पालिका नेतृत्व बाँडफाँट बारे सहमति भएका जिल्लामा गठबन्धनका दलबाटै बागी उम्मेदवारी परेको छ।
वैशाख ११ र १२ गते तोकिएको मनोनयनका क्रममा गठबन्धन दलबाटै एकल उम्मेदवारी परेको हो।
कर्णालीका ७९ पालिकामध्ये अधिकांश गठबन्धनभित्रका दलबाटै छुट्टाछुट्टै उम्मेदवारी परेका छन्।
लगातार पाँच दिनसम्म चलेको प्रदेशस्थित नेताको छलफलबाट कर्णालीका ८ जिल्लामा कुन–कुन दलले कुन–कुन पालिकामा प्रमुख/उपप्रमुख पाउने भन्ने लिखित सहमति भईसकेको थियो।
उक्त छलफलबाट सुर्खेत र रूकुम पश्चिमको भागबण्डा भने टुंगिएको थिएन। यी जिल्लामा ‘अन्तिम समयसम्म सहमतिको प्रयास जारी राख्ने’ भन्दै छलफल अन्त्य गरिएको थियो।
अरू ८ जिल्लाका ६४ पालिकामा कुन–कुन दलले पालिकाको नेतृत्व लिने भन्ने कुरा मिले पनि गठबन्धबाट उठाईएका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेका छन्।
शुक्रबारसम्म उम्मेदवार फिर्ता लिन मिल्ने समय तोकिएको छ। कर्णाली प्रदेशमा ‘अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने’ भनेको पनि शुक्रबारसम्म बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता गर्न लगाउने हो।
कर्णालीमा गठबन्धनका बागी उम्मेदवारी फिर्ताको सम्भावना कति ?
नेपाली कांग्रेस कर्णाली प्रदेश प्रवक्ता दमन शाहीले प्रदेश तथा जिल्लास्तरका नेताहरू यसका लागि छफलमा जुटेको बताए।
‘हाम्रोबाट भन्दा पनि सहमति भएका पालिकामा नेकपा माओवादीले नै धेरै ठाउँमा बागी हालेको छ, आज (बिहिवार) स्थानीय र जिल्लास्तरमा सहमति गरेर उम्मेदवारी फिर्ता गर्न लगाउने भन्ने केन्द्रको निर्देशन आएको छ,’ प्रवक्ता शाहीले भने, ‘त्यसैअनुसार हामी विभिन्न जिल्लामा छलफलमा छौं, यसका लागि केन्द्रले प्रदेश र जिल्लाका पदाधिकारीलाई अनौपचारिक रुपमा जिम्मेवारी पनि दिएको छ।’
भागबण्डा भएका ठाउँमा एउटा दलले बागी उम्मेदवारी दिएपछि गठबन्धन भित्रका अरूले पनि उम्मेदवारी दिएको उनले बताए। ‘अर्को कुरा पार्टीमा निरन्तर लागिरहेका धेरै साथीहरू आकांक्षी हुनुहुन्थ्यो, उहाँहरुले नपाएपछि पनि यो समस्या आएको हो।’
सहमतिअनुसार जाजरकोटको भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले मेयर पाएको छ। समाजवादीबाट कमानबहादुर खड्का मेयरका आधिकारिक उम्मेदवर छन्। तर भेरीमा कांग्रेसका प्रदेश उपसभापति सनतकुमार कार्कीले पनि मेयरमा उम्मेदवारी दिएका छन्।
सहमति जुटाउने प्रदेश संयन्त्रकै जिम्मेवार व्यक्तिले हालेको बागी उम्मेदवारी फिर्ता होला त? यो प्रश्नमा प्रवक्ता शाहीले भने, ‘अन्तिम समयमा सहमति जुट्नु र सहमतिले नेताहरुका आकांक्षा पूरा गर्न नसक्नुले यो समस्या आएको हो, भेरी नगरपालिकाको विषयमा एक खालको बुझाई बनिसकेको छ। फिर्ता हुन्छ।’
साझा उम्मेदवार विरूद्ध उठेका गठबन्धन दलका आधिकारिक तथा बागी उम्मेदवारलाई फिर्ता बोलाउने विषयमा छलफल गर्न गठबन्धन दलका कर्णाली प्रदेश प्रमुखहरुको छलफल चलिरहेको छ।
गठबन्धन दलको नेतृत्व गरेको नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीका नेताहरु छलफलमा छन्। बिहिबार दिउँसोदेखि भईरहेको छलफलबाट सुर्खेत र रूकुम पश्चिमका पालिका भागबण्डाको सहमति जुटाउने, सहमति भएका पालिकाका साझा उम्मेदवार विरूद्ध उठेकालाई फिर्ता बोलाउने र वडाको भागबण्डा टुंग्याउने विषयमा छलफल भईरहेको एक नेताले सेतोपाटीलाई बताए।
अहिलेसम्म छलफलको निश्कर्ष भने निस्किएको छैन। ‘हामी यिनै विषयमा कुरा मिलाउन छलपलमा बसेको लामो समय भईसक्यो, अहिलेसम्म छलफल निश्कर्षविहिन नै छ,’ बैठकमा सहभागी नेकपा समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मर बहादुर थापाले भने, ‘आज रातिसम्म कुरा मिल्नसक्छ।’
आजको छलफलबाट कर्णाली प्रदेशमा गठबन्धन सहजै अगाडि बढ्छ वा दरार आउँछ भन्नेमा अन्तिम टुंगो लाग्नेछ।
कर्णाली प्रदेशका केही पालिकामा भने गठबन्धनको सहमति अनुसार नै उम्मेदवारी परेको छ। त्यसमध्येको एक जुनीजाँदे गाउँपालिका हो। उक्त गाउँपालिकामा माओवादी केन्द्रबाट यसअघिका उपाध्यक्ष शिवा आचार्यले अध्यक्षमा उम्मेदवारी दिएकी छन् भने कांग्रेसका गाउँ कार्य समिति सभापति वीरेन्द्रबहादुर शाहीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
गठबन्धन दलको छलफलबाट सहमति जुट्न नसकेका सुर्खेत र रूकुम पश्चिममा ‘अन्तिम समयसम्म प्रयास गर्ने’ निर्णयअनुसार तालमेलको प्रयास जारी छ।
नेपाली कांग्रेसका कर्णाली प्रदेश प्रवक्ता शाहीका अनुसार सुर्खेतमा तालमेलको लागि गरिएको प्रयास सकारात्मक दिशातिर गएको छ।
सुर्खेतमा मनोनयन दर्ता गर्ने समयमै माओवादी केन्द्रले भने दुई वटा पालिकामा गठबन्धनको मनस्थिति लिएको थियो। जसअनुसार चिंगाड गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षमा उम्मेदवारी दिएन।
भेरीगंगा नगरपालिकाका मेयर/उपमेयर दुवैमा उम्मेदवारी दिए पनि कुरा मिलेपछि फिर्ता लिने सहमति भएको माओवादीकै एक नेताले जानकारी दिए।
रूकुम पश्चिममा पनि समाजवादीले आन्तरिक रूपमा छलफल गरे पनि दलबीच भने अहिलेसम्म सहमति भएको छैन।
समाजवादीका केन्द्रीय सदस्य देवी ओलीका अनुसार जिल्लाको आठबीसकोट नगरपालिकामा गठबन्धन दलबीच सहकार्य गर्ने मनस्थिति बनेको छ। यद्यपि कसैले उम्मेदवारी भने फिर्ता लिईसकेका छैनन्।
मुसिकोट नगरपालिकामा समाजवादी र माओवादीले मात्र सहकार्य गर्ने पालिकास्तरमा आन्तरिक सहमति भएको छ। मुसिकोटमा माओवादीले मेयरमा र समाजवादीले उपमेयरमा उम्मेदवारी दिएका छन्।
सहमतिको प्रयासमा रहेका गठबन्धन दलका कर्णाली प्रदेशस्थित नेताहरुले साझा उम्मेदवारबाहेक गठबन्धनभित्रका दलबाट आधिकारिक वा बागी उम्मेदवारी दिनेलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिईसकेका छन्।
मनोनयन गर्ने अन्तिम दिनमा गठबन्धन दलका प्रदेश कार्यसमितिका प्रमुखले विज्ञप्ति जारी गरी उक्त चेतावनी दिएका थिए।
‘अब गठबन्धन सहमतिअनुसार साझा उम्मेदवार भएको ठाउँमा सहमति विपरित दलले आधिकारिक वा बागी उम्मेदवारी दिने काम दलका जिम्मेवार नेता तथा कार्यकर्ताबाटै भयो भने उहाँहरुलाई अनुशासनको कारबाहीको त विकल्पै छैन नि,’ कांग्रेस प्रवक्ता शाहीले भने।
निर्वाचन आयोगले वैशाख १६ गतेलाई उम्मेदवारी फिर्ता लिनसक्ने समय तोकेको छ। बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ।
गठबन्धन दलबीच वैशाख ११ गते भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख र २६ पालिकामा उपप्रमुख पाएको छ।
यस्तै नेपाली कांग्रसले २५ पालिकामा प्रमुख र २३ पालिकामा उपप्रमुख पाएको छ। नेकपा (एकीकृत समाजवादी) ले १३ पालिकामा प्रमुख तथा १६ पालिकामा उपप्रमुख पाएको छ।