नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दिलमा अझै पनि राजतन्त्र रहेको आरोप लगाएका छन्।
तुलसीपुरमा शनिबार गठबन्धन दलले आयोजना गरेको प्रशिक्षण तथा उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभामुख महराले नयाँ संविधान जारी गर्नुअघि सिंहदरबारको एउटा कोठामा भएको छलफलमा ओलीले संविधानमा गणतन्त्र राख्ने र राजतन्त्र हटाउने सन्दर्भमा असहमति जनाउँदै छलफलबाट बाहिरिएको बताए।
‘नयाँ संविधान जारी हुनु अघिदेखि नै ओली गणतन्त्र चाहँदैन थिए,’ महराले भने, ‘र अहिले पनि ओलीको दिलमा राजतन्त्रको बास कायमै छ।’
त्यसको पुष्टि पछिल्ला घटनाक्रमले गरेको उनले बताए। नयाँ संविधानको मर्म विपरित ओली अगाडि बढेर लोकतन्त्र र गणतन्त्र मास्ने बाटोमा लागेपछि पाँच दलीय गठबन्धन निर्माण भएको महराले बताए।
महराले दिल्लीमा भएको बाह्रबुँदे सम्झौता पनि नेपाली कांग्रेस र माओवादी बीचको समझदारीका कारण सम्भव भएको दाबी गरे।
‘हरेक परिवर्तनहरूमा काँग्रेसले भूमिका खेलेको छ र पछिल्ला हरेक परिवर्तन कांग्रेस र माओवादी मिलेर सम्भव भएको छ,’ महराले भने, ‘अहिले प्राप्त उपलब्धीहरू केपीले मास्न अनेक षड्यन्त्रका तानाबाना बुनिरहेका छन्।’
उनले निर्वाचनका माध्यमबाट परास्त गरे मात्रै अग्रगमनको यात्रा तय गर्न सकिने भन्दै उनले सबैमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपिल गरे।
गठबन्धन कसैको व्यक्तिगत इच्छा नभएर देशको राष्ट्रियता नै खतरामा पर्न थालेपछि भएको उनले तर्क गरे।
राष्ट्रियताका सवालमा आफूले टिकट नपाउँदा सानामसिना असहमतिलाई थाँती राखेर गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन महराले आग्रह गरे।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले केपी ओलीको अतिवादले लोकतन्त्रलाई नै समाप्त पार्न थालेका कारण गठबन्धन आवश्यक भएको बताए।
‘केपीजी आफ्नै पार्टीको विधान नमान्ने र संविधान नै नमान्ने नेता हुन्,’ गिरीले भने, ‘उनको अधिनायकवादलाई समाप्त पार्न गठबन्धन आवश्यक थियो।’
नेता गिरीले ओली नेतृत्वको सरकारले केन्द्रमा भताभुंग बनाए जस्तै तुलसीपुर उपमहानगरपालिकामा घनश्याम पाण्डे नेतृत्वको टिमले उपमहानगरलाई अन्धकारमय बनाएको आरोप लगाए।
‘स्मार्ट सिटीका नाममा बवई किनारामा बीच भलिबल खेलाएर नौटंकी गर्ने मेयरको यतिखेर पर्दाफास भइसकेको छ,’ उनले भने, ‘उपमहागरले महशुल तिर्न नसकेर बिजुली बत्ती काटिनुले उनले कस्तो स्मार्ट सिटी बनाए होलान्। यो सबै नगरबासीले छर्लङ अनुभूति गरिसकेका छन्।’
मेयर पाण्डेको पटक-पटकको विदेश भ्रमण तुलसीपुर–घोराही चार लेनको ठेक्का हत्याउन लागि रहेको तथ्य उजगार भइसकेको बताए।
‘पटक-पटक विदेश गैइरहनुको एउटै कारण तुलसीपुर–घोराही चार लेन सडकको ठेक्का हडप्न थियो,’ गिरीले भने, ‘जुन अहिले सबै प्रमाणित भइसकेको छ।’
कार्यक्रममा संघीय सांसद तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हिराचन्द्र केसीले तुलसीपुर उपमहानगरपालिकाले चार वर्षको अवधिमा कुनैपनि एउटा उल्लेख गर्न लायकको काम नभएको बताए। पाँच वर्षको समिक्षा गरेर मात्रै मतदान गर्न उनले आग्रह गरे।
सानातिना असहमतिलाई थाँती राखेर गठबन्धनका पक्षमा लाग्न र मतदान गर्न उनले आग्रह गरे।
त्यस्तै राष्ट्रिय जनमोर्चाका नेता भरत भण्डारीले फाँसीवादी तानासाही प्रवृत्तिको उदय रोक्न गठबन्धन आवश्यकभएको बताए। उनले गठबन्धनका सबै उम्मेदवारलाई साझा उम्मेदवारका रूपमा लिन पनि आग्रह गरे।
‘यो चुनाव पनि एउटा संघर्षको रूप हो,’ उनले भने ‘चुनाव चिन्हका पछि नलाग्नुस्, जब प्रजातन्त्र नै रहेन भने रूख, गिलास र हँसिया हथौडा पनि रहने छैनन्। त्यसैले प्रजातन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुस्।’
उनले घनश्याम पाण्डेको स्मार्ट सिटीको फेसबुक स्ट्याटसलाई व्यंग्य गर्दै स्मार्ट तुलसीपुर हेर्न विरेन्द्र चोक काफी रहेको बताए।
कार्यक्रममा मेयरका उम्मेदवार तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले गठबन्धन आफुहरूको रहर नभएको बताउँदै मुलुकमा प्रतिगमनको उदय रोक्नका लागि भएको स्पष्ट पारे।
‘गठबन्धनका कारण योग्य र सक्षम व्यक्तिले पनि टिकट पाउनु भएको छैन र टिकट नपाउनु एक दिनको पीडा हो,’ उनले भने, ‘तर प्रतिगमनलाई स्थानीय सरकारमा ल्याउनु पाँच वर्षको ज्यादती सहनु हो।’
त्यस्तै उपमेयरका उम्मेदवार जोगबहादुर रानाले आफुले बोल्ने भन्दा बढी काम गरेर देखाउने बताए।
‘हामीले घनश्याम पाण्डे नेतृत्वले गरेको तुलसीपुरको विकास स्पष्ट देखिसकेका छौं,’ उनले भने ‘ हात्ती खौवा प्रवेशद्धार र वीरेन्द्र चोकका खाडलले नै स्मार्ट सिटी कस्तो रहेछ भन्ने सबैलाइ देखाइसकेको छ।’