२०७४ को निर्वाचनमा निर्वाचित भएर स्थानीय सरकार हाँक्ने मौका पाएका धेरैजसो यसपटक उम्मेदवार सिफारिसको सूचीमै परेनन्। तर, प्रदेश १ का नगर/गाउँपालिकामा धेरैजसो प्रमुख–उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले भने दोहोरिएर उम्मेदवारी दिने अवसर पाएका छन्।
केहीले दोहोरिने अवसर पाउँदा केहीले अहिलेभन्दा माथिल्लो जिम्मेवारीमा फड्को हान्ने मौकास्वरूप टिकट पाएका छन्।
पहिलो कार्यकालमा विवादमा परेका, राम्रो कार्यसम्पादन क्षमता प्रदर्शन नगरेकाहरूलाई यसपटक नदोहोर्याइएको नेताहरू बताउँछन्। तर, राम्रो काम गरेर स्याबासी पाएकाहरू, जनतासँग भिजेकाहरूले फेरि अवसर पाएको नेताहरूको भनाइ छ।
‘पहिले अवसर पाएर आफूलाई प्रमाणित गरेकाहरूलाई पार्टीले पुनः अवसर दिने हो,’ कांग्रेस प्रदेश १ का एक नेताले भने, ‘तर, कतिपय सन्दर्भमा राम्रा काम गरेकाहरू पनि गुटको वा पहुँचको प्रभावबाट बन्चित हुन पुगे। केहीले त्यसकै आधारमा दोहोरिने अवसर पनि पाए।’
ती नेताले विराटनगरकै उदाहरण दिएर आफ्नो भनाइ प्रमाणित गर्न खोजे।
उनको भनाइ थियो ‘मेयर भीम पराजुली अलोकप्रिय भएर अवसरबाट बञ्चित भए। लोकप्रिय हुँदाहुँदै पनि गुट र गठबन्धन मिलाउँदा उपमेयर इन्दिरा कार्कीले अवसर पाइनन्।’
कांग्रेसका यी नेताको भन्दा फरक भनाइ एमाले नेताहरूको पनि छैन।
धेरैतिर गुटको प्रभावले पनि काम गरेको उनीहरूको भनाइ छ। राम्रो काम गरे पनि मोरङमा १० बुँदे पक्षधरका कसैले दोहोरिने अवसर नपाएको एमालेका एक नेताले बताए।
प्रदेश १ मा १३७ स्थानीय तह छन्। प्रदेशका १४ जिल्लाका विभिन्न स्थानीय तहका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार उम्मेदवारी दर्ता भएको थियो। सोही दर्ता अनुसार प्रदेश १ मा धेरै जनप्रतिनिधिले दोहोरिएर उम्मेदवारी दिएको पाइएको छ। जसमध्ये धेरैजसोमा मुख्य दलहरूबाट नयाँले अवसर पाएका छन्। यसअघि जितेकामध्ये दोहोरिने अवसर पाउनेमा झापा गौरादहका मेयर रोहित साह एक हुन्।
२०७४ को चुनावमा एमालेको गण मानिने अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र गौरादहमा जितेका साहलाई कांग्रेसले यसपटक पनि मेयरको उम्मेदवार बनाएको छ। अध्यक्ष केपी ओलीको गृहनगर दमकमा एमालेले उपप्रमुख गीता अधिकारीलाई यसपटक मेयरको उम्मेद्वार बनाएको छ ।
झापाकै कनकाई नगरमा एमालेले हालमा मेयर र उपमेयर दुवैलाई दोहोर्याएको छ।
नगर प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख मन्जु दाहाल प्रसाईंलाई एमालेले फेरि पूर्ववत पदमा उम्मेदवार बनाएको छ।
मेचीनगरकी उपप्रमुख मिना उप्रेतीलाई एमालेले फेरि सोही पदको उम्मेदवार बनाउँदा राप्रपाले पनि कचनकवल र हल्दिबारी गाउँपालिकामा पुरानैलाई दोहोर्याएको छ।
कचनकवलका अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी र हल्दिबारीका अध्यक्ष रवीन्द्र लिङ्देनलाई राप्रपाले फेरि सोही पदमा उम्मेदवार बनाएको छ।
एमालेले हल्दिबारीका उपाध्यक्ष डम्बर गिरीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। त्यसैगरी, एमालेबाटै बुद्धशान्ति गाउँपालिका उपाध्यक्षमा निर्वाचित मिरा भुर्तेल यसपटक अध्यक्षको उम्मेदवार बनेकी छन्।
इलामको सूर्योदय नगरमा मेयर र उपमेयर दुवैले यसपटक सोही पदमा उम्मेदवारी दिएका छन्। रणबहादुर राई र दुर्गादेवी भट्टराई अघिल्लो निर्वाचनमा एमालेबाट क्रमशः प्रमुख र उपप्रमुखमा निर्वाचित भएका थिए।
मेयर राई एमाले छाडेर एकीकृत समाजवादीमा गएका छन्। सत्ता गठबन्धनका तर्फबाट समाजवादीका राई मेयरमै उम्मेदवार बन्दा एमालेले उपप्रमुखमा भट्टराईलाई नै दोहोर्याएको छ।
सूर्योदयमा एमालेले मेयरमा प्रदेश सांसद काजीमान कागतेलाई अघि सारेको छ। यो नगर समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र हो।
इलामकै देउमाई नगरमा एमालेले हालकै मेयर र उपमेयरलाई पूर्ववत् पदमा दोहोर्याएर उम्मेदवारी दिएको छ।
मेयर सूर्य पोखरेल र उपमेयर पविमाया राई फेरि उम्मेदवार बनेका हुन्। माङ्सेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोलाई कांग्रेसले सोही पदमा उठाउँदा एमालेले पनि उपाध्यक्ष सुनिता लिम्बूलाई पनि पुनः उपाध्यक्षकै उम्मेदवार बनाएको छ।
माइजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले एकीकृत समाजवादीबाट फेरि उम्मेदवारी दिँदा एमालेले पनि उपाध्यक्ष सावित्रा भट्टराईलाई दोहोर्याएर उम्मेदवार बनाएको छ।
एमालेबाटै सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले पनि सोही पदमा उम्मेदवारी दिएका छन्।
पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमले यसपटक पनि उम्मेदवारी दिएका छन्।
माओवादी केन्द्रका नेता उनले दोहोर्याउँदा हिलिहाङका अध्यक्ष भवानी लिङ्देनले पनि एमालेबाट पुनः उम्मेदवारी दिएका छन्।
उपनिर्वाचनबाट फाल्गुनन्द गाउँपालिका अध्यक्ष जितेका एमालेका वीरबहादुर कुरुम्बाङ पनि सोही पदमा पुनः उम्मेदवार भएका छन्।
मेची पहाडको हिमाली जिल्ला ताप्लेजुङमा फुङलिङ नगरका मेयर र उपमेयर दुवै दोहोरिएर उम्मेदवार बनेका छन्।
एमालेबाट मेयर छत्रपति प्याकुरेल पुनः मेयरकै उम्मेदवार बन्दा माओवादी केन्द्रले उपमेयरमा बमबहादुर भट्टराईलाई अघि सारेको छ।
आठराई त्रिवेणीका अध्यक्ष विश्व सिटौला कांग्रेस, मैवाखोलाका अध्यक्ष राजन खक्लुङ र उपाध्यक्ष कौशिला लिम्बू एमाले, फक्तालुङ अध्यक्ष सरोज एभेङ एमाले पनि दोहोरिएर उम्मेदवार बनेका छन्।
त्यस्तै, पाथिभरा याङवरक अध्यक्ष केसर मेन्याङ्बो र उपाध्यक्ष रङमाया गुरूङलाई पनि एमालेले दोहोर्याएको छ।
सिदिङ्वा गाउँपालिका उपाध्यक्ष जीवन ताम्लिङलाई यसपटक माओवादीले टिकट नदिएपछि उनले सोही पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
२०७४ को निर्वाचनमा प्रदेश १ को धनकुटा यस्तो जिल्ला थियो, जहाँको सबै स्थानीय तह एमालेले जितेको थियो। त्यसबेला जीत हासिल गरेका ६ जना जनप्रतिनिधिले यसपटक पनि सोही पदमा दोहोरिएर उम्मेदवारी दिएका छन्।
