पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडकी लक्ष्मी नेपाली घरदैलोमा मत माग्न आएका जुनसुकै दलका उम्मेदवारसँग पनि झोक्किन्छिन्।
फेरि वडा अध्यक्षका उम्मेदवार बनेका जगतबहादुर पहारीसँग होस्, वा एमालेका उम्मेदवार। भोट माग्न आउँदा जुस्तोसुकै वाचा गर्न तयार हुने नेताहरु देखेर उनी दिक्क छिन्।
‘कुर्चीमा चढ्न पाउँदासम्म जे पनि गर्छु भन्छन्,’ उनले भनिन्, ‘कुर्ची पाएपछि केही गर्दैनन्।’ उनी यसरी झोक्किनुको कारण छ।
उनका छोरा र छोरीले अहिलेसम्म जन्मदर्ता प्रमाणपत्र पाएका छैनन्। जसका कारण छोरी विद्यालय तह र छोरा उच्च शिक्षा अध्यनबाट बञ्चित भएका छन्। वडा कार्यालयले छोराछोरीको जन्मदर्ता नगरिदिँदा समस्यामा परेको उनले बताइन्।
लक्ष्मीकी १५ वर्षीय छोरी मुस्कान तामाङ एक वर्षयता स्कुल जान पाएकी छैनन्। उनलाई पढ्न मन नभएको होइन। माध्यमिक तहसम्म नि:शुल्क पढ्न पाउने राज्य प्रदत्त उनको अधिकार स्थानीय सरकारले बन्देज गरेको छ।
कक्षा ८ उत्तिर्ण मुस्कान गएको वर्ष कोरोना रोकथाम गर्न भएको लकडाउनमा अनलाइन कक्षामा भाग लिइन्। जब परीक्षाको फाराम भर्ने बेला भयो, उनले अध्ययन गर्दै आएको सरकारी स्कुल तालबाराही माविले जन्मदर्ता माग्यो।
मुस्कानसँग जन्मदर्ता थिएन। उनले आमा लक्ष्मी नेपालीलाई भनिन्। छोरीको जन्मदर्ता गर्न लक्ष्मी पटकपटक पोखरा महानगरको वडा नम्बर ६ लेकसाइडस्थित वडा कार्यालय पुगिन्। वडा कार्यालयमा छोरीको जन्मदर्ता गरिदिन उनले मुस्कानलाई पनि सँगै लगेकी थिइन्।
वडा कार्यालयले मुस्कानको जन्मदर्ता दिएन। लक्ष्मीले वडा अध्यक्ष जगतबहादुर पहारीलाई पटकपटक जन्मदर्ता गरिदिन अनुरोध गरिन्। तै पनि गरिदिएनन्। वडाध्यक्ष पहारीसहित वडाका कर्मचारीले छोराछोरीको जन्मदर्ता बुबाको घरमा गएर लिन भनेको लक्ष्मीले बताइन्।
लक्ष्मीको बिबाह काभ्रेका महेश तामाङसँग पोखरामै भएको थियो। महेश पोखरामा मजदुरी गर्दथे। विवाह भएको करिब १२ वर्ष लक्ष्मी र महेश सँगसँगै बिताए। छोरा विवेक र छोरी मुस्कानलाई जन्म दिए।
एकदिन घरबाट निस्केका महेश कहिल्यै फर्केनन्। कहाँ गए, के गर्दैछन्, लक्ष्मी र उनका छोराछोरीलाई पनि थाहा छैन। श्रीमान् बेपत्ता भएपछि लक्ष्मी एक्लैले छोरा र छोरी हुर्काउन झन् मेहनत गर्नुपर्यो। कहिले फेवातालमा डुङ्गा चलाइन्, तर कहिले चटपट बेचिन्।
अहिले पनि उनी लेकसाइडका सडकमा पानी, कुरमेरेलगायत बेचेर बस्छिन्। लेकसाइडको रात्रि जीवनमा पानी बेचेर परिवार पाल्दा पनि उनलाई राज्यले उचित व्यवहार गर्दैन। दिनहुँ लखेट्ने गरेको उनले बताइन्।
