पाँच वर्षअघि २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बनेको थियो।
त्यो बेला एमालेले ७५३ स्थानीय तहमध्ये २९४ स्थानमा मेयर/गाउँपालिका प्रमुखमा जितेको थियो। त्यो भनेको ३९ प्रतिशत हो।
सो निर्वाचनमा नेपाली कांग्रेसले २ सय ६६ स्थान (३५ प्रतिशत), माओवादी केन्द्रले १ सय ६ स्थान (१४ प्रतिशत ) जितेको थियो। त्यस्तै, संघीय समाजवादी फोरम(हालको जसपा) ले ३४ स्थानमा र राजपा (हालको लोसपा) ले २५ स्थान जितेको थियो। मधेसी जनअधिकार फोरम लोकतान्त्रिक(हाल कांग्रेसमा समाहित) ले १८ स्थानमा जितेको थियो।
केही सीमित स्थानमा गठबन्धन गर्नबाहेक तीन वटै प्रमुख पार्टीहरू त्यो बेला एक्ला-एक्लै चुनाव लडेका थिए।
यसपालि भने राजनीतिक परिदृष्य फरक छ। सत्तासिन पाँच प्रमुख दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले बहुसंख्यक ठाउँमा एमालेका विरूद्ध गठबन्धन गरेका छन्।
गठबन्धनविरूद्ध कतिपय ठाउँमा सत्तासिन दलहरूका कार्यकर्ताले विद्रोह गरेर चुनावमा उठे पनि अन्तिम समयमा धेरैले उम्मेदवारी फिर्ता लिने सम्भावना छ।
अर्कोतिर केही समयअघिसम्म एक्लै मैदानमा उत्रिने र चुनाव लड्न आफूलाई कसैसँग गठबन्धन गर्नु आवश्यक नरहेको बताउने एमालेले पनि राप्रपा, परिवार दल, लोसपा लगायतका दल र केही स्वतन्त्र समूहहरूसँग पनि गठबन्धन गरेको छ। तर पनि बहुसंख्यक ठाउँमा एमाले एक्लै चुनाव लड्दैछ।
यसपालिको चुनावी परिणाम कस्तो आउला? अहिले नै त्यसको आकलन गर्न सजिलो छैन। तर पनि २०७४ सालको चुनावलाई आधार मान्ने हो भने केही अनुमान गर्न सकिन्छ।
२०७४ सालको स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले केही ठाउँमा गठबन्धन गरेका थिए।
सोही वर्ष भएको संसदीय निर्वाचनमा एमाले र माओवादीबीच १६५ संसदीय निर्वाचन क्षेत्रमै गठबन्धन भएको थियो। ती दुवै समयका गठबन्धनको परिणामले के देखाउँछन् भने दलहरूबीच सिट बाँडफाँटमा सुरूमा असन्तुष्टि देखिए पनि गठबन्धनका पक्षमा मत पर्छ र दलहरूलाई फाइदा पुग्छ।
२०७४ सालकै अनुपातमा यसपालि गठबन्धनमा मत जान्छ भन्ने यकिन छैन। गठबन्धनभित्रकै दलहरूमाझ कैयन् ठाउँमा मतभेद देखिन्छ। तर पनि विगतका चुनावले गठबन्धनको पक्षमा मत खस्छ भन्ने प्रशस्त संकेत गर्छन्।
यदि यसपालि पनि कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले आफ्ना समर्थकहरूको मत गठबन्धनका पक्षमा खसाल्न सके भने स्थानीय सरकारमा एमालेको स्थिति कस्तो होला?
२०७४ सालमा २९४ स्थानमा जितेको एमाले कति स्थानमा खुम्चिएला?