धनकुटा नगरका मेयर चिन्तन तामाङ, साँघुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याख्खा, छथर जोरपाटीका अध्यक्ष शेरबहादुर लिम्बु, सहिदभूमिका अध्यक्ष मनोज राई र उपाध्यक्ष रत्नेश्वरी राई र महालक्ष्मी नगरकी उपप्रमुख मन्जु अधिकारी कार्कीलाई एमालेले पुनः पूर्ववत् पदमा उम्मेदवार बनाएको हो।
तेह्रथुमको छथर गाउँपालिकामा एमालेले अध्यक्ष सन्तवीर लिम्बु र उपाध्यक्ष तारा ढकाललाई दोहोर्याउँदा कांग्रेसले लालीगुराँस नगरका मेयर अर्जुनबाबु मावुहाङलाई पुनः सोही पदमा उम्मेदवार बनाएको छ।
आठराई गाउँपालिका उपाध्यक्ष रूपा कन्दङ्वा, मेन्छ्यामका अध्यक्ष यादवबहादुर खापुङ, म्याङलुङ नगरका मेयर सन्जय तुम्बाहाम्फेलाई दोहोर्याएको एमालेले फेदाम गाउँपालिका अध्यक्ष हरिप्रसाद चोङबाङ र उपाध्यक्ष गीतादेवी थापालाई पनि पुनः चुनावी मैदानमा पठाएको छ।
भोजपुरका स्थानीय तहका अधिकांश प्रमुख उपप्रमुख दोहोरिएका छन्। जस अनुसार साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईलाई कांग्रेसले सोही पदमा उठाउँदा षडानन्द नगरमा मेयर वीरबल राईलाई कांग्रेसले र उपमेयर मेरिका राईलाई एमालेले पुनः पुरानै पदमा अघि सारेका छन्।
भोजपुर नगरका मेयर कैलाश राईलाई कांग्रेसले फेरि अवसर दिँदा नेकपा एकीकृत समाजवादीले उपमेयर मनिता राईलाई पनि दोहोर्याएको छ।
भोजपुरकै टेम्केमैयुङका अध्यक्ष ध्रुवराज राई एमाले, उपाध्यक्ष इन्द्रावती राई एकीकृत समाजवादी, पौवादुङ्मा अध्यक्ष किरण राई एमाले र उपाध्यक्ष सम्झना राई माओवादी केन्द्र, हतुवागढी अध्यक्ष प्रेमकुमार राई एमाले, आमचोक अध्यक्ष अशोक राई र उपाध्यक्ष सरिता राई माओवादी र अरूण गाउँपालिका उपाध्यक्ष विनिता ढकाल कांग्रेसबाट यसपटक पनि दोहोरिएका छन्।
संखुवासभाको पाँचखपन नगरमा मेयर दिपिन राई र चिचिला गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पालाई कांग्रेसले दोहोर्याउँदा एमालेले सभापोखरीका अध्यक्ष रत्नबहादुर सुब्बा र मकालु गाउँपालिका उपाध्यक्ष चमेलीलाई पुनः सोही पदमा अघि सारेको छ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरमा कांग्रेसले नाम्गेल जाङ्बु शेर्पालाई मेयरमा दोहोर्याउँदा माओवादीले लिखु पिके गाउँपालिकामा अध्यक्ष डम्बरबहादुर बस्नेत र उपाध्यक्ष प्रमिला बस्नेतलाई दोहोर्याएर उम्मेदवार बनाएको छ।
माप्य दूधकोशी गाउँपालिका अध्यक्ष बुद्धीकिरण राई र उपाध्यक्ष जुनितामाया मगरलाई एमालेले फेरि पूर्ववत पदमा उम्मेदवार बनाएको छ।
खुम्बु पासाङल्हामुमा उपाध्यक्ष टासी ल्हामु शेर्पा एमाले, थुलुङ दुधकोशीमा अध्यक्ष असिम राई माओवादी र उपाध्यक्ष सविना राई दोहोरिएर उम्मेदवार बनेका छन्।
उपाध्यक्ष राईले २०७४ मा कांग्रेसबाट जितेकी थिइन्। तर, यसपटक उनी माओवादी प्रवेश गरेर सोही पदमा उम्मेदवार बनेकी छन्।
