स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर सधैं चर्चित रहने गर्छ। सबभन्दा ठूलो महानगर, त्यसमाथि मुलुकको राजधानी अनि सम्पदा र वैभवको नगरी काठमाडौंको राजनीतिक नेतृत्व कसको हातमा जान्छ भन्ने चर्चा र चासो स्वाभाविक हो।
त्यसमाथि दुई प्रमुख दल एमाले र कांग्रेसले मेयरका रूपमा ‘हाइ प्रोफाइल’ उम्मेदवार उठाएपछि काठमाडौंको चुनावमा झनै चासो बढेको छ। एमालेले केशव स्थापित र कांग्रेसले सिर्जना सिंहलाई मेयरमा उठाएका छन्।
२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई झन्डै २० हजार मतले हराएर एमालेका विद्यासुन्दर शाक्य मेयर विजयी भएका थिए।
सिर्जना सिंहलाई मैदानमा उतारेर काठमाडौं महानगर फेरि आफ्नो पोल्टामा पार्ने दाउमा कांग्रेस छ भने राजधानी कुनै पनि हालमा आफ्नो दलको नेतृत्वबाट नफुत्कियोस् भन्नेमा एमाले धेरै नै सचेत देखिएको छ। त्यसैले उसले निवर्तमान मेयर शाक्यलाई दोस्रो कार्यकालका लागि टिकट नदिएर स्थापितलाई उम्मेदवार बनाएको छ।
तीन लाख मतदाता भएको काठमाडौं महानगरमा दुबै दलको चर्को प्रतिस्पर्धा हुने गर्छ। यो प्रतिस्पर्धामा स्थापितले जित्छन् वा सिंहले? एमाले र कांग्रेसको विश्लेषण र आकलन के छ?
सेतोपाटीले एमाले काठमाडौंका नेता र क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धर र कांग्रेसका नेता र काठमाडौंमा यसअघि कांग्रेसका मेयर उम्मेदवार जोशीलाई उनीहरूको विश्लेषणबारे सोधेको थियो। मानन्धर यसअघि दुई पटक काठमाडौंको वडा अध्यक्ष भइसकेका नेता हुन्।
दुबै जनाको विश्लेषण उनीहरूकै शब्दमा।
रामवीर मानन्धर
यसअघिको स्थानीय निर्वाचनमा हामीले नेपाली कांग्रेसलाई १९ हजार ६ सय भोटले पराजित गरेका थियौं। त्यतिखेर एमालेलाई राप्रपा नेपालले पनि सघाएको थियो। राप्रपाको धेरै भोट थिएन त्यसैले उसले नसघाए पनि हामीलाई धेरै फरक भने पर्दैन।
यसपालि हामीलाई असर गर्ने कुराहरू भने अलिक धेरै नै छन्। त्यसैले त्यो बेलाको जति फराकिलो मतान्तरले जित्न सिकन्छ कि सकिन्न भन्ने कुरामा पनि प्रश्न छन्। तर काठमाडौं महानगरमा एमालेका आफ्नै मतदाता छन्। पार्टी कमजोर छैन। यी सबै कुरालाई विचार गरेर मतको अंकगणित हेर्नुपर्ने हुन्छ।
विद्यासुन्दर शाक्य काठमाडौंका रैथानेबीच लोकप्रिय हुनुहुन्थ्यो। अहिले पनि काठमाडौंका ३२ वडामा गएर हेर्नुस्, बुझ्नुस् उहाँलाई नराम्रो कसैले भन्दैन। त्यो बेला कोर सिटीको धेरै मत उहाँलाई आएको हो। मानिसहरू समुदायको भोट भन्छन् नि त्यो भोट उहाँले शतप्रतिशत पाउनुभयो भन्दा हुन्छ। शाक्य, मानन्धर र ब्रजाचार्यमात्र १२ हजार मतदाता होलान्। यद्यपी कोर सिटीमा बाहिर जति मतदाता छैनन्।
