सत्तारूढ गठबन्धनका दलहरू स्थानीय तहमा तालमेल गरेरै जाने नेतृत्वबीच सहमति भए पनि कतिपय गाउँ/नगरपालिकामा भने उक्त सहमति कार्यान्वयन हुन सकेन। दाङ, बाँके र रोल्पाका कतिपय पालिकाले माथिको निर्देशन कार्यान्वयन नगरेका हुन्। ती पालिकाहरूमा गठबन्धनका दलहरू एक्लाएक्लै भिडेका छन्।
दाङ जिल्लाका १० मध्ये तीनवटा पालिकामा मात्र गठबन्धन
दाङका दसमध्ये तीनवटा गाउँ तथा नगरपालिकाबीच गठबन्धन दलहरू चुनावी तालमेल गरेर जाने सहमति भएको छ।
तुलसीपुर र घोराही उपमहानगरपालिका अनि बंगलाचुली गाउँपालिकामा मात्रै गठबन्धनले साझा उम्मेदवार छानेका छन्।
तुलसीपुरको मेयर नेपाली कांग्रेसले पाएको छ भने उपमेयर एकीकृत समाजवादी (एस) ले पाएको छ। कांग्रेसले मेयरमा गेहेन्द्र गुरूङ र एसले उपमेयरमा जोगबहादुर राना मगरलाई चुनावी मैदानमा उतारेको छ।
घोराहीमा भने माओवादी केन्द्रले मेयर पाएको छ जहाँ उसले हेमराज शर्मालाई उम्मेदवार बनाएको छ। उपमेयर भने कांग्रेसले पाएको छ। उपमेयरका कांग्रेस उम्मेदवार भूप बहादुर डाँगी छन्।
तर अरू पालिकामा गठबन्धनका दलहरू बीच तालमेल हुन सकेन।
लमही नगरपालिका र गढवा, राजपुर, राप्ती, बबई, शान्तिनगर र बबई गाउँपालिकामा दलहरू एक्लाएक्लै भिडेका छन्।
बाँकेको एक पालिकामा मात्रै गठबन्धन
बाँकेको खजुरा गाउँपालिकामा मात्रै गठबन्धनको साझा उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। अध्यक्ष माओवादी र उपाध्यक्ष नेपाली कांग्रेसले मनोनयन दर्ता गराएको छ।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले मेयर र जसपाले उपमेयरमा उम्मेदवार बनाए पनि यहाँ माओवादी केन्द्रले अलग्गै उम्मेदवारी दिएको छ।
जिल्लाका आठ पालिकामध्ये कोहलपुर नगरपालिकासहित, बैजनाथ, राप्ती सोनारी, नरैनापुर गाउँपालिका लगायत अन्य सबै पालिकामा दलहरूले एक्लाएक्लै उम्मेदवारी दिएका छन्।
बर्दियामा भएन तालमेल
बर्दियाका आठमध्ये कुनै पनि पालिकामा गठबन्धन दलहरूबाट तालमेल हुन सकेन। बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका सबैमा दलहरूले आ–आफ्ना उम्मेदवार खडा गरेर मैदानमा उत्रिएका छन्।
बढैयाताल र गेरुवा दुई गाउँपालिका र गुलरिया, राजापुर, बबई, सानोश्री–ताराताल र बाँसगढी नगरपालिका कतै पनि गठबन्धन दलबीच चुनावी तालमेल हुन सकेन।
रोल्पामा पनि भएन तालमेल
प्रमुख प्रतिपक्षी नेकपा एमाले र नेपाली कांग्रेसबीच माडी गाउँपालिकामा चुनावी तालमेल भएको छ। अध्यक्षमा एमालेले र उपाध्यक्ष कांग्रेसले मिलेर उम्मेदवारी दिएका छन्।
त्यस्तै सुनछहरी, सुनिल स्मृति, त्रिवेणी लगायतका गाउँपालिकामा पनि यी दुई दल मिलाएर उम्मेदवारी दिएको स्रोतले बतायो। जिल्लाका दस पालिकामध्ये अन्यत्र सबै ठाउँमा दलहरू एक्लाएक्लै भिडेका छन् ।
रूकुम पूर्वमा एक पालिकामा कांग्रेस र एमालेबीच तालमेल
रूकुम पूर्वका तीन पालिकामध्ये सिस्ने गाउँपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेपाली कांग्रेसबीच तालमेल भएको छ। यहाँ नेपाली कांग्रेसले प्रमुख र एमालेले उपप्रमुखमा मिलेर मनोनयन दर्ता गराएका छन्।
भूमे र पुर्थाउत्तरगंगामा भने सबै दलबाट उम्मेददवारी परेको छ।
प्यूठानका नौमध्ये अधिकांशमा तालमेल
प्यूठान जिल्लाका नौ पालिकामध्ये अधिकांशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा तालमेल भएको छ। कांग्रेसको भागमा पाँच पालिका प्रमुख र चार पालिका उपप्रमुख परेको छ।