स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत जाजरकोटका स्थानीय तहमध्ये दुइटामा मात्र गठबन्धन दलको सहमति कार्यान्वयन गरिएको छ।
जिल्लाको जुनीचाँदे गाउँपालिकामा गठबन्धनको सहमति अनुसार माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको हो।
गठबन्धनले गरेको सहमतिअनुसार यो पालिकामा अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसले पाउने थियो।
सहमतिअनुसार माओवादी केन्द्रकी शिवा आचार्य अध्यक्षको उम्मेदवार छन् भने कांग्रेसबाट वीरेन्द्रबहादुर शाही उपाध्यक्षका उम्मेदवार छन्।
यसबाहेक स्वतन्त्रबाट दुर्गा बहादुर शाही, एमालेबाट बेदबहादुर शाही र राप्रपाबाट मानबहादुर खड्का अध्यक्षका उम्मेदवार छन्।
उपाध्यक्षमा एमालेबाट अम्बाकुमारी शाही र राप्रपाबाट कालु कुमारी शाही उम्मेदवार छन्।
छेडागाड नगरपालिकामा पनि पूर्वसहमति अनुसार नै कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल गरिएको छ। जसअनुसार कांग्रेसबाट मेयरमा रत्नबहादुर खड्काको उम्मेदवारी छ भने माओवादीबाट चन्द्रबहादुर थापाको उपमेयरमा उम्मेदवारी छ।
यस्तै, लालबहादुर तिरुवा राप्रपाबाट र लालबहादुर महतारा नेकपा एमालेबाट मेयरका उम्मेदवार छन्।
उपमेयरमा एमालेबाट अन्जु कुमारी थापा र राप्रपाबाट टीका जैसीको उम्मेदवारी छ।
कुशे गाउँपालिकामा समाजवादी र माओवादीबीच चुनावी तालमेल गरिएको छ।
अध्यक्षमा समाजवादी र उपाध्यक्षमा माओवादीले भागबण्डा गरेका छन्।
पूर्वसहमति अनुसार यो पालिकामा कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष पाउने थियो।
अध्यक्षमा समाजवादीबाट तप्तबहादुर हमाल, राप्रपाबाट नरबहादुर सिंह, एमालेबाट प्रेमप्रसाद घर्ती र कांग्रेसबाट हरिचन्द्र बस्नेत उम्मेदवार छन्।
उपाध्यक्षमा एमालेबाट टीका वली, कांग्रेसबाट देविका कुमारी सिंह र माओवादीबाट विकास रोकाय उम्मेदवार छन्।
नलगाड नगरपालिकामा समाजवादीको प्रमुख/उपप्रमुख दुवैमा उम्मेदवारी छैन।
नलगाडमा माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाउने पूर्वसहमति कार्यान्वयन भएको छैन।
नलगाडमा कांग्रेसबाट छवि पन्त, माओवादीबाट डम्मरबहादुर रावत, एमालेबाट धर्मबहादुर शाही र जसपाबाट सत्यलाल गौतम मेयरका उम्मेदवार छन्। विनबहादुर सिंह स्वतन्त्र उम्मेदवार छन्।
उपमेयरमा राप्रपाबाट डम्मरकुमारी बानियाँ, कांग्रेसबाट सरिता सिंह, एमालेबाट सुनिता बोहरा र सुशिला कुमारी शाही स्वतन्त्र उम्मेदवार छन्।
बारेकोट गाउँपालिकामा गठबन्धनबीच कुनै तालमेल भएको छैन। पूर्वसहमति अनुसार कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाउने थियो।
पालिकाको अध्यक्षमा राप्रपाबाट कमला बस्नेत, समाजवादीबाट नवराज नेपाली, एमालेबाट वीरबहादुर गिरी र कांग्रेसबाट महेन्द्रबहादुर शाह उम्मेदवार छन्।
उपाध्यक्षमा एमालेबाट गीता कुमारी सिंह, माओवादी केन्द्रबाट नरबहादुर गिरी, नेकपा एकीकृत समाजवादीबाट रजना बुढा र राप्रपाबाट सुमित्रा सिंह शाही उम्मेदवार छन्।
जाजरकोटमा गठबन्धको सहमति कार्यान्वन नभएको अर्को पालिका भेरी नगरपालिका हो। यहाँ समाजवादीले मेयर र कांग्रेसले उपमेयर पाउने पूर्वसहमति थियो।
अन्तिम नामावलीअनुसार मेयरमा समाजवादीबाट कमानबहादुर खड्का, माओवादीबाट गगनबहादुर खड्का, एमालेबाट चन्द्र प्रकाश घर्ती, राप्रपाबाट दीपक खनाल, कांग्रेसबाट सनतकुमार कार्की उम्मेदवार छन्।
दीपेन्द्र शाही स्वतन्त्र रूपमा मेयरका उम्मेदवार छन्।
उपमेयरमा माओवादीबाट कृष्णा शर्मा, समाजवादीबाट सरस्वती चन्द, एमालेबाट सावित्री चन्द, कांग्रेसबाट सीता जैसी र राप्रपाबाट हेमाकुमारी शाह उम्मेदवार छन्।
शिवालय गाउँपालिकामा पनि गठबन्धन भित्रको दल समाजवादीले प्रमुख दुवै पदमा उम्मेदवारी दिएको छैन।
यहाँ कांग्रेस, एमाले र माओवादी केन्द्रले एकल उम्मेदवारी दिएका छन्।
पूर्वसहमति अनुसार यहाँ माओवादी केन्द्रले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने थियो।
अध्यक्षमा माओवादी केन्द्रका गोपालबहादुर घर्ती, एमालेका रंग नाथ योगी र कांग्रेसका शेरबहादुर शाही उम्मेदवार छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका गीता शाही, एमालेका नैनसरा शाही र कांग्रेसका धनरूपी कुमारी थापा उम्मेदवार छन्।