लक्ष्मीका छोरा विवेक अहिले २१ वर्षका भए। लेकसाइडमा जन्मदर्ता नपाएपछि उनले पनि उच्च शिक्षा पढ्न पाएनन्। नागरिकता र पासपोर्ट पनि पाएनन्। बुबाको गाउँ र बुबाकै नामबाट मात्र पाइने भनेर विवेक बुबाको खोजीमा हिँडे। काभ्रेमा खोज्दै जाँदा बुबाको घर त भेटाए, तर घरमा पनि बुबाको कुनै अत्तोपत्तो पाएनन्।
बुबाका परिवारमा जन्मदर्तासम्बन्धी आफ्नो समस्या उनले बताए। पोखरामा आमा र बहिनी पनि भएको जानकारी गराए। बुबाका परिवारले पनि निशर्त उनको जन्मदर्ता गरिदिन तयार भएनन्। लक्ष्मीका अनुसार विवेकको जन्मदर्ता गरिदिन हजुरबुबाले १ लाख मागेका थिए। त्यतिका रकम दिन नसकेपछि विवेक यत्तिकै फर्किए।
उच्च शिक्षा अध्ययन गर्न होस् वा कुनै पेसा, व्यवसाय वा उद्यमशील काम गर्न नागरिकता अनिवार्य छ। पोखरा महानगरले जन्मदर्तासमेत नदिएका विवेकलाई हजुरबुबाले पनि जन्मदर्ता नबनाइदिने भएपछि मानसिक तनाबको शिकार भए।
‘छोराले पढ्न पनि पाएन, जागिर खान, विदेश जान पनि पाएन,’ लक्ष्मीले भनिन्, ‘केही गर्न नपाएपछि डिप्रेसनमा पर्यो, अहिले काठमाडौंको रिहाब सेन्टरमा छ।’
कक्षा ८ उत्तिर्ण छोरी मुस्कान पनि छोराकै बाटोमा पुग्छ कि भन्ने लक्ष्मीलाई चिन्ता छ। जन्मदर्ता नभएकै कारण उनको एक वर्ष खेर गएको छ। फेरि कक्षा ९ मा भर्ना भएर पढ्ने उनको सोच छ। फेरि पनि जन्मदर्ता मागेर भर्ना नै हुन नदिने र भर्ना भइहाले पनि परीक्षामा भाग लिन पाइँदैन कि भन्ने चिन्ता लागेको मुस्कानले बताइन्।
यता, तालबाराही माविका प्रधानाध्यापक ताराप्रसाद पोखरेलले जन्मदर्ता नभएकै कारण मुस्कानले पढ्न पाउने अधिकारबाट बञ्चित हुन नपर्ने बताए। कक्षा ८ को परीक्षा फाराम भर्ने बेलामा पनि जन्मदर्ता प्रमाणपत्रबिना नै उनको फाराम भरेर परीक्षामा सहभागी गराएको पोखरेलले बताए।
कक्षा ९ को रजिष्ट्रेशन फाराम भर्दा पनि जन्मदर्ता अनिवार्य भनेको पोखरेलले बताए। जन्मदर्ता नहुँदा विद्यार्थीको मार्कसिट, सर्टिफिकेट, जन्मदर्ता र नागरिकतामा समस्या पर्ने भएकाले विद्यालय तहमै रजिष्ट्रेशन फाराम भर्दा जन्मदर्ता अनिवार्य गरेको उनको भनाइ छ।
मुस्कानको हकमा भने जन्मदर्ताबिना पनि फर्म भरेर पढ्ने वातावरण आफूले मिलाएको उनले दाबी गरे। कक्षा ९ मा पढ्दै गर्दा मुस्कान अन्य स्कुलमा पढ्न जाने भनेर विद्यालयबाट मार्कसिट, सर्टिफिकेट र सिफारिस लगेको तर फेरि सोही विद्यालयमा पढ्न फर्केको प्रअ पोखरेलको भनाइ छ।
‘रजिष्ट्रेशन फाराम भर्ने समय सकिएपछि विवेकले बहिनी मुस्कानलाई ल्याउनुभयो, मैले कक्षा–९ को रजिष्ट्रेशन फाराम नभरी १० कक्षामा जान पाइँदैन, जन्मदर्ता नभएकै कारण फर्म भर्न र पढ्न पाउने अधिकारबाट बञ्चित हुन पर्दैन भनेको छु,’ उनले भने।
पोखरा महनगर ६ लेकसाइडका ०७४ मा निर्वाचित वडाध