वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारको पक्षमा माहोल बनाउन शीर्ष नेताहरू जिल्लामा खटिएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी केही दिनदेखि आफ्नो पार्टीका उम्मेदवारको पक्षमा माहौल बनाउन गृह जिल्ला दाङमै बस्दै आएका छन्।
बिहीबार मात्रै तुलसीपुरमा एमाले महासचिव पोखरेल पत्रकार सम्मेलन थियो भने सोही समयमा घोराहीमा माओवादीका महरा र कांग्रेसका गिरीले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरेका थिए।
तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले पाँच दलीय गठबन्धनलाई अदालतको आदेशबाट बनेको अपवित्र, लक्ष्यहीन र गन्तव्यहीनको संज्ञा दिएका थिए। गठबन्धनको उद्देश्य एमालेलाई रोक्नु मात्रै रहेको उनको आरोप थियो।
घोराहीको पत्रकार सम्मेलनमा महरा र गिरीले स्थानीय तहको निर्वाचनलाई अग्रगमन र प्रतिगमन बीचको लडाइँका रूपमा अर्थ्याएका थिए।
विगतमा केपी शर्मा ओलीले संविधानका पाना च्यात्दै, लत्याउँदै प्रतिगमन ल्याउन खोजेको र त्यसविरूद्ध अग्रगमनकारी शक्ति कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको मोर्चा बनेको उनीहरूले बताए।
महराले त २०६१ सालताका नै कांग्रेस र माओवादीका बीचमा अघोषित गठबन्धन निर्माण भइसकेको तर्क गरे।
घोराही उपमहानगरपालिकामा मेयरका लागि नेकपा एमालेले यसअघिका मेयर नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई उम्मेदवार बनाएको छ।
गठबन्धनका तर्फबाट नेकपा माओवादीका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) र उपमेयरमा यसअघि मेयरमा भिड्दा दोस्रो स्थान हासिल गरेका नेपाली कांग्रेसका भुपबहादुर डाँगी उम्मेदवार छन्।
पाँच दलीय गठबन्धनका तर्फबाट तुलसीपुरको मेयरमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद गेहेन्द्र गिरी र उपमेयरमा एककीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जोगबहादुर रानालाई उम्मेदवार बनाएको छ।
कांग्रेस नेता गिरी २०७४ सालको निर्वाचनमा एमालेका घनश्याम पाण्डेसँग मेयरमा पराजित भएका थिए।
एमालेले तुलसीपुरमा यसअघिका एमाले जिल्ला अध्यक्ष टीकाराम खड्कालाई मेयर र कहिल्यै राजनीति नगरेकी तथा तुलसीपुरमा दिदी घर संस्था सञ्चालन गर्दै आएकी श्यानी चौधरीलाई उपमेयरको उम्मेदवार बनाएको छ।
गत निर्वाचनमा महरा र पोखरेल चुनावी तालमेल र गठबन्धन गरी एउटै निर्वाचन दाङको क्षेत्र नं. २ बाट उम्मेदवार बनेका थिए। पोखरेलको गृहनगर तुलसीपुर भने निर्वाचन क्षेत्र नं. ३ अन्तरगत पर्छ।
एउटै घोषणा पत्रमा एकै निर्वाचन क्षेत्रमा गठबन्धन गरेर निर्वाचन जितेका महरा र पोखरेल भने यतिखेर ठिक विपरीत ध्रुवमा उभिएका छन्।
वाम गठबन्धनविरूद्धमा त्यतिखेर नेपाली कांग्रेस एक्लै निर्वाचनमा भिडेको थियो भने यतिखेर परिस्थितिले कांग्रेससहितको पाँच दलीय गठबन्धन एकातिर र नेकपा एमाले एक्लै उभिएको छ।