नेपाली कांग्रेसबाट काठमाडौं महानगरकी मेयर उम्मेदवार सिर्जना सिंहको घर चाक्सीबारीमा मंगलबार दिउँसो भिडभाड थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा, अनुराधा कोइराला र नेपाल महिला संघ काठमाडौंका नेता/कार्यकर्ता चाक्सीबारीको आँगनमा थिए।
सिंहले मेयरमा उम्मेदवारी दिएको भोलिपल्ट उनकै घर चाक्सीबारीमा पुगेकी आरजुले पहिले बोलिन्। उनले काठमाडौंको मेयरको उम्मेदवार महिलाले पाएकोमा आफू खुसी भएको बताइन्।
यसपछि उनले सिर्जनाबारे आफ्ना बुझाइ राख्न थालिन्।
‘म सिर्जनालाई सानैदेखि चिन्छु, उहाँ केन्द्रीय राजनीति हाँकेका गणेशमान-मंगलादेवी-प्रकाशमानको घर चलाएर बस्नुभएको हो। उहाँले घर त कुशलतापूर्वक चलाउनुभयो, काठमाडौं महानगर पनि राम्रोसँग व्यवस्थापन गर्नुहुनेछ भन्ने विश्वास छ।’
उनले सिर्जना प्रकाशमान सिंहको श्रीमतीमात्रै नभएर पहिलेदेखि नै राजनीतिमा आएको बताइन्।
‘उहाँ होलटाइमर राजनीतिज्ञ हो। कसैको श्रीमती भएर मात्रै सिर्जना राजनीतिमा आएको होइन,’ आरजुले भनिन्, ‘उहाँले पार्टीमा पद लिनुभएन होला। अब समय आयो- ससुरा गणेशमान, सासु मंगलादेवी र श्रीमान् प्रकाशमानका र आफ्नै अनुभव उहाँसँग छ। उहाँ काठमाडौंको मुहार फेर्छु भनेर राजनीतिमा आउनुभएको हो। मलाई हजार प्रतिशत विश्वास छ- उहाँ मेयर बनेपछि काठमाडौं व्यवस्थित हुन्छ।’
त्यसपछि आरजुले सिर्जनाले कसरी मेयरको टिकट पाएको हो भन्ने पृष्ठभूमि बताइन्।
‘सिर्जनालाई मेयर उम्मेदवार बनाउन विचरा प्रकाशमान त बोल्नुभएन होला, श्रीमतीका बारेमा बोल्यो भने कसले के सोच्छ भनेर। यहाँ धेरै जना आकांक्षी थिए। पार्टीले सबैसँग बुझेर छलफल गरेर निर्णय लिएको हो,’ उनले भनिन्।
यसपछि उनले विगतमा आफूले चुनाव लडेका बेलाका अनुभव सुनाएकी थिइन्। ‘सभा मात्रै धेरै नगरौं,’ सिर्जनालाई चुनावी टिप्स दिँदै आरजुले भनिन्, ‘म त फसेको छु। साथीहरूले जहिले पनि घेरेर राख्ने, मतदाता भेट्न नपाउने। घर-घर जाने र भोट माग्ने हो।’
आरजु ०७४ को प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार भए पनि एमाले उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन्। त्यसबेला आफू घर-घर पुगेर मत माग्न नपाएको र सभाहरू मात्रै गर्दा मतदाता भेट्न र भोट माग्न नपाएको कुरा उनले सुनाइन्।
