एकातिर राप्रपासहित सबै मुख्य दलहरूको मोर्चाबन्दी, अर्कातिर एमाले एक्लै मैदानमा। एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरसमेत रहेको दमक नगरमा यस पटकको स्थानीय निर्वाचनको प्रतिष्पर्धा रोचक बन्ने भएको छ।
२०४६ पछिका सबै स्थानीय निर्वाचनमा एमालेले एकलौटी जित हासिल गर्दै आएको दमकमा यसपटक उसले राप्रपा, कांग्रेस, माओवादी, जसपा लगायतका दलहरूको संयुक्त मोर्चासँग प्रतिष्पर्धा गर्नुपर्ने भएको छ। गठबन्धनलाई पनि एमालेको बलियो किल्लामा मोर्चालाई बलियो सावित गर्नुपर्ने चुनौती छ। यो रोचक चुनावी प्रतिष्पर्धामा गठबन्धनको नेतृत्व मेयरका रूपमा राप्रपाका राम थापाले गर्दैछन् भने एमालेबाट गीता अधिकारी नेतृत्वको टिम मैदानमा छ। अधिकारी हालकी उपमेयरसमेत हुन्।
केही दिनअघिसम्म झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी सबैको तानातानमा थियो। पछिल्लो निर्वाचनको नतिजामा दोस्रो धेरै मत ल्याएको राप्रपालाई आफ्नो पक्षमा उभ्याउन सके चुनाव सहजै जितिने आशा पाँच दलीय गठबन्धन र एमाले दुबैलाई थियो। त्यसैले दुबै पक्ष राप्रपा मनाउने प्रयासमा प्रतिष्पर्धा गरे जसरी दौडधुपमा थिए।
सत्ता गठबन्धन र एमाले दुबैको तानातानमा रहेको राप्रपा भने जसले मेयर दिन्छ, उसैसँग चुनावी तालमेल गर्ने अडान लिएर दुबैतिर संवादमा थियो। राप्रपा मनाउने दौड सत्ता गठबन्धनका दलहरूले जिते। राप्रपालाई मेयर दिएर भए पनि उनीहरूले गठबन्धन बनाए, जसलाई दमकमा ‘महागठबन्धन’ भन्न थालिएको छ। राप्रपालाई मेयर दिन नसकिने एमाले अडानले राप्रपालाई सत्ता गठबन्धननजिक पुर्याएको थियो।
२०४९ यताका तीन वटै स्थानीय निर्वाचन जितेको र अध्यक्ष केपी शर्मा ओलीको गृहनगरसमेत भएका कारण मेयर पद नै राप्रपालाई सुम्पिन नसक्ने बाध्यता एमालेलाई थियो। त्यसैले राप्रपासँगको चरणबद्ध छलफलमा एमालेले ‘उपमेयर दिन सकिने, मेयर दिन नसकिने’ बताएको थियो।
मेयर दिन नसकिने एमालेको बाध्यता र मेयर नभई नहुने राप्रपाको अडान पाँच दलीय गठबन्धनका लागि भने एमाले एक्ल्याउने अवसर बन्यो। गठबन्धनले अन्ततः मेयर राप्रपालाई दिएर तालमेल गर्ने विकल्प रोज्यो।
राप्रपाका प्रदेश अध्यक्ष राम थापालाई प्रमुख र कांग्रेसकी रेगिना भट्टराईलाई उपप्रमुखको उम्मेद्वार बनाएर ‘महागठबन्धन’ चुनावी मैदानमा होमिएको छ। १० वटा वडा रहेको दमकमा राप्रपाले मेयरसहित दुई वडा, कांग्रेसले उपप्रमुखसहित ४ वटा वडा र माओवादीले ४ वटा वडामा उम्मेदवार खडा गरेका छन्। नेकपा (एकीकृत समाजवादी) झापामा गठबन्धनबाट बाहिरिसकेको छ भने जनता समाजवादी पार्टीले वडा सदस्यहरू लिएर आफूलाई गठबन्धनमै उभ्याएको छ।
एमाले हालकी उपमेयर गीता अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखको उम्मेदवार बनाएर एक्लै चुनावी मैदानमा छ। दमकमा शक्तिशाली रूपमा आफूलाई उभ्याएर अहिलेसम्मका सबै चुनाव जितेको एमालेलाई यसपटक भए जति मुख्य विपक्षी दलहरूले मोर्चा बनाएरै घेराबन्दी गरेका छन्।
यस्तो घेराबन्दीले चुनावी नतिजामा कुनै असर नपार्ने एमाले नेताहरू दाबी गर्छन्।
‘अरू सबै एकातिर र हामी एक्लै एकातिर हुँदा पनि हामी सजिलै चुनाव जित्दैछौं,’ दमकका एमाले नेता होम थापाले सेतोपाटीसँग भने, ‘यहाँको हाम्रो वर्चश्व पुनःस्थापित गर्नेछौं।’
एमालेबाट मेयरको उम्मेदवार बनेकी गीता अधिकारी पनि नेता थापासँगै सही थाप्छिन्।
‘आजको विकसित र समृद्ध दमक एमालेकै देन हो,’ अधिकारीको भनाइ छ, ‘यहाँ हाम्रो सांगठनिक पकड पनि बलियो छ। साथै स्थानीय, संघ र प्रदेश सरकारबाट भएका कामहरूको मूल्यांकन पनि जनताले राम्ररी गर्नुहुनेछ। यसर्थ हामीलाई गठबन्धनको कुनै चिन्ता छैन।’
एमाले नेताहरूले सार्वजनिक रूपमा यस्तो आत्मविश्वास देखाइरहँदा गठबन्धनभित्रका दलहरू पनि ढुक्क सुनिन्छन्।
एमालेविरूद्ध मुलुकव्यापी गठबन्धनमा रहेका पाँच दलका लागि दमकको मेयर पद ठूलो नभएको, गठबन्धनमार्फत् आर्जित हुनसक्ने उपप्रमुखसहितका अन्य पदहरू नै उपलब्धि सावित हुने सम्भावनाका कारण राप्रपालाई मेयर दिएर एमालेविरूद्धको घेराबन्दी बलियो पारिएको गठबन्धनका नेताहरू बताउँछन्।
‘हामीसँग दमकमा गुमाउनका लागि केही थिएन,’ कांग्रेस दमकका उपसभापति युवराज खनालले सेतोपाटीसँग भने, ‘राप्रपासहितको महागठबन्धन बन्यो भने एमालेलाई सजिलै हराउन सकिन्छ भन्ने निष्कर्षपछि हामी राप्रपाको नेतृत्व स्वीकार्ने ठाउँमा पुग्यौं।’
यस्तो छ २०७४ को गणित
एमालेको परम्परागत गढ मानिने दमकमा गठबन्धनका दलहरूलाई उत्साही तुल्याउने एउटा मुख्य आधार २०७४ को चुनावी नतिजा नै हो। अन्य सबै दलहरूले विगतमा पाएको मत एकै ठाउँ मिसाउँदा एमालेभन्दा धेरै हुने आकलनका कारण उनीहरू दमकमा ‘नयाँ इतिहास’ कोरिने बताउँछन्।
२०७४ को स्थानीय निर्वाचनमा एमालेले दमकमा मेयर, उपमेयरसहित ८ वटा वडा जितेको थियो। बाँकी दुईवटा वडामा राप्रपा विजेता बनेको थियो। प्रमुख पदमा एमालेका रोमनाथ ओली १० हजार ८ सय ६ मत ल्याएर दोस्रोपटक विजेता बन्दा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापा ७ हजार ६ सय ५५ मत ल्याएर दोस्रो पटक ‘दोस्रो’ भएका थिए।
२०५४ को निर्वाचनमा पनि दमकमा रोमनाथ ओली मेयरमा निर्वाचित हुँदा थापा नै निकटतम प्रतिष्पर्धी थिए।
‘यसपटक हामी इतिहास रच्दैछौं,’ गठबन्धनका मेयर उम्मेद्वार राम थापाले भने, ‘पहिलो कुरा दमकका जनता यसपटक हामीलाई न्याय दिन चाहन्छन्। दोस्रो कुरा एमालेको एकल शासनमा मौलाएको भ्रष्टाचार, अनियमितताको अन्त्य पनि यहाँका जनताले खोजेका छन्।’
आफ्नो जित निश्चित रहेको बताउने उम्मेदवार थापाले अघिल्लो चुनावमा पाएको मतको हिसाबकिताब पनि सुनाए। यो हिसाब सुनाउँदा उनले एमालेभन्दा ‘धेरै बढी मत गठबन्धनमा रहेको’ निष्कर्ष निकाले। पछिल्लो चुनावमा थापाले दोस्रो धेरै मत ल्याउँदा माओवादी तेस्रो र कांग्रेस चौथो बनेका थिए। माओवादीले ६ हजार ८ सय ९८ मत ल्याउँदा कांग्रेसले ५ हजार ५ सय ३९ मत पाएको थियो।
‘पछिल्लो चुनावको गणित र जनताले खोजेको परिवर्तन दुबै कुराले हामी बलियो अवस्थामा छौं,’ गठबन्धनबाट उपप्रमुखको उम्मेदवार रहेकी कांग्रेसकी रेगिना भट्टराईले भनिन्, ‘दमकमा लामो समयदेखि एमालेको एकतन्त्रीय शासन छ। जनता यसबाट मुक्ति चाहन्छन्। जनताको त्यही भावनाअनुसार हामीले गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेका हौं।’
एमाले नेताहरू गठबन्धन दलहरूभित्र समस्या नै समस्या रहेको तर आफ्नो पार्टीमा कुनै ‘अन्तरविरोध’ नरहेको बताउँदै चुनाव सजिलै जितिने दाबी गरिरहेका छन्।
‘अहिले जसरी राप्रपाबाट राम थापालाई अघि सारिएको छ, यो राप्रपा पुरानो अवस्थाको छैन, विभाजित भइसकेको छ ’, एमाले नेता होम थापाले थपे, ‘अहिलेको राम थापा पुरानो राम थापा पनि होइनन्। उहाँको प्रभाव घटिसकेको छ। एमाले विगतमा भन्दा एकताबद्ध छ। अन्तरविरोध छैन। हामीसँग अहिलेको विकसित दमक बनाएको विरासत पनि छ। त्यसैले एमालेलाई जीतबाट कसैले रोक्न सक्नेछैन।’
गठबन्धनका मेयर उम्मेदवार थापा र उपमेयर उम्मेदवार भट्टराई भने ‘टिममा कुनै समस्या नभएको’ दाबी गर्छन्।
‘दमकमा दशकौंदेखिको एकाधिकार तोड्ने कुरा मुख्य प्राथमिकता भएको छ,’ भट्टराईले भनिन्, ‘यसक्रममा दलहरू एकताबद्ध अवस्थामा छौं। यसपटक दमकबाट परिवर्तनको सुरुआत हुँदैछ।’