स्थानीय निर्वाचन २०७९ का लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ।
शुक्रबारकै छलफलका क्रममा माओवादीलाई उपमेयर दिने सहमति भएपछि दुई दलबीच वीरेन्द्रनगरमा गठबन्धन भएको हो।
सहमति अनुसार नेकपा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिएका राजेन्द्रदेव गिरीले फिर्ता लिएका छन्। कांग्रेसबाट उपमेयरमा उम्मेदवार बनेकी रामकुमारी थापाले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।
नेकपा (एकीकृत समाजवादी) सँग भने भागबण्डाको कुरा मिलेको छैन। गठबन्धनभित्र रहको समाजवादीले वीरेन्द्रनगरमा आफ्नो उम्मेदवारी कायमै राखेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम नामावली अनुसार वीरेन्द्रनगर नगरपालिकाका मेयर र उपमेयर पदमा १३/१३ जना उम्मेदवार छन्।
मेयर पदका लागि नेपाली कांग्रेसबाट उपेन्द्रबहादुर खड्का, जनता समाजवादी पार्टीबाट गगनबहादुर सारू, नेपाल मजदुर किसान पार्टीबाट गोविन्द नाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टंकप्रसाद रेग्मी, राष्ट्रिय नागरिक पार्टीबाट टिकाराम रेग्मी, नेपाल परिवार दलबाट दिनेशप्रसाद काफ्ले नेकपा (एकीकृत समाजवादी) बाट धन कुमारी जिसी नेपाल दलित पार्टीबाट निलकण्ठ भुषाल, राष्ट्रिय जनमोर्चाबाट विष्णुप्रसाद शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्दश्याम गिरी, नेकपा एमालेबाट मोहनमाया भण्डारी उम्मेदवार छन् ।
यस्तै भीमप्रसाद शर्मा र उमानन्द पंगाली स्वतन्त्र उम्मेदवार छन्।
उपमेयर पदका लागि राष्ट्रिय जनमोर्चाबाट कृष्णकुमारी रावल, नेकपा (समाजवादी) बाट डिलमाया आले मगर, नेकपा एमालेबाट निलकण्ठ खनाल, राष्ट्रिय नागरिक पार्टीबाट पवित्रा कुमारी शर्मा, नेपाल दलित पार्टीबाट भुमिसरा विक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी कुमारी सार्की, नेपाल मजदुर किसान पार्टीबाट बिजुकला राना, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट विमला पुन मगर, नेकपा (एकीकृत समाजवादी) बाट बिरबहादुर रावत, नेकपा (माओवादी केन्द्र) बाट शान्ति ढकाल र जनता समाजवादी पार्टी नेपालबाट सन्तोषी विश्वकर्मा उम्मेदवार छन्।
स्वतन्त्रबाट उपमेयर पदका लागि अनिल ढकाल र भोजप्रसाद चपाई उम्मेदवार छन्।
गठबन्धन दलबीच कर्णाली प्रदेशका आठ वटा जिल्लामा पालिका भागबण्डाको टुंगो लागे पनि सुर्खेत र रूकुम पश्चिममा भने सहमति जुटेको थिएन। यी जिल्लाहरुमा अन्तिम समयसम्म गठबन्धनको लागि प्रयास गर्ने भनिएको थियो।
यद्यपि सहमति जुटेका सबै पालिकामा भने गठबन्धनबीचको सहमति कार्यान्वयन भएको छैन। जाजरकोटको भेरी नगरपालिकामा नेपाली कांग्रेसका कर्णाली प्रदेश उपसभापति सनत कार्कीले मेयरमा उम्मेदवारी दिएका छन्। उनले आयोगले तोकेको समयमा उम्मेदवारी फिर्ता लिएनन्।
भेरीमा समाजवादीले मेयर र कांग्रेसले उपमेयर पाउन सहमति गठबन्धन दलबीच भएको थियो।
‘हाम्रो यहाँ गठबन्धन भएन, अब स्वच्छ तरिकाले मित्रवत् प्रतिस्पर्धा गर्ने भनेर हाम्रो दलको उम्मेदवारी पनि कायमै छ,’ मेयरका उम्मेदवार कार्कीले सेतोपाटीसँग भने।