यसपछि बोल्ने पालो आयो मेयर उम्मेदवार सिंहको। उनले काठमाडौंलाई सुशासन दिन चाहेको बताइन्। उनले पनि आफू राजनीतिमा कहिलेदेखि आएको र के-के काम गरेको भन्नेबारे जानकारी गराइन्।
‘मैले ०३३ सालमा कांग्रेस सदस्यता लिएको हुँ। त्यसबेला पार्टी प्रतिबन्धित थियो- चार वटा रूमालभित्र लुकाएर पार्टी सदस्यता राख्नुपर्थ्यो,’ उनले भनिन्, ‘युवा अवस्था मेरो राजनीतिमै बितेको हो। त्यसबेलासम्म कांग्रेसका नेता चिन्थें तर प्रकाशमानलाई चिनेको पनि थिइनँ।’
आफूले नेविसंघको राजनीति गर्दाका कुरा स्मरण गर्दै उनले बिपी बिरामी परेका बेला चन्दासमेत उठाउन सक्रियतापूर्वक खटेको बताइन्।
‘राजनीतिमा मैले पद लिइनँ होला तर मैले राजनीति छाडेको थिइनँ,’ उनले भनिन्, ‘म चाक्सीबारी भित्रिएपछि भात मात्रै पकाएर बसिनँ। मैले सबैलाई सहयोग गरें, मंगला आमाको निधनपछि महिला संघको सल्लाहकार भएर अहिलेसम्म पनि काम गरिरहेँ।
नेताका श्रीमती राजनीतिमा आउँदा अझै पनि समाजले पचाउन नसकेको उनको भनाइ छ। ‘यहाँ इन्जिनियरको श्रीमती इन्जिनियर भए आहा! कस्तो राम्रो जोडी भन्छौं,’ उनले भनिन्, ‘नेताको श्रीमती नेता भयो भने उसको जति योगदान भए पनि हाम्रो समाजले अहिलेसम्म पचाएको छैन। आरजुलाई पनि, मलाई पनि त्यस्तै ट्याग लागेको छ।’
यसपछि सिर्जनाले ०४९ मा पिएल सिंह मेयर भएका बेलाका कुरा निकालेकी थिइन्। उनकाअनुसार पिएलले काठमाडौंमा राम्रो काम गरेका थिए। पिएल सिंहले काम गरे पनि जस भने पछि केशव स्थापितले लिने गरेको दाबी उनको थियो।
पिएलपछि केशव स्थापित ०५४ मा काठमाडौंको मेयर भएका थिए। अहिले पनि नेकपा एमालेले स्थापितलाई नै महानगरको मेयर उम्मेदवार बनाएको छ। सिर्जना र स्थापित आमनेसामने भएका छन्।
प्रतिस्पर्धी स्थापितका बारेमा सिर्जनाले टिप्पणी गर्दै पिएल सिंहले गरेका कामको जस लिने गरेको आरोप लगाइन्।
‘केशव स्थापितले यो गरेँ त्यो गरेँ भन्नुहुन्छ, त्यो सबै पिएल सिंहले जम्मा पारेको पैसाले हो,’ सिर्जनाले भनिन्, ‘केशव स्थापितलाई पिएल सिंहको नाम लिनुस् न भन्यो भने मेरो छातीमै उहाँ हुनुहुन्छ भन्नुहुन्छ तर कहीँ नाम लिने होइन। काम गरेकालाई त काम गरेको हो भन्न सक्नुपर्छ नि!’
यसपछि उनले आफ्ना एजेन्डाबारे सिलसिलावद्ध रूपमा कुरा राख्न थालिन्। उनले काठमाडौंमा महिलाको सुरक्षाको अनुभूति नभएको बताइन्।
‘म ४५ वर्ष भयो काठमाडौंमा बसेको। यहाँको संस्कृति र सभ्यताबारे म परिचित छु। टोलटोलबारे थाहा छ, स्थानीयसँग घुलमिल पनि छु,’ उनले भनिन्, ‘महिला दिदीबहिनीहरू राति हिँड्दा यहाँ सुरक्षा छैन म सुरक्षाको प्रत्याभूति दिलाउँछु।’
गृहणी र विदुरलाई भत्ता
उनले काठमाडौं महानगरमा बसोबास गर्ने गृहणीलाई भत्ता दिनुपर्ने बताएकी छन्।
‘घरमा बस्ने महिलाको श्रमको सम्मान हुनुपर्छ। आर्थिक रूपमा आत्मनिर्भर गर्न थुप्रै कार्यक्रम ल्याउनुपर्छ। गृहिणी भत्ता दिनुपर्छ,’ उनले भनिन्, ‘एकल महिला, वृद्ध, अपांग भत्ता त छ अब म मेयर भएपछि गृहणी भत्ता दिन थाल्छु।’
उनले यस्तो भत्ता दिने व्यवस्था गर्न आफूले पहिले पनि आग्रह गर्दै आएको बताइन्। छेवैमा रहेकी उपमेयर हरिप्रभा खड्गी तिर हेर्दै उनले भनिन्, ‘महानगरको बजेट एउटा मन्त्रालयको जति नै छ। त्यसैले गृहणी भत्ता दिनुपर्छ। मैले हरिप्रभा बैनीलाई पनि यो कुरा भनेको थिएँ। म मेयर भएपछि यो कार्यक्रम लागू गर्छु।’
उनले महिलालाई मात्रै हेरेर नपुग्ने भन्दै विदुर (श्रीमतीको निधन भएका) पुरूषलाई पनि भत्ताको व्यवस्था गर्ने बताइन्।
नि:शुल्क खानेपानी र शौचालय
उनले सार्वजनिक स्थलमा खानेपानी र शौचालयको व्यवस्थापन गर्ने बताइन्।
‘म समुदायसँग हातेमालो गरेर शुद्ध खानेपानी र नि:शुल्क शौचालय जान पाइने व्यवस्था गर्छु,’ उनले भनिन्, ‘बाटोमा पिसाब च्याप्यो भने कहाँ जाने? विद्यार्थी र श्रमिक कहाँ जाने पैसा पनि हुँदैन। त्यसैले खानेपानी र शौचालयको व्यवस्था पैसाविनै पनि प्रयोग गर्ने व्यवस्था गर्छु।’
टोलटोलमा रातभरि बत्ती र सिसी क्यामेरा
सिर्जनाले टोलटोलमा रातभरि बत्ती बल्ने व्यवस्था मिलाउने बताएकी छन्। सबै टोलमा सिसी क्यामेरा जडान गर्ने उनको योजना छ।
‘म एक रात काठमाडौंमा हिँड्छु,’ उनले भनिन्, ‘अनि म त एक्लै हिँडे तपाईंहरू पनि हिँड्नुस् भनेर दिदीबहिनीहरूलाई भन्छु। काठमाडौं सुरक्षित सहर हो भन्ने म देखाउन चाहन्छु। पत्रकार र होटललगायत क्षेत्रमा काम गर्ने दिदीबहिनीहरू रातिराति हिँड्नुपर्ने हुन्छ, काठमाडौं सुरक्षित सहर बनाउने हो।’
उनले आफू मेयर भएमा होटल तथा रेष्टुरेन्टलाई २४ सै घन्टा खुला रहने वातावरण महानगरले बनाउने पनि बताएकी छन्।
श्रमिकका छोराछोरी राख्न डे-केयर सेन्टर
उनले श्रमिकका छोराछोरी राख्नका लागि शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइने बताएकी छन्।
महानगरले हेर्ने गरी ९१ सामुदायिक विद्यालयमा यस्तो केन्द्र रहने उनको भनाइ छ।