कोर सिटी भनेको असन, न्यूरोड, नरदेवी, झोछेँ, क्षेत्रपाटी हुन् कालिमाटी र बागबजारसम्मै गन्ने हो भने पनि यहाँ दुई-तीन वडा जोडेर पुग्ने मतदाता बाहिरका एउटै वडामा छन्। यी ठाउँबाट यसअघिको चुनावमा वडाध्यक्ष उम्मेदवारहरूले ल्याएको भोट भन्दा बाहिरका वडामा एमाले वडाध्यक्षले ल्याएको मत धेरै छ। बाहिर एमालेले ४० हजार बढी भोट ल्याएको छ भने भित्र २५/३० हजार भोट ल्याएको होला। मैले अनुमानित भनेको हो। त्यही पनि कोर सिटीको मतले चुनावमा धेरै फरक पार्छ, जस्तो विद्यासुन्दरको जितलाई पारेको थियो।
त्यो बेला कांग्रेस र एमालेबाहेक दलबाट उठेका र स्वतन्त्र उम्मेदवारको पनि चर्चा धेरै थियो। त्यसको असर मत परिणामले पनि देखायो। विवेकशीलकी उम्मेदवारले २४ हजार मत ल्याएकी थिइन् भने साझाले १८ हजार भोट पायो। त्यतिबेला उनीहरूले हाम्रोभन्दा ज्यादा कांग्रेसकै भोट काटे। विवेकशीलले हाम्रो पाँच-सात हजार मत काट्यो होला। साझाले पनि धेरै काटेन। त्यो बेला कांग्रेसका मेयर उम्मेदवार कमजोर मानिन्थे। मानिसहरू राजनीतिक उम्मेदवार भएनन् भन्ने थियो। त्यसको फाइदा पनि एमालेलाई भएकै हो।
यसपालि हाम्रो पार्टीभित्र असन्तुष्टि ज्यादा छन्। नेतृत्वले विचार पुर्याएन भन्ने गुनासो छ। हामीले पहिले राम्रो मत ल्याएका एक-दुई वटा ठूला वडामा असन्तुष्ट भएर माधव नेपालको पार्टीबाट वडाध्यक्ष उठेका छन्। वडा नम्बर ३, १४ र १५ मा विवाद छ। वडा नम्बर १५ को उम्मेदवार एकीकृत समाजवादीमा गयो, १६ मा पहिले कांग्रेसले जितेको थियो र १४ मा राम्रो काम गरेकी वडाध्यक्षलाई फेरि टिकट नदिएको गुनासो छ। हामीले बेलामा विचार नपुर्याए पहिले जितेका ठूला वडामा पहिले जति मत पाउन गाह्रो हुन्छ।
यसपालि एमालेले केशव स्थापितलाई उम्मेदवार छानेको छ। एकातिर गठबन्धन छ, अर्कोतिर स्थापितजी विवादमा आइरहने मान्छे। त्यही पनि उहाँले विचार पुर्याएर अघि बढ्नुभयो भने जित्न गाह्रो छैन। विद्यासुन्दरले पाँच वर्षमा गरेका राम्रा कामलाई स्वामित्व दिएर उहाँ चुनावमा हिँड्नुपर्ने हुन्छ। विद्यासुन्दरले बनाएका आफ्नै मतदाता छन्, एमालेका कार्यकर्ता र मतदाताको राम्रो उपस्थिति छ तर उहाँले तिनको कदर गर्नुपर्यो। सामाजिक सञ्जालमा भोट मागेर मात्र हुन्न, घर-घर गएर भोट नमागी अझै पनि मतदाता रिझाउन गाह्रो हुन्छ। २५ वर्षअघि उहाँले जित्नु भए जति सजिलो अहिले हुन्न।
यसपालि गठबन्धनसँग एमाले एक्लै जुध्दै छ। पहिलेजस्तो विवेकशील र साझाका चर्चित उम्मेदवार भने मैदानमा छैनन्। तर यसपालि गायक बालेन शाह उठेको देख्छु। उनको मत सामाजिक सञ्जालमा ज्यादा छ। भोट त मतपत्रमा हाल्ने हो सामाजिक सञ्जालको भोट गनिन्न। त्यही पनि किशोर-किशोरी र युवाको मत भने उनले केहीमात्रामा तान्न सक्छन्। एमाले बालेनबाट भने डराउन पर्ने म देख्दिनँ। हाम्रो मत त्यति सजिलै बाहिर जाने मत होइन। त्यसैले एमालेकै कार्यकर्ताको कदर हुनुपर्छ भनेको हो।
यसपालि कांग्रेसले उठाएको उम्मेदवार सिर्जना सिंह यसअघिको कांग्रेस उम्मेदवार जति कमजोर हुनुहुन्न। त्यसमाथि महिलालाई काठमाडौंवासीले भोट दिन्छन्। यसअघिको कांग्रेसका मेयरलाई हराएर उपमेयरमा महिलालाई जिताउनु एउटा उदाहरण हो।
त्यसैले हामी यी सबैखालका चुनौतीलाई हेरेर अघि बढ्नुपर्छ।
राजुराज जोशी
नेपाली कांग्रेसबाट म यसअघि काठमाडौंको मेयर उम्मेदवार थिएँ। त्यतिबेला मलाई जम्मा ४५ हजार २ सय ६९ भोट आएको थियो। एमालेले ६४ हजार ९ सय १३ मत ल्याएर चुनाव जित्यो। त्यतिखेर हामी एक्लै लडेका थियौं। उपमेयरसहित धेरै वडा भने हामीले जित्यौं। हाम्री उपमेयर हरिप्रभा खड्कीले झन्डै ५८ हजार मत ल्याएर चुनाव जित्नुभयो।
अहिले नेपाली कांग्रेसबाट सिर्जना सिंह मेयर उम्मेदवार हुनुहुन्छ। उहाँको आफ्नै राजनीतिक अनुभव छ। पञ्चायतकालमा विद्यार्थी आन्दोलनकी नेता हुनुहुन्थ्यो। शंकरदेव क्याम्पसको स्ववियू निर्वाचनमा कोषाध्यक्ष उठ्दा पम्फा भुषाल जो अहिले माओवादी नेता तथा उर्जामन्त्री हुनुहुन्छ उहाँलाई हराउनुभएको थियो। कांग्रेसभित्र रहेर महिला आन्दोलनमा सिर्जना सिंहले काम गर्नुभएको थियो। त्यसमाथि गणेशमान सिंहको पारिवारिक विरासत, मंगलादेवी सिंहको महिला आन्दोलनको विरासत र प्रकाशमान सिंहको राजनीतिको फाइदा पनि उहाँलाई हुन्छ।
मेरो विचारमा गएको निर्वाचन हेरी अहिले ठ्याक्कै उल्टो मत परिणाम आउँछ र काठमाडौं महानगर नेपाली कांग्रेसले जित्छ।
त्यतिखेर मलाई धेरै अन्तरघात भएको थियो। एक त मलाई काठमाडौंको कोर बस्तीबाट धेरै भोट आएन। मेरै वडामा समेत मेरो वडाध्यक्षले भन्दा मैले कम भोट पाएको थिएँ। कोर बस्तीबाट बाहिरको भोट त्यतिखेर विवेकशील पार्टीबाट उठेकी रन्जु दर्शना र साझा पार्टीका किशोर थापालाई गयो। उनीहरू दुबैले ४२ हजार भोट ल्याएका थिए। त्यो भोट धेरैजसो नेपाली कांग्रेसको थियो भन्ने मलाई लाग्छ। रन्जुले त्यतिखेर मेरो १८ हजार भोट काटेकी थिइन्। त्यो भोट टुँडिखेल पारिकै धेरै थियो। किशोरले पनि हाम्रो धेरै भोट काटे। उनीहरू दुबैले काठमाडौंको कोर सिटीमा जम्मा छ/सात हजार मत ल्याएका थिए।