नेचासल्यानमा एमालेले डुफकुमार बास्तोलालाई अध्यक्षमा दोहोर्याउँदा महाकुलुङ गाउँपालिकामा माओवादीले अध्यक्ष सागर किराती र काँग्रेसले विपना कुलुङलाई पुनः सोही पदमा उम्मेदवार बनाएको छ।
ओखलढुंगाको चिसंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा माओवादीबाट पुनः उम्मेदवार बन्दा एमालेले उपाध्यक्ष सुस्मिका राईलाई पुनः अघि सारेको छ।
चम्पादेवीका अध्यक्ष नवराज केसी कांग्रेस, खिजिदेम्बा उपाध्यक्ष सुशिला तामाङ काँग्रेसबाट दोहोरिँदा एमालेले इच्छाकुमारी गुरूङलाई सिद्धिचरण नगरपालिकाको मेयर पदमा उठाएको छ। उनी २०७४ मा सोही नगरको उपमेयरमा विजयी भएकी थिइन्।
खोटाङको ऐंसेलुखर्क गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेल, केपिलासगढी अध्यक्ष कृष्णकुमार राई, दिक्तेल रुपाकोट मझुवागढीकी उपमेयर बिनादेवी राई, खोटेहाङकी उपाध्यक्ष कविता राईलाई एमालेले दोहोर्याएर उम्मेदवार बनाउँदा माओवादीले साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का र काँग्रेसले साकेलाकै उपाध्यक्ष सरिता खड्कालाई पुनः सोही पदमा दोहोर्याएर उम्मेद्वार बनाएका छन्।
जन्तेढुंगाका अध्यक्ष शंकरबहादुर राई र उपाध्यक्ष विमला राईलाई एमालेले दोहोर्याउँदा बराहपोखरी अध्यक्ष शालिग्राम बन्जरालाई कांग्रेसले पुनः उम्मेदवार बनाएको छ।
बराहपोखरीकै उपाध्यक्ष गोमादेवी मगरलाई एमालेले अध्यक्षमा ‘अपग्रेड’ गर्दा हलेसी तुवाचुङकी उपमेयर विमला राईलाई पनि कांग्रेसले मेयर उम्मेदवार बनाएको छ।
उदयपुरको त्रियुगामा बलदेव चौधरी दोहोरिएर मेयरको उम्मेदवार बनेका छन्। अघिल्लो चुनावमा एमालेबाट चुनाव जितेका उनी अहिले एकीकृत समाजवादीको प्रदेश १ अध्यक्ष छन्।
त्यस्तै, कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठ, र बेलकाका मेयर दुर्गाबहादुर थापालाई एमालेले दोहोर्याउँदा चौदण्डीनगरका मेयर खगेन्द्र राईलाई कांग्रेसले र लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर राईलाई माओवादी केन्द्रले पूर्ववत् पदमा चुनावी मैदानमा पठाएका छन्।
सुनसरीको दुहबी नगरसहितका चार स्थानीय तहमा कांग्रेसले प्रमुखहरू दोहोर्याएको छ।
दुहबीका मेयर वेद गच्छदार, बर्जु गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, हरिनगराका अध्यक्ष गफार अन्सारी र कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारीलाई काँग्रेसले पुनः तिनै पदमा उम्मेदवार बनाएको हो।
मोरङको सुन्दरहरैंचा नगरमा कांग्रेसले शिवप्रसाद ढकाल र उर्लाबारीमा खड्ग फागोलाई पुनः मेयरको उम्मेदवार बनाएको छ। २०७४ को निर्वाचनमा माओवादीबाट रंगेली नगरको मेयरमा निर्वाचित दिलिप बगडिया यसपटक एमालेबाट पुनः मेयरको उम्मेदवार बनेका छन्।
एमालेले रतुवामाई नगरकी उपप्रमुख दमयन्ता चुडाललाई पुनः दोहोर्याउँदा कांग्रेसले केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीलाई दोहोर्याएर उम्मेदवार बनाएको छ।