‘काठमाडौंमा धेरै श्रमिक महिलाहरू हुनुहुन्छ। दिनमा आठ सय जति ज्याला हुने रहेछ, तीन सय त शिशु स्याहार केन्द्रमा बच्चा राख्न शुल्क तिर्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘महानगरभित्रका ९१ सामुदायिक विद्यालयमा थौरै शूल्क लिने गरी स्याहार केन्द्र सञ्चालनमा आउँछ। त्यसले रोजगारीसँगै श्रमिक महिलाका बालबालिकाको हेरचाह पनि गर्छ।’
उनले बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म चल्ने शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइने पनि बताइन्। साथै उनले हरेक वडामा कम्तीमा एउटा जेष्ठ नागरिक भवन बनाउने पनि बताइन्।
विष्णुमती र बागमतीमा पौडी खेल्न मिल्ने बनाउँछु
सिर्जनाले विष्णुमती र बागमतीलाई सफा बनाउने योजना पनि सुनाएकी थिइन्।
‘गणेशमान सिंहले विष्णुमती र बागमतीमा म पौडी खेल्थे भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘अहिले त विष्णुमती र बागमतीको किनारामा जान पनि सकिन्न। म मेयर भएँ भने काठमाडौं सफा भएको देख्न सक्नुहुन्छ। नदीनाला पनि सफा हुन्छन्। ट्राफिक व्यवस्थापन पनि राम्रो हुनेछ।’
आफ्ना योजनाबारे सुनाएपछि सिर्जना फेरि आफूले मेयरको टिकट कसरी पाएको हो भन्ने पृष्ठभूमि सुनाइन्।
‘मैले काठमाडौंको मेयर महिला हुनुपर्छ भनेर ट्विट गरेको थिएँ। महिला संघले पनि मेरो नाम प्रस्ताव गर्यो। कहाँ-कहाँबाट प्रेसर हुन थाल्यो मेयरमा मेरो नाम उपयुक्त भनेर,’ उनले भनिन्, ‘मैले मेरो नाम मेयरमा सिफारिस गरिदिनुस् भनेर महानगर सभापति नीलकाजी शाक्यलाई एकपटक भनेको पनि होइन।’
टिकट लिन प्रकाशमानले नेताहरूसँग पहल गरे कि गरेनन् भन्ने आरजुले जिज्ञासा राखेकी थिइन्। तर यसबारे प्रकाशमानले भने आफूले बोल्नै नपरेको प्रसंग सुनाएको सिर्जना बताउँछिन्।
‘प्रकाशमानले पनि भन्नुभयो- मैले तिम्रोबारेमा केही बोल्नै परेन,’ प्रकाशमानका कुरा उद्धृत गर्दै सिर्जनाले भनिन्, ‘शेरबहादुर दाइ बोल्ने, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, किशोरसिंह राठौर, गगन थापा, उमाकान्त चौधरीलगायतले तिम्रोबारे बोले। मैले केही बोल्नै परेन।’
पार्टीले गरेको विश्वासलाई डगमगाउन नदिन प्रकाशमानले सिर्जनालाई आग्रह गरेका थिए। ‘तिम्रो क्षमता छ भनेर पार्टीले विश्वास गरेको छ त्यो डगमगाउन नदिनू,’ प्रकाशमानले भनेका छन्।
उपमेयर हरिप्रभा खड्गीले पनि सिर्जनालाई सुझाव दिइन्। आफ्नो कार्यकालमा कांग्रेसको बहुमत नहुँदा विभिन्न एजेन्डा पारित नभएको उल्लेख गर्दै हरिप्रभाले वडा सदस्यदेखि नै पार्टीले जित्नुपर्नेमा सबैले ध्यान दिनुपर्ने बताएकी थिइन्।
‘मेयर, उपमेयर मात्रै जितेर हुन्न। आफ्ना योजना लागू गर्न वडा सदस्य, अध्यक्षदेखि बहुमत नै हुनुपर्ने रहेछ,’ हरिप्रभाले यस्तो सुझाव दिएको बताउँदै सिर्जनाले भनिन्, ‘ममात्रै जितेर हुन्न। हाम्रो गठबन्धनले जित्नुपर्छ। पार्टीका साथीहरूले जित्नुपर्छ। त्यसपछि मात्रै हामीले काठमाडौंलाई सुन्दर बनाउन सक्छौं।’