उनले दाबी गरिन्। ‘पाँच वर्ष उपप्रमुखको रूपमा मेरो काम राप्तीबासीले हेरिसक्नु भएको छ,’ उनले भनिन्, ‘अब थप अगाडि बढ्न प्रेरित गर्नुहोस् त्यसपछि म राप्तीलाई कसरी अगाडि बढाउने त्यसमा मनचित्त लगाउन सक्नेछु।’
यस्ता छन् – जगदम्बाका योजना
लुम्बिनी प्रदेशको केन्द्र तोकिएको राप्ती गाउँपालिका लुम्बिनीको प्रवेशद्धार रहेको भन्दै जगदम्बाले त्यसको विकास नगरी लुम्बिनीको विकास अधुरो रहने बताइन्।
राप्तीलाई राजधानीको केन्द्र तोकेको धेरै समय बितिसक्दा पनि जुनरूपमा भौतिक पूर्वाधार तयार हुनुपर्ने हो त्यसो नभएको तथा मन्त्रालयसमेत स्थानान्तरण हुन नसक्नु बिडम्बना भएको बताइन्।
‘दुई मन्त्रालय स्थापना गरिए पनि ती नाम मात्रैका छन् र काम सबै बुटवलबाट हुँदै आएको छ,’ उनले अगाडि भनिन्, ‘मैले जिते स्थायी राजधानी निर्माणमा गाउँपालिकाबाट खेल्नुपर्ने सहजीकरणको भूमिका दत्तचित्त भइ निर्वाह गर्नेछु।’
आफू निर्वाचित भए गाउँपालिकाभर किसानका खेतबारीमा सिँचाईका लागि खनिएका डीप बोरिङमा लाग्ने विद्युत महशुल निःशुल्क गराउने, किसानलाई रसायनिक मल निःशुल्क उपलब्ध गराउने।
विपन्न परिवारका जेहेन्दार बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क पढाउने।
उच्चरक्तचाप र चिनी रोगका बिरामीको लाग्ने सम्पूर्ण औषधि उपचार निःशुल्क गरिने।
कुनै पनि कारणले पीडित महिला दिदी बहिनीका पीडा बुझेर आवश्यकताको आधारमा सहयोग गर्ने।
अरू क कसको उम्मेदवारी
नेपाली कांग्रेसबाट राप्ती गाउँपालिकाको प्रमुखमा जगदम्बाकुमारी चौधरी, उपप्रमुखमा हरिप्रसाद भुसाल उम्मेदवार छन्।
पालिकामा पार्टीले टिकट नदिएपछि कांग्रेसकै बुद्धीप्रकास चौधरीले असन्तुष्टि जनाउँदै गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
बुद्धिप्रकासको उम्मेदवारीलाई पार्टीले ब्यवस्थापन गर्नेमा जगदम्बा ढुक्क छिन्। ‘बुद्धिजी त मेरै समुदायको मानिस हो र म उहाँकी चेली हुँ,’ उनले भनिन्, ‘अहिले उहाँले रिसाएर मनोनयन दर्ता गरे पनि त्यो फिर्ता लिएर मलाई सघाउनुहुनेछ भन्ने पूर्ण विश्वस्त छु।’
त्यस्तै राप्तीको प्रमुखमा नेकपा एमालेबाट जगत पोखरेल र उपप्रमुखमा कमलापति चौधरीले मनोनयन दर्ता गरेका छन्।
राप्तीमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको चुनावी तालमेल भएको छ। यहाँ माओवादीका प्रकाश बिष्टले प्रमुखमा र उपप्रमुखमा जनमोर्चाका केशव खनालले उम्मेदवारी दर्ता गराएका छन्।