रूकुम पश्चिमका केही पालिकामा माओवादी र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी तालमेल भएको छ। केही पालिकामा भने नेपाली काँग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ।
जिल्ला निर्वाचन कार्यालय रूकुम पश्चिमले उपलब्ध गराएको अन्तिम नामावली अनुसार जिल्लाका केही पालिकामा प्रमुख-उपप्रमुखमा समाजवादीबाट उम्मेदवार नै छैनन्।
आठविसकोट नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयर र उपमेयर दुवै उम्मेदवारले नाम फिर्ता लिएका छन्। समाजवादीबाट मेयर उम्मेदवार भगवती शाही र हरिप्रसाद आचार्यले उम्मेदवारी फिर्ता लिएको रूकुम पश्चिमका जिल्ला निर्वाचन अधिकृत कुमारी रिमा मल्लले जानकारी दिइन्।
यस्तै नेपाली काँग्रेसबाट उपमेयरका उम्मेदवार कमला थापाले पनि उम्मेदवारी फिर्ता लिएकी छन्।
अन्तिम नामावलीमा आठविसकोटमा मेयरमा नेकपा एमालेबाट पुष्पाकुमारी मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टेकबहादुर चन्द, मंगोल नेपाल अर्गनाइजेशनबाट डम्बरबहादुर बुढा, नेपाली काँग्रेसबाट वीरेन्द्रकुमार बटाला र माओवादी केन्द्रबाट रवि केसी उम्मेदवार छन्।
उपमेयरमा मंगोल नेशनल अर्गनाइजेशनबाट खिस्त्री पुन, एमालेबाट दिनेश चन्द र माओवादीबाट धनकुमारी शाही उम्मेदवार छन्।
चौरजहारी नगरपालिकामा पनि नेकपा एकीकृत समाजवादीका मेयर र उपमेयरका उम्मेदवारहरूले नाम फिर्ता लिएका छन्।
नेकपा एमालेबाट पनि मेयर उम्मेदवारी फिर्ता भएको छ। काँग्रेसबाट उपमेयर उठेकी दीपा डाँगी (खड्का)ले उम्मेदवारी फिर्ता लिएकी छन्।
अब चौरजहारीमा राप्रपाबाट कालीबहादुर खत्री, माओवादीबाट पुष्प वादी, जसपाबाट प्रशाराम खत्री मेयरका उम्मेदवार छन्। उपमेयरमा माओवादीबाट इश्वरीकुमारी खत्री (बिएम) एमालेबाट टंकप्रसाद वली र राप्रपाबाट पार्वती कार्की उम्मेदवार छन्।
त्रिवेणी गाउँपालिकामा नेपाली काँग्रेसबाट अमरसिं खड्का, माओवादीबाट गणेशकुमार केसी, एमालेबाट चोपलाल खड्का, राप्रपाबाट देवीलाल खड्का र नेकपा एकीकृत समाजवादीबाट धनराज खड्का अध्यक्षका उम्मेदवार छन्।
उपाध्यक्षमा एमालेबाट धनकला विष्ट, माओवादीबाट राजकुमारी रेउले र काँग्रेसबाट सृष्टि बाँठामगर उम्मेदवार छन्।
बाँफिकोट गाउँपालिकामा राप्रपाबाट खम्मु खत्री, एमालेबाट गणेशकुमार केसी, माओवादीबाट चन्द्रबहादुर केसी, काँग्रेसबाट जनककुमार बाँठामगर र जनमोर्चाबाट तुले खत्री अध्यक्षका उम्मेदवार छन्।
उपाध्यक्षमा एमालेबाट खिमा डाँगी, माओवादीबाट तारा बुढा केसी, काँग्रेसबाट नन्दाकुमारी केसी नाथ र राप्रपाबाट मिनाकुमारी मल्ल उम्मेदवार छन्।
बाँफीकोटमा पनि एकीकृत समाजवादीबाट अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार छैनन्। एकीकृत समाजवादीका शान्तिराम देवकोटाले अध्यक्ष र राजकुमारी रानाले उपाध्यक्षको उम्मेदवारी फिर्ता लिएका हुन्।
मुसिकोट नगरपालिकामा नेपाली काँग्रेसले एमालेसँग सहकार्य गरेको छ। जसअनुसार एमालेबाट अन्जना चन्दले मेयरको उम्मेदवारी फिर्ता लिएकी छन् भने काँग्रेसबाट निर्मला गिरीले उपमेयरको उम्मेदवारी फिर्ता लिएकी छन्।
एमालेसँगको सहकार्य अनुसार काँग्रेसले मेयर र एमालेले उपमेयरमा भागबन्डा गरेका हुन्। मुसिकोटको अन्तिम नामावली अनुसार काँग्रेसबाट महेन्द्र केसी, माओवादीबाट बसन्तकुमार शर्मा र राप्रपाबाट सत्यनारायण श्रेष्ठ मेयरका उम्मेदवार छन्।
मुसिकोटमा माओवादीले भने एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको छ। माओवादीले मेयर र एकीकृत समाजवादीले उपमेयर लिनेगरी तालमेल गरिएको हो।
मुसिकोटमा एमालेबाट थलबहादुर ओली, समाजवादीबाट विमलकुमार पुन मगर र राप्रपाबाट सृजना केसी उपमेयरका उम्मेदवार छन्।
सानीभेरी गाउँपालिकामा समाजवादीका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले फिर्ता लिएका छन्। अध्यक्षमा उठेका सन्तोष खड्का र उपाध्यक्षमा उठेका कविताकुमारी ओलीले उम्मेदवारी फिर्ता लिएका हुन्।
अन्तिम नामावली अनुसार सानीभेरीमा काँग्रेसबाट गोरखप्रसाद चन्द, राप्रपाबाट टेकबहादुर घर्ती, जसपा नेपालबाट मिमकुमार केसी, माओवादीबाट बिर्खबहादुर विष्ट अध्यक्षका उम्मेदवार छन्।
यहाँपनि काँग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ। काँग्रेस अध्यक्ष र एमाले उपाध्यक्षमा उठेका छन्।
सानीभेरीमा माओवादीबाट कमला रोका पुन र एमालेबाट प्रकाश खड्का उपाध्यक्षका उम्मेदवार छन्।