२०७४ सालको तथ्यांकले भन्छ- एमालेले जितेका २९४ स्थानमध्ये २०५ मा गठबन्धनमा आबद्ध दलहरूको बहुमत पुग्छ। बाँकी ८९ स्थानमा भने गठबन्धन दलभन्दा एमाले एक्लैको मत धेरै छ।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीबीच कतिपय स्थानमा चुनावी तालमेल भएको थियो।
भरतपुर महानगरपालिकामा बाहेक अन्यत्र कतै पनि एमाले र माओवादीको तालमेल गर्ने निर्णय केन्द्रले गरेको थिएन। तर जिल्ला-जिल्लामा कांग्रेस-माओवादीले चुनावी तालमेल गरेका थिए।
ताप्लेजुङ, तेह्रथुम, दोलखा, मकवानपुर, धादिङ, अछाम, गुल्मी लगायतका जिल्लामा कतिपय स्थानीय तहहरूमा उनीहरूले चुनावी तालमेल गरेका थिए।
तालमेलले कांग्रेसलाई धेरै फाइदा भएको थियो। धेरै ठाउँमा कांग्रेस विजयी भयो भने माओवादी केन्द्र कांग्रेसभन्दा कम स्थानमा विजयी भएको थियो।
त्यो बेला कांग्रेस र माओवादीले मात्रै होइन लमजुङका अधिकांश स्थानीय तह, तनहुँका केही स्थानीय तहमा एमाले र माओवादीको समेत चुनावी तालमेल भएको थियो।
एमाले र माओवादीले स्थानीय आवश्यकताका आधारमा तालमेल गरेका थिए। काठमाडौं र ललितपुर महानगरपालिकामा एमालेले राप्रपासँग तालमेल गरेको थियो। उसले विराटनगर महानगरपालिकामा तत्कालीन विजयकुमार गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग तालमेल गरेको थियो।
माओवादी केन्द्रले तत्कालीन संघीय समाजवादी फोरम अनि अहिलेको जनता समाजवादी पार्टी (जसपा) सँग विराटनगर, धरान लगायतका पालिकाहरूमा तालमेल गरेको थियो।
पूर्वी पहाडी जिल्लाका कतिपय स्थानीय तहमा समेत उनीहरूको तालमेल भएको थियो।
कालीकोटको महावै गाउँपालिकामा भने माओवादीविरूद्ध एमाले र कांग्रेसबीच समेत चुनावी तालमेल भएको थियो।
यसपटक भने सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी,जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच कसिलो चुनावी गठबन्धन छ।
सत्ता गठबन्धनका दलहरूले सत्ता बाहिरका दलसँग तालमेल नगर्ने निर्णय गरिसकेका छन्।
नेकपा एमालेले पनि ठाउँ हेरेर राप्रपा, लोसपा लगायतका दलहरूसँग चुनावी तालमेल गरेको छ।
सत्तासिन दलहरूले सबैतिर गठबन्धन बलियो बनाउन सके भने त्यसको सिधा असर एमालेलाई पर्छ। किनकि कांग्रेस, एमाले, माओवादीको त्रिपक्षीय प्रतिस्पर्धा हुने ठाउँमा एमालेले हार्ने निश्चितजस्तै हुन्छ।
जस्तो: गत निर्वाचनमा उदयपुरका ८ मध्ये ६ स्थानमा एमालेले जितेको थियो। तर कांग्रेस र माओवादीको मत जोड्ने हो भने एमालेको मत थोरै हुन्छ।
उदयपुरगढी गाउँपालिकामा एमालेका मानबहादुर केप्छाकी मगरले ४ हजार ४ सय २५ मत ल्याएर विजय हासिल गरेका थिए।
कांग्रेसका जीतबहादुर खड्काले २ हजार ९ सय ८१ र माओवादीका उम्मेदवार देवकुमार गिरीले १ हजार ८ सय ६७ मत ल्याएका थिए। यो पालिकामा कांग्रेस र माओवादीको मतलाई आधार मान्ने हो भने एमालेको मत थोरै हुन्छ।