कोर बस्तीमा आएपछि जातीय भोट धेरै हुन्छ। यहाँबाट नेवार समुदायकै मेयर चाहिन्छ भन्ने धेरै थिए। लोकल नेवारहरूले मलाई आफ्नो मान्छे ठान्दैनथे। त्यसको प्रतिक्रिया मतमा देखियो। यहाँको धेरै भोट त्यतिखेर एमालेलाई गयो। बाहिरको भोट हाम्रो धेरै काटियो भने कोर सिटीको भोट एमालेलाई गयो। त्यसैले पनि हाम्रो भोट धेरै आएन। अहिले कांग्रेसकी उम्मेदवार सिर्जना सिंह हुनुहुन्छ। यहाँ चाहिने जातीय समिकरण मिलेको हुनाले मलाई नआएको त्यो भोट उहाँलाई आउँछ भन्ने मेरो बुझाइ छ।
त्यतिखेर माओवादी पनि मेयरको प्रतिस्पर्धामा थियो। उसले झन्डै आठ हजार (७ हजार ९ सय ६ ) ल्याएको थियो। तत्कालीन नयाँ शक्ति (हालको जसपा) ले ६ हजार ५० मत ल्याएको थियो। यी दुबै दल अहिले सत्तारूढ गठबन्धनमा छन्। र कांग्रेसलाई सघाएका छन्। उनीहरूको भोट पनि यसपालि आउँछ। एमालेबाट छुटिएर बनेको एकीकृत समाजवादी पनि गठबन्धनमा सामेल छ। धेरै वर्ष एमालेमा काम गरेका रामेश्वर श्रेष्ठ गठबन्धनबाट उममेयर हुनुहुन्छ। उहाँलाई आउने भोट पनि हामीलाई आउँछ। यसपालि विवेकशील पार्टी प्रतिस्पर्धामा छैन। विवेकशील साझाको उम्मेदवारको पनि पहिला जस्तो अहिले देखिन्न। पहिले काटिएका हाम्रो भोट यसपालि काटिन्न भन्ने मलाई लाग्छ। तर अहिले गायक बालेन शाह मेयरको उम्मेदवार छन्। सामाजिक सञ्जाल हेर्दा उनको राम्रो प्रचार देखिन्छ। उनलाई संगठित भोट त कमै आउला तर छरिएर रहेको डेमोक्रेटिक भोट कति जान्छ अहिलै भन्न सकिन्न।
अहिले महानगरमा कांग्रेस असन्तुष्टि ज्यादा छैन। अन्तर्घात कम हुन्छ कि भन्ने लाग्छ। एमालेभित्र भने धेरै असन्तुष्टि देखिन्छन्। एमाले विभाजनको असर देखिन्छ। एमालेबाट वडाध्यक्ष नपाएपछि एकीकृत समाजवादीमा गएर दुई जनाले वडाध्यक्ष पाउनुभएको छ। पार्टीभित्रका क्याडरलाई नै पन्छाएर एमालेले केशव स्थापितलाई मेयर उम्मेदवार बनाएको छ। उहाँ आफैं विवादित हुनुहुन्छ। हावादारी गफ ज्यादा गर्ने भनेर उहाँको आलोचना हुने गरेको छ। त्यसमाथि महिलामाथि दुर्व्यवहार गरेको आरोप छ। यी सबै कारणले एमाले कमजोर छ। यसअघि एमालेलाई राप्रपाको साथ थियो अहिले त्यो पनि छैन। त्यसको फाइदा पनि कांग्रेसलाई हुनेछ।