सत्तारूढ पाँच दलीय गठबन्धनले पोखरा महानगरस्तरीय घोषणा पत्रमा फेवाताल संरक्षणका मुद्दा हल्का रूपमा लिएको छ।
गठबन्धनले घोषणा पत्रमा फेवाताल अतिक्रमणदेखि महानगरको वर्तमान नेतृत्वले घटाएको मापदण्डका विषय उल्लेख समेत गरेको छैन।
एमाले नेतृत्वको पोखरा महानगरले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर बनाउने निर्णय गरेको थियो भने पोखराका बाँकी ८ वटै तालको मापदण्ड पनि आधा घटाउने निर्णय गरेको थियो। महानगरले सेती नदीको मापदण्ड पनि ५० मिटरबाट घटाएर ५ मिटर कायम गरेको थियो।
गठबन्धनको घोषणा पत्रमा फेवातालसहित ९ वटा ताल र नदीनाला संरक्षणका विषयलाई गम्भीर रूपमा नलिएको भन्दै आलोचना भएको छ।
गठबन्धनको घोषणा पत्रमा प्राकृतिक स्रोत साधनको उपयोग शीर्षकमा जलाधार क्षेत्रको विस्तृत अध्ययन गरी संरक्षण परियोजना सञ्चालन गर्ने भनेको छ।
फेवाताल संरक्षण र सौन्दर्यकरण परियोजना सुरू गर्ने र ढल व्यवस्था बाइपास ड्रेन बनाइ संरक्षण गर्ने भनेको छ। तर तालका अतिक्रमणदेखि अहिलेका महानगरको नेतृत्वले गरेको मापदण्ड घटाउने निर्णयका विषयमा मौन बसेको छ।
व्यवसाय पृष्ठभूमिका मेयर उम्मेदवार धनराज आचार्यले तालमा ‘फिसिङ टुरिजम’को विकास गर्ने, साना तथा मझौला जलविद्युत आयोजना सञ्चालन, पानीमा आधारित पर्यटनकीय पूर्वाधार विकास गर्ने योजना घोषणा पत्रमा समेटेका छन्।
फेवातालको मापदण्डका विषयमा सोधिएका प्रश्नमा भने आचार्यले आफू नेतृत्वको टिम निर्वाचित भए सबै समस्या समाधान गर्ने मौखिक आश्वासन दिए।
‘फेवातालका विषयमा जति पनि अनुत्तरित प्रश्न छन्, सबै सवालका जवाफ दिनेछौं,’ उनले भने, ‘एक इञ्च पनि तलमाथि हुन दिन्नौं।’
मापदण्डका विषयमा सोधिएको प्रश्नमा उनले महानगरले मापदण्ड घटाउने निर्णय लेखिन बाँकी रहेको टालटुले जवाफ दिए।
‘मापदण्ड घटाउने निर्णय माइन्युट भएको छैन भन्ने सुनेको छु,’ उनले भने, ‘वास्तविकता के हो थाहा नपाई यसै भन्न सकिन्न।’
महानगरले घटाएको मापदण्ड हटाएर पुरानै ६५ मिटर मापदण्ड कायम गराउँछु भन्न उनले सकेनन्।
घोषणा पत्रमा उनले पोखराका तालहरू संरक्षण गर्न ताल संरक्षण क्षेत्र परियोजना चलाउने लेखेका छन्।
व्यवसायिक पृष्ठभूमिका भएका कारण आचार्यले फेवातालको मापदण्डका विषय घोषणा पत्रमा राख्न नचाहेको केही व्यवसायीको भनाइ छ।
फेवासहित तालहरूको संरक्षणमा प्रष्ट नदेखिएको घोषणा पत्रमा गठबन्धनले ग्रेटर पोखराको अवधारणा अनुसार ५ वटा स्याटलाइट टाउन बनाउने उल्लेख गरेको छ।
‘समुन्नत पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ नारा दिएको गठबन्धनले पोखरामा मोनोरेल चलाउने घोषणा गरेको छ।
मेयर उम्मेदवार आचार्यले पोखराका १० किलोमिटर बाटोमा मोनोरेल चलाउन सकिने व्याख्या गरेका थिए।
पोखरालाई २४ घण्टा खुला राख्ने योजना बनाएका आचार्यले पर्यटकको बसाइ लम्ब्याएर ५ दिन पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएका छन्। हाल पोखरामा पर्यटकको बसाइ औसतमा डेढ दिनमात्र छ।