काठमाडौं उपत्यकाका महानगर तथा नगरपालिकामध्ये राम्रो काम गरेको भनी चर्चा कमाएका मेयरमध्ये सुनिल प्रजापति अग्रपंक्तिमै आउँछन्। भक्तपुरमा परम्परागत शैली जीवित राख्न, भुइँचालोमा ढलेका सम्पदाहरूलाई पुरानै शैलीमा पुनर्जीवन दिन र मासिएका पोखरी ब्युँताउन महत्वपूर्ण काम गरेका प्रजापतिले यसपालि फेरि मेयरमा दोहोरिन चाहेका छन्।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट सोमबार उम्मेदवारी दिएपछि सेतोपाटीसँग कुराकानी गरेका उनले गएको कार्यकालमा पूरा गर्न नसकेको कामलाई यसपालि पहिलो प्राथमिकतामा राख्ने बताए।
‘हामीले घोषणापत्रमा उल्लेख भएका लगभग सबै काम पछिल्लो कार्यकालमा पूरा गरेका थियौं। नेपाल सरकारबाट स्वीकृति नपाउँदा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने काम भने अधुरै रह्यो। त्यसलाई अब हामी पहिलो प्राथमिकतामा राखेर काम गर्छौं,’ उनले भने।
भक्तपुर नगरपालिकालाई उनी 'सांस्कृतिक नगर' घोषणा गर्न चाहन्छन् जसअनुसार भक्तपुरको पुरानो बस्तीका घरहरूलाई परम्परागत शैलीमा ढाल्ने काम अघि बढेको छ। यसको निम्ति नगरपालिकाले स्थानीयलाई इँटा, झिँगटी, काठ लगायत सामग्री किन्न ३५ प्रतिशत अनुदान दिन्छ। यस्तै काम पूरै नगर क्षेत्रभरि विस्तार गरेर सिंगो भक्तपुरलाई नै सांस्कृतिक सहर बनाउन चाहेको उनले बताए।
उनको योजनामा सय वर्षपछि भक्तपुर सहर कस्तो हुन्छ भन्ने परिकल्पना पनि छ। त्यो परिकल्पना २० वर्षअघि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले लेखेको किताब ‘सय वर्षपछिको भक्तपुर’ मा आधारित छ। उक्त परिकल्पनामा नगरभित्र मौलिक शैलीका घरहरू हुनेछन्। सडकमा धुलो फाल्ने सवारी साधन हुने छैन। प्रत्येक घरमा स्थानीयसँगै विदेशी भाषा बोल्ने र खाना बनाउन जान्ने सीप हुनेछ। यसले विदेशी पाहुना नेपाल आउँदा उनीहरूलाई सहज हुनेछ।
‘अहिले नै नगरपालिकाले यसको आधार तयार गर्न नेपाल भाषासँगै चिनियाँ, जापानी भाषाहरू सिकाइरहेको छ। डकर्मी, सिकर्मी र आर्किटेक्टको तालिम दिइरहेको छ,’ उनले भने, ‘भोलिका निम्ति हामीले अहिलेबाटै आधार तयार पारिरहेका छौं।’
बाहिरी मुलुकबाट आएका पर्यटकलाई भक्तपुर पुगिएन भने नेपाल आएजस्तो नलाग्ने सहर बनाउने उनको योजना छ।
२०७२ को भुइँचालोताका भक्तपुर नगरपालिकामा १२० वटा सम्पदा क्षति भएको रेकर्ड थियो। ती सम्पदा लगभग सबै पुनर्निर्माण गर्नुका साथै थप उत्खनन र जिर्णोद्धारका कामहरू गरेको प्रजापति बताउँछन्।
‘त्यति बेला सम्पदा निर्माण गर्दा नगरपालिकाले विदेशीको सहयोग लिएन, सरकारको हात थापेन। स्थानीयसँग हातेमालो गर्दै उपभोक्ता समिति बनाएर काम गर्यो। कसैले नगद, जिन्सी सहयोग गरे त कसैले श्रमदान गरे। आगामी सम्पदा निर्माण पनि यसरी नै हुनेछ,’ उनले भने।
‘हामीकहाँ ज–जसले सम्पदा निर्माणमा काम गरे, उनीहरूको दस्तावेज नै बनाउने तयारी पनि गरिरहेका छौं। त्यसो भयो भने पछिल्ला पुस्ताले मेरो आमाबुवाले त्यो मन्दिर बनायो, त्यो पोखरी बनायो भनेर गर्व गर्न सक्नेछन्। अनि उनीहरूका पछिल्ला पुस्ताले पनि सिक्नेछन्।’
यसपालि फेरि निर्वाचित भइयो भने अबको कार्यकालमा पहिले सुरू गरेका भाज्या पोखरी, नरसिंह मन्दिर लगायतको निर्माण सक्ने उनको योजना छ। विभिन्न कानुनी अप्ठ्याराका कारण बन्न नसकेका घर निर्माण गरेर हेर्नलायक सुन्दर सहर बनाउन उनी चाहन्छन्, भन्छन्, ‘सहर कस्तो बनाउने भन्दा भक्तपुरजस्तो भन्ने उदाहरण छाड्न चाहन्छौं।’
शिक्षातर्फ उनी सामुदायिक शिक्षालाई स्तरिय बनाउन चाहन्छन्। धेरैले सामुदायिक शिक्षा नराम्रो ठान्ने र निजीमा नभए मात्र सामुदायिकमा पढाउने प्रवृत्ति हटाउने उनको योजना छ। आर्थिक अवस्थाका कारण उच्च शिक्षा लिन नपाएकाहरूलाई नगरपालिकाले शैक्षिक ऋण दिँदै आएको छ। आगामी कार्यकालमा यसलाई थप विस्तार गर्ने उनले बताए।
‘आर्थिक अभावकै कारण कोही शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने।
शिक्षासँगै विद्यार्थीहरूको मौलिक हक खेलकुद हो भन्ठान्ने प्रजापतिले विद्यालयको पाठ्यक्रममा ६ वटा खेलकुद समावेश गरेका छन्। त्यसको आधार अघिल्लो कार्यकालमै तयार गरिसकेकाले अब बढीभन्दा बढी खेलकुद प्रतियोगिता र सांस्कृतिक प्रतियोगिताहरू आयोजना गर्ने उनको योजना छ।
स्वास्थ्य क्षेत्रतर्फ गएको कार्यकालमा उनको नगरले घरघरमा नर्स पठाएर घरदैलो नर्सिङ सेवा दिएको थियो। त्यसबाट आर्थिक अवस्थाका कारण अस्पताल जान नसकेका जनताका धेरै समस्या थाहा भएको उनी बताउँछन्।
यहाँ कोरोना महामारी बेला ख्वप अस्पतालबाट काम भएको थियो। त्यसबाट अहिले रातदिन सेवा दिइन्छ। वडा–वडामा जनस्वास्थ्य केन्द्रहरू छन्। मानव अंग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पताल लगायत भक्तपुर नगरमा छन्।
‘सबै सेवा यहीँबाट दिन सकौं भनेर हामी प्रयासरत छौं। पैसा नभएकाहरूलाई पनि कसरी स्तरीय सेवा दिने भनेर हामी काम गरिरहेका छौं,’ उनले भने।
पछिल्लो कार्यकालमा भक्तपुरले गरेका कामलाई धेरैले प्रशंसा गरेको उनी बताउँछन्। यो कार्यकाल पनि सम्हाल्ने अवसर मिल्यो भने आफूले थप राम्रो काम गर्ने उनले बाचा गरे।
गएको चुनावमा प्रजापति २५ हजार ७ सय ३० मत ल्याएर मेयर निर्वाचित भएका थिए। उनीसँग अन्य पार्टीको मतान्तर करिब २० हजार हाराहारी थियो।