बाराको जितपुर-सिमरा उपमहानगरपालिकामा एमाले उम्मेदवार १४ हजार ८ सय ६५ मत ल्याएर विजयी भएका थिए। दोस्रो भएको नेपाली कांग्रेसले ११ हजार ९ सय ९५ मत ल्याएको थियो भने तेस्रो भएको नेकपा माओवादी केन्द्रले ११ हजार २ सय ५१ मत ल्याएको थियो।
यो उपमहानगरपालिकामा यसपटक गठबन्धनको तर्फबाट माओवादी केन्द्रले मेयरमा उम्मेदवारी दिएको छ भने नेपाली कांग्रेसले उपमेयरमा उम्मेदवारी दिएको छ।
गठबन्धनमा रहेका दलहरूले एक अर्कालाई मत दिए भने एमालेलाई अप्ठ्यारो पर्ने निश्चित छ।
तालमेल हुँदैमा निर्वाचन जितिन्छ भन्ने पनि होइन। तर तालमेल गर्ने दलहरूकै जित्ने सम्भावना धेरै हुन्छ।
जस्तो: अछामको मंगलसेन नगरपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो। तर दुवै पदमा एमाले विजयी भयो। एमाले उम्मेदवारले ४ हजार ६ सय ९१ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले ४ हजार ५ सय ५३ मत ल्याएका थिए।
उपमेयरमा एमालेका उम्मेदवारले ४ हजार ९ सय ११ मत ल्याएका थिए। माओवादी केन्द्रका उम्मेदवारले ३ हजार ७६ मत पाएका थिए।
अछामकै मल्लेख गाउँपालिकामा माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष जितेको थियो। १० मध्ये ३ स्थानीय तहमा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए। ३ मध्ये २ स्थानीय तहमा गठबन्धन विजयी भएको थियो।
तर माओवादी र कांग्रेस लगायतका दल मिल्ने बित्तिकै सबै ठाउँमा उनीहरूले एमालेलाई हराउँछन् भन्ने हैन। कैयन् ठाउँमा यी दुई पार्टीको मत जोड्दा पनि एमालेको मत धेरै हुन्छ।
उदाहरणका लागि: तेह्रथुमका ६ स्थानीय तहमा एमालेले ५ स्थानमा विजय हासिल गरेको थियो। दुई स्थानीय तहमा कांग्रेस र माओवादीको गठबन्धन भएको थियो तर एमाले उम्मेदवार नै विजयी भए।
एमाले, कांग्रेस र माओवादी छुट्टछुट्टै लडेको अन्य तीन स्थानीय तहमा समेत एमालेको मत कांग्रेस र माओवादीको भन्दा धेरै छ। अर्थात् एमालेले जितेका तेह्रथुमका सबै स्थानीय तहमा एमालेको मत कांग्रेस र माओवादीको भन्दा धेरै छ।
२०७४ सालको मतपरिणामका आधारमा देशभर यस्ता ८९ नगर र गाउँपालिका छन् जहाँ माओवादी र कांग्रेसको मत जोडे पनि एमालेको मत नै धेरै हुन्छ।
काठमाडौं र भक्तपुरमा समेत कांग्रेसलाई माओवादी केन्द्रको भोटले जित निकाल्न पुग्दैन।
दोलखा, मकवानपुर, धादिङ लगायतका जिल्लामा समेत एमालेलाई जित्न गठबन्धन गर्दा समेत कठिन हुन्छ। त्यसको लागि एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले कति प्रभाव पार्छ भन्ने महत्वपूर्ण हुन्छ।
पोखरा,स्याङ्जा,पाल्पा लगायतका जिल्लाहरूमा समेत माओवादीको मत निर्णायक छैन। तर २०७४ सालयता एमालेमा धेरै उथलपुथल आएको छ।
नेकपा माओवादी केन्द्रसँगको एकतापछि नेकपा गठन अनि नेकपाको विघटन भएर एमाले समेत विभाजन भइसकेको छ। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीको एकता भंग गरेपछि कतिपय माओवादी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन्। वडादेखि केन्द्रसम्मै हरेक कमिटीका केही भए पनि सदस्यहरू एमाले गएका छन्। त्यसको घाटा माओवादी केन्द्रलाई अवश्य हुनेछ। एमाले पनि विभाजनको पीडा व्यहोरेको छ।
