सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले केशव स्थापितको उम्मेदवारीलाई आफूले सजिलो रूपमा लिएको बताएकी छन्।
स्थापित नेकपा एमालेबाट काठमाडौं महानगरको मेयर उम्मेदवार छन्।
मेयरका लागि विभिन्न दल र स्वतन्त्रबाट उम्मेदवारी परे पनि पाँच दलीय सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
शुक्रबार सेतोपाटीसँग कुरा गर्दै सिंहले स्थापितको उम्मेदवारीलाई आफूले सजिलै रूपमा लिएको बताएकी हुन्।
‘उहाँको उम्मेदवारीलाई मैले सजिलो रूपमा लिएको छु,’ सिंहले भनिन्, ‘उहाँ पहिले पनि मेयर भइसक्नुभएको हो। उहाँको पालामा के काम गर्नुभयो? हेर्नुस्- काठमाडौं अस्तव्यस्त छ, उहाँलाई नै फेरि जितायो भने कस्तो काठमाडौं बन्ने होला?’
सिंहले महिलाका लागि सुरक्षित काठमाडौं बनाउने संकल्प पनि व्यक्त गरिन्।
गृहणी भत्ता, विदुर भत्ता उपलब्ध गराउने, नि:शुल्क रूपमा खानेपानी र शौचालयको व्यवस्था गर्ने, श्रमिकका छोराछोरीलाई सामुदायिक विद्यालयमा 'डे-केयर सेन्टर'मा राख्ने व्यवस्था मिलाउनेजस्ता एजेन्डा सिंहले अघि सारेकी छन्।
यो पनि: काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहका सात संकल्प
आफू मेयरमा जितेमा युवालाई रोजगारी दिने, प्रविधिसँग जोड्ने र खेलकुदका क्षेत्रमा पनि सरिक गराउने बताइन्।
काठमाडौंको संस्कृतिलाई पर्यटनसँग जोड्ने, साइकल लेन बनाउने, विष्णुमती र बागमती पौडी खेल्न मिल्ने गरी सफा गर्ने र ट्राफिक तथा फुटपाथ व्यवस्थापन गर्नेजस्ता एजेन्डा उनको छ।
हेर्नुस्, सिंहसँग गरिएको कुराकानी: