राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापाले दमक नगरको मेयर बन्ने सपना देखेको यो गाउँ २०३९ सालमा नगर बनेदेखि नै हो।
उनले पहिलो पटक मेयरको चुनाव लडेकै २४ वर्ष भयो। त्यसअघि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए।
थापाले २०३५-०३६ सालमा भद्रपुरको मेची बहुमुखी क्याम्पसमा छँदै उनले राजावादी विद्यार्थीको रूपमा राजनीति सुरू गरेका थिए। उनी त्यसयता उही विचार र उही सपनामा एकाग्रह छन्। अहिले उनी राप्रपाको प्रदेश नम्बर १ का अध्यक्ष छन्।।
लामो राजनीतिक निरन्तरताका कारण दमकमा राम थापा धेरैका लागि ‘राम दाइ’ हुन्। राजनीतिक विचार मिल्ने र नमिल्ने सबैका लागि। अनि उनको मेयर बन्ने राजनीतिक ‘घिडघिडो’ एक पटक पूरा गरिदिनु पर्छ भन्नेको संख्या पनि दमकमा कम छैन।
त्यसो त उनी दमकको मेयर नबनेका हैनन्। राजा ज्ञानेन्द्रको शासनकालमा उनी दमकको मनोनीत मेयर बनेका थिए। उनको घिडघिडो भने जननिर्वाचित मेयर बन्ने हो।
यसपालि उनी त्यो सम्भावनाको नजिक छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा यसपालि एमाले भर्सेस महागठबन्धन बनेको छ। एमालेविरोधी गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र राप्रपा एक ठाँउ उभिएका छन्। अनि गठबन्धनको मेयरको उम्मेदवार बनेका छन् उनै ‘राम दाइ’।
२०७४ सालको स्थानीय निर्वाचनमै थापा दोस्रो भएका थिए। सो निर्वाचनमा एमाले र अहिले गठबन्धनमा जोडिएका दलहरूको मत हेर्ने हो भने थापाले यसपालि नजित्नु पर्ने कारण छैन। २०७४ सालमा एमालेका रामनाथ ओलीले १० हजार ८ सय ६ मत ल्याउँदा थापाले ७ हजार ६ सय ५५ मत मात्रै पाएका थिए।
त्यो निर्वाचनमा दमकमा माओवादी तेस्रो र कांग्रेस चौथो बनेका थिए। माओवादीले ६ हजार ८ सय ९८ मत ल्याउँदा कांग्रेसले ५ हजार ५ सय ३९ मत प्राप्त गरेको थियो।
यसरी २०७४ सालको आँकडा हेर्दा दमकमा एमालेको १० हजार ८ सय मतका विरूद्ध गठबन्धनको २० हजार मत देखिन्छ।
त्यसैले पनि यस अघि एमालेसँग दुई पटक हारेका थापा हौसिएका छन्।
उनी भन्छन्,‘यसपटक मलाई ती दुबै पराजयको पीडा बिर्साउने अवसर छ।’
मेयरको उनको सपना पूरा हुन गठबन्धनका सबै दलहरूले उनलाई इमानदारीपूर्वक मतदान गर्नुपर्नेछ। अन्यथा उनले एकै पदमा हारको ह्याट्रिक गरेको दुःखद् अनुभवसँग साक्षात्कार गर्नुपर्नेछ।
यो सम्भावनाबारे पूर्णतः जानकार उनले भन्दै पनि आएका छन् ‘कांग्रेस, माओवादी र जसपाका मान्छेले इमान्दारी देखाए भने म सजिलै जित्नेछु।’
पाँच दलीय सत्ता गठबन्धनले उनलाई मेयर स्वीकार गर्ने निश्चित हुँदै गर्दा ‘सबै दलहरू इमान्दार भए आफूले चुनाव जित्ने’ बताएका थापा उम्मेवारी दर्तापछिको घरदैलो अभियानले आशावादी देखिन्छन्।
‘अब चुनाव सजिलै जितिने अवस्थामा पुगिएको छ,’ उनले दाबी गरे, ‘गठबन्धनभित्र कुनै समस्या छैन। हामी सबै दलहरू चुनावी अभियानमा आक्रामक रूपमा लागेका छौं।’
एमाले अध्यक्ष ओलीको गृहनगर भएका कारण दमक हरेकजसो चुनावमा चासोको केन्द्रमा पर्दै आएको छ। २०४६ को परिवर्तनपछि भएका सबै स्थानीय चुनावमार्फत् दमकमा एकछत्र वर्चश्व एमालेको रहेका कारण पनि यो नगरले धेरैको ध्यान खिच्दै आएको छ। एमालेबाट हालकी उपमेयर गीता अधिकारी यसपालि मेयर उम्मेदवार बनेकी छन्।
हालसम्मको चुनावी इतिहासको नतिजाअनुसार दमक एमालेको परम्परागत किल्ला हो। २०४९, २०५४ र २०७४ मा भएका तीन वटै स्थानीय चुनावमा दमकको प्रमुख र उपप्रमुखसहित बहुसंख्यक सिटमा एमालेले जितेको थियो।
यी तीनमध्ये पछिल्ला दुईटा निर्वाचनमा राम थापा एमालेका रोमनाथ ओलीका निकटतम् प्रतिद्वन्द्वी थिए। २०५४ मा ओलीसँगै हार व्यहोरेका उनले २०७४ मा पनि दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो।
एमालेको गढ र अध्यक्ष ओलीकै गृहनगर भनेर दमकलाई धेरै ‘हौवा’ बनाइएको भन्दै थापाले असन्तोष पनि प्रकट गरे।
‘अरू दलको भन्दा एमालेको संगठन थोरै बलियो हो,’ उनले भने, ‘कहिल्यै अपराजेय भने होइन। २०६४ मा यही ठाउँमा केपी ओली स्वयं हारेका होइनन्?’
संविधान सभाको पहिलो निर्वाचनमा ओली माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए। २०५६ सालको उपनिर्वाचनमा पनि यो निर्वाचन क्षेत्रबाट कांग्रेसका डाक्टर गोपाल कोइराला निर्वाचित भएका थिए। झापाको दुई क्षेत्रबाट निर्वाचित भएका ओलीले उपनिर्वाचनमा यो क्षेत्र छाडेका थिए।
राप्रपा नेता थापा २०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ओलीले राप्रपा र माओवादीको साथ लिएर जितेको स्मरण गर्छन्।
‘त्यसबेला वाम गठबन्धन बनेको बेला पनि उहाँले आफू सुरक्षित हुन राप्रपाको समेत साथ लिनुभएको धेरै भएको छैन,’ उनले भने, ‘त्यसैले दमकका बारेमा जे भनिँदै आएको छ, त्यसमा पूर्ण सत्यता छैन।’
त्यसो त थापाले ‘सहजै’ अनुमान गरेजस्तो कमजोर पनि छैन दमकमा एमाले। एमालेका पुराना नेता ईन्द्र बुढाथोकीहरू सहितको एउटा टिमबाहेक एकीकृत समाजवादीतिर लाग्नेको संख्या यहाँ थोरै नै छ। त्यसैले विभाजनको ठूलो असर एमालेलाई छैन। तर, एमालेबाहेकका सबै दलले तालमेल गरेका कारण एमाले स्वयंले आफू घेराबन्दीमा परेको महसुस गरेको अवस्था छ। दमकमा इतिहासमै पहिलो पटक रक्षात्मक बनेको एमालेलाई विरासत थेग्ने चुनौती यसपटक सबैभन्दा बढी छ। त्यसका लागि आफूहरू सक्षम रहेको मेयरका उम्मेदवार थापा बताउँछन्।
मेयर बन्ने झन्डै तीन दशक लामो सपना साकार भयो भने थापाले दमक नगरमा के गर्ने छन्? सेतोपाटीको प्रश्नमा उनको जवाफ छ, ‘मसँग दमकलाई नमूना नगर बनाउने, यहाँका जनतालाई साँच्चैको सेवा गर्ने सपना र योजना छ। त्यही हुटहुटीले मलाई निरन्तर प्रयास गर्न प्रेरित गरेको हो।’
उनले दमक नगरभित्र ‘अनियमितता र कमिसनतन्त्रको ठूलो जालो लागेको’ आरोप पनि लगाउँदै आएका छन्।
‘एउटा नगरलाई पारदर्शी र गतिशील तुल्याउने कसरी भन्ने उदाहरण म देखाउनेछु,’ उनको दाबी छ, ‘यिनै सपना पूरा गर्न म निरन्तर प्रयासरत छु।’
मेची क्याम्पसमा उनीभन्दा एक ब्याच मात्रै जुनियर रहेका झापाका पुराना पत्रकार गोपाल गिरी उनलाई ‘सक्रिय राजनीतिक’ व्यक्ति मान्छन्।
‘उहाँ हामीभन्दा एक ब्याच सिनियर हुनुहुन्थ्यो,’ गिरीले भने, ‘उहाँ त्यही बेलादेखि राजनीतिक रूपमा सक्रिय हुनुहुन्थ्यो। उहाँले पञ्चायत र निर्दलका पक्षमा क्याम्पसमा राम्रै अभियानको नेतृत्व गरेको हामीले देखेका थियौं।’
यसरी पुराना राजावादी थापालाई गणतन्त्रवादी दलहरूले काँध थापेर दमकको मेयर बनाउन खोजिरहेका छन्। यसलाई ती दलहरूले ‘दमकको विकास र समृद्धिका लागि स्थानीय आवश्यकता’ भनेर अर्थ्याउँदै आएका छन्।
विद्यार्थी जीवनदेखि हालसम्म एउटै राजनीतिक मुद्दामा अडिग रहेर क्रियाशील रहनुलाई थापाको मुख्य विशेषता मान्नेहरू झापामा धेरै छन्।
‘चुनावी जोडघटाउको हिसाब गरेर दल अदलबदल गर्नेहरू धेरै देखा परे,’ दमक बहुमुखी क्याम्पसका एक जना उपप्राध्यापकले भने, ‘उहाँसँग विचार त मिल्दैन। उहाँको वैचारिकतासँग मेरो विमति नै छ। तर, उहाँ निरन्तर लागिरहनु भएकोचाहिँ देखिएको छ।’
महागठबन्धनबाट दमकको उपमेयर पदमा उम्मेदवार रहेकी कांग्रेसकी रेगिना भट्टराई थापा अनुभवी र क्रियाशील राजनीतिज्ञ रहेको बताउँछिन्।
‘दमकको राजनीतिक र सामाजिक क्षेत्रमा पाँच दशकदेखि सक्रिय रहनुभएको व्यक्ति हो उहाँ,’ भट्टराई भन्छिन्, ‘उहाँलाई दमकको आवश्यकता, बलियो र निर्बल पक्ष सबै थाहा छ। त्यही स्थानीय आवश्यकता बुझेर अनि एमालेको एकतन्त्रीय शासनविरूद्ध परिवर्तनका लागि उहाँको नेतृत्व हामीले स्वीकार गरेका हौं।’