एमालेबाट विभाजन भएर माधव नेपलाको नेतृत्वमा नेकपा एकीकृत समाजावादी पार्टी बनेको छ।
स्थानीय तहका कति जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादी रोजेका छन् भन्ने यकिन छैन। किनकि दुई पार्टीमा आउने जाने चलिरहेको छ। जस्तो: कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोक चन्द चैत २० गते मात्रै एकीकृत समाजावादीमा आबद्ध भएका छन्।
एमालेकै भनाइलाई आधार मान्ने हो भने पनि स्थानीय निकायमा निर्वाचित १० प्रतिशत प्रतिनिधि एकीकृत समावादीमा गएका छन्। त्यसैले, एमालेले यसपालि विभाजनको असरले पनि केही व्यहोर्ने छ।
जस्तो: इलामको सूर्योदय नगरपालिकामा एमालेले १२ हजार ९ सय १९ मत ल्याउँदा कांग्रेसले १० हजार ३ सय २९ मत पाएको थियो। माओवादी उम्मेदवारले १ हजार ५ सय ४१ मत मात्रै पाएका थिए। तर यो नगरपालिकाका मेयर रनबहादुर राईले एकीकृत समाजवादी रोजेका छन्। उनीसँगै ९ जना वडा अध्यक्षले एकीकृत समाजवादी रोजेका छन्। यसको असर पक्कै पनि एमालेलाई पर्नेछ।
त्यसैगरी, एकीकृत समाजवादी सुदूरपश्चिममा केही बलियो छ। यसले एमालेलाई अझै क्षति पुग्न सक्छ।
जनता समाजवादी पार्टी(जसपा) ले गर्दा एमालेलाई मधेस प्रदेशमा अझै नोक्सान पर्न सक्छन्। यद्यपि माओवादीको एउटा शक्ति एमाले प्रवेश गरेको छ। त्यसको केही राहत भए पनि आफूबाट विभाजन भएको एकीकृत समाजवादी पार्टी अनि गठबन्धनसमेत हुँदा एमालेले चुनौती र क्षति व्यहोर्ने छ।
गठबन्धनका दललाई कति फाइदा पुग्छ र एमालेलाई कति क्षति पुग्छ, त्यो भने अन्तिम मत परिणामले मात्र देखाउनेछ।
२०७४ मा एमाले र गठबन्धनले पाएको मत हेर्नुस् सूची:
क्र.सं. | | पालिका | पाएको मत | मतान्तर | मतान्तर |
जिल्ला | एमाले | गठबन्धन | प्रतिशत |
१ | ताप्लेजुङ | फुङ्लिङ नगरपालिका | ३८९५ | ३६०६ | २८९ | ७.४२ |
२ | | याङवरक गाउँपालिका | २५१७ | २१८१ | ३३६ | १३.३५ |
३ | पाँचथर | कुम्मायक नगरपालिका | ३२२६ | २४१३ | ८१३ | २५.२० |
४ | | मिक्लाजुङ गाउँपालिका | ३७४८ | ३४४९ | २९९ | ७.९८ |
५ | | हिलिहाङ गाउँपालिका | ४१६९ | ३७९३ | ३७६ | ९.०२ |
६ | | याङवरक गाउँपालिका | ३७४८ | ३४४९ | २९९ | ७.९८ |
७ | इलाम | इलाम नगरपालिका | ११०३३ | १०२३१ | ८०२ | ७.२७ |
८ | | माइ जोगमाई गाउँपालिका | ५६९६ | ४६५७ | १०३९ | १८.२४ |
९ | | सन्दकपुर नगरपालिका | ४५२९ | २६९४ | १८३५ | ४०.५२ |
१० | | सूर्योदय नगरपालिका | १२९१९ | ११८७० | १०४९ | ८.१२ |
११ | झापा | अर्जुनधारा नगरपालिका | १३८७९ | १२१४७ | १७३२ | १२.४८ |
१२ | | कन्काई नगरपालिका | ८४१६ | ६८३३ | १५८३ | १८.८१ |
१३ | | सिब सताक्षी नगरपालिका | १३४३९ | १२२२५ | १२१४ | ९.०३ |
१४ | संखुवसभा | खाँदबारी नगरपालिका | ५५६३ | ५५५८ | ५ | ०.०९ |
१५ | तेह्रथुम | आठराई गाउँपालिका | ३८४७ | ३७४४ | १०३ | २.६८ |
१६ | | छथर गाउँपालिका | ३४२६ | ३२०६ | २२० | ६.४२ |
१७ | | फेदाप गाउँपालिका | ३४३९ | ३२२० | २१९ | ६.३७ |
१८ | | मेन्छायोम गाउँपालिका | १६८३ | १६३५ | ४८ | २.८५ |
१९ | | म्याङ्लुङ नगरपालिका | ३८९० | ३७६१ | १२९ | ३.३२ |
२० | भोजपुर | टेम्के मैयुम् गाउँपालिका | २७९० | २६३२ | १५८ | ५.६६ |
२१ | | हतुवागढी गाउँपालिका | ३४९६ | ३२६० | २३६ | ६.७५ |
२२ | धनकुटा | खाल्साछिन्ताङ सहिदभूमी गाउँपालिका | ४०५४ | ३०९० | ९६४ | २३.७८ |
२३ | | पाख्रीबास नगरपालिका | ४४३९ | २६३४ | १८०५ | ४०.६६ |
२४ | | महालक्ष्मी नगरपालिका | ४८९७ | ३९०२ | ९९५ | २०.३२ |
२५ | | साँघुरीगढी गाउँपालिका | ४४४९ | ४०२८ | ४२१ | ९.४६ |
२६ | सुनसरी | बराह नगरपालिका | १४४४६ | १४२२७ | २१९ | १.५२ |
२७ | सोलुखुम्बु | खुम्बुपासाङल्यामू गाउँपालिका | १४२४ | १४०२ | २२ | १.५४ |
२८ | दोलखा | कालिञ्चोक गाउँपालिका | ४६०१ | ४२०२ | ३९९ | ८.६७ |
२९ | | गौरीशंकर गाउँपालिका | ४२४९ | ३४४० | ८०९ | १९.०४ |
३० | | तामाकोशी गाउँपालिका | ४६१५ | ३८२० | ७९५ | १७.२३ |
३१ | | भिमेश्वर नगरपालिका | ६८५३ | ५८१५ | १०३८ | १५.१५ |
३२ | | मैलुङ गाउँपालिका | ४४७५ | ४३८६ | ८९ | १.९९ |
३३ | रामेछाप | लिखु गाउँपालिका | ४५४९ | ४३४९ | २०० | ४.४० |
३४ | धनुषा | मिथिला नगरपालिका | ६७४० | ५१७८ | १५६२ | २३.१८ |
३५ | | मुखियापट्टि मुसहरमिया गाउँपालिका | ३५४० | २७०४ | ८३६ | २३.६२ |
३६ | रसुवा | गोसाइकुण्ड गाउँपालिका | १८२८ | १६३७ | १९१ | १०.४५ |
३७ | धादिङ | गजुरी गाउँपालिका | ४३२६ | ४००६ | ३२० | ७.४० |
३८ | | गल्छी गाउँपालिका | ६०५१ | ५४१७ | ६३४ | १०.४८ |
३९ | | थाक्रे गाउँपालिका | ८२३४ | ६६९० | १५४४ | १८.७५ |
४० | काठमाडौं | काठमाडौं महानगरपालिका | ६४९१३ | ५९२२५ | ५६८८ | ८.७६ |
४१ | | बुढानिकलकण्ठ नगरपालिका | १३२४६ | १२७१७ | ५२९ | ३.९९ |
४२ | भक्तपुर | चागुनारायण नगरपालिका | ८५१२ | ७५७५ | ९३७ | ११.०१ |
४३ | | सूर्यविनायक नगरपालिका | १२१३५ | ११५१९ | ६१६ | ५.०८ |
४४ | | मध्यपुर थिमी नगरपालिका | १४००० | १२०८७ | १९१३ | १३.६६ |
४५ | काभ्रेपलान्चोक | धुलिखेल नगरपालिका | ७९८१ | ७०२९ | ९५२ | ११.९३ |
४६ | | पनौती नगरपालिका | १२२५७ | १०४२९ | १८२८ | १४.९१ |
४७ | | बनेपा नगरपालिका | ११४०९ | ११०२९ | ३८० | ३.३३ |
४८ | मकवानपुर | हेटौडा उपमहानगरपालिका | २३१२४ | २२५०९ | ६१५ | २.६६ |
४९ | | भीमफेदी गाउँपालिका | ३८४२ | ३६९८ | १४४ | ३.७५ |
५० | | इन्द्रसरोबर गाउँपालिका | ३२०४ | २७६५ | ४३९ | १३.७० |
५१ | चितवन | राप्ती नगरपालिका | ११६१३ | ९७८७ | १८२६ | १५.७२ |
५२ | मनाङ | चामे गाउँपालिका | २१४ | १७३ | ४१ | १९.१६ |
५३ | | नेस्याङ गाउँपालिका | ६२७ | ४६१ | १६६ | २६.४८ |
५४ | कास्की | मादी गाउँपालिका | ४६३७ | ४३२९ | ३०८ | ६.६४ |
५५ | | रूपा गाउँपालिका | ४११२ | ३६७७ | ४३५ | १०.५८ |
५६ | | पोखरा महानगरपालिका | ६०११८ | ५९५८६ | ५३२ | ०.८८ |
५७ | तनहुँ | घिरिङ गाउँपालिका | ३७३० | ३४३८ | २९२ | ७.८३ |
५८ | | भीमाद नगरपालिका | ६४६४ | ६०८० | ३८४ | ५.९४ |
५९ | स्याङ्जा | आँधीखोला गाउँपालिका | ५०४१ | ३३०८ | १७३३ | ३४.३८ |
६० | | कालीगण्डकी गाउँपालिका | ५०८८ | ४६७६ | ४१२ | ८.१० |
६१ | | गल्याङ नगरपालिका | ८३६८ | ७४४३ | ९२५ | ११.०५ |
६२ | | पुतलीबजार नगरपालिका | १०२४९ | ९६५४ | ५९५ | ५.८१ |
६३ | | फेदीखोला गाउँपालिका | ३८०६ | २०८४ | १७२२ | ४५.२४ |
६४ | | विरूवा गाउँपालिका | ४४०३ | ३३५० | १०५३ | २३.९२ |
६५ | गुल्मी | ईश्मा गाउँपालिका | ५०५५ | ४००० | १०५५ | २०.८७ |
६६ | | मदाने गाउँपालिका | ४४२३ | ३६८२ | ७४१ | १६.७५ |
६७ | | मुसीकोटा गाउँपालिका | ६६६८ | ६३०० | ३६८ | ५.५२ |
६८ | पाल्पा | तानसेन नगरपालिका | १०४५० | ९२०४ | १२४६ | ११.९२ |
६९ | | निस्दी गाउँपालिका | ५३२० | २९२३ | २३९७ | ४५.०६ |
७० | | पूर्वखोला गाउँपालिका | ५३३६ | १७३२ | ३६०४ | ६७.५४ |
७१ | | रश्मा गाउँपालिका | ४७६७ | ४४१८ | ३४९ | ७.३२ |
७२ | अर्घाखाँची | मालारानी गाउँपालिका | ६५०३ | ५५०४ | ९९९ | १५.३६ |
७३ | रूपन्देही | कञ्चन गाउँपालिका | ६७७७ | ६३३४ | ४४३ | ६.५४ |
७४ | | वुटवल उपमहानगरपालिका | २३२४९ | २०८५१ | २३९८ | १०.३१ |
७५ | | सैनामैना नगरपालिका | १३०३६ | १२७२२ | ३१४ | २.४१ |
७६ | कपिलबस्तु | विजयनगर गाउँपालिका | ३५१२ | १९२३ | १५८९ | ४५.२४ |
७७ | म्याग्दी | धौलागिरी गाउँपालिका | २४९० | २१६८ | ३२२ | १२.९३ |
७८ | | मंगला गाउँपालिका | ३६४९ | २६३१ | १०१८ | २७.९० |
७९ | बागलुङ | काठेखोला गाउँपालिका | ६६९६ | ५२२१ | १४७५ | २२.०३ |
८० | | बागलुङ नगरपालिका | १२३६१ | १००६७ | २२९४ | १८.५६ |
८१ | पर्वत | महाशिला गाउँपालिका | २४५३ | २१८० | २७३ | ११.१३ |
८२ | | मोदी गाउँपालिका | ५२४१ | ४५६९ | ६७२ | १२.८२ |
८३ | कालिकोट | कालिका गाउँपालिका | २२७४ | १९९८ | २७६ | १२.१४ |
८४ | दैलेख | भैरवी गाउँपालिका | ३५८४ | ३३७८ | २०६ | ५.७५ |
८५ | | आठबीस नगरपालिका | ३९२७ | ३८८० | ४७ | १.२० |
८६ | सुर्खेत | सिम्ता गाउँपालिका | ५३५५ | ५२५८ | ९७ | १.८१ |
८७ | बाजुरा | गौमुल गाउँपालिका | २२४० | १४९१ | ७४९ | ३३.४४ |
८८ | | स्वामी कार्तिक गाउँपालिका | २४५९ | २२२३ | २३६ | ९.६० |
८९ | अछाम | मंगलसेन नगरपालिका | ४६९१ | ४५५३ | १३८ | २.९४ |
| | कुन दलले कति जिते | | |
| | दल | प्रमुख/अध्यक्ष | उपप्रमुख/उपाध्यक्ष | | |
| | नेकपा एमाले | २९४ | ३३१ | | |
| | नेपाली कांग्रेस | २६६ | २२३ | | |
| | नेकपा माओवादी केन्द्र | १०६ | १११ | | |
| | जनता समाजवादी पार्टी | ३४ | ३२ | | |
| | राष्ट्रिय जनता पार्टी | २५ | ३० | | |
| | नेपाल लोकतान्त्रिक फोरम | ९ | ८ | | |
| | स्वतन्त्र | ६ | ५ | | |
| | राष्ट्रिय प्रजातन्त्र पार्टी | ५ | ७ | | |
| | राष्ट्रिय जनमोर्चा | ३ | ४ | | |
| | नयाँ शक्ति पार्टी नेपाल | २ | १ | | |
| | नेपाली जनता दल | २ | ० | | |
| | नेपाल मजदुर किसान पार्टी | १ | १ | | |
| | जम्मा | ७५३ | ७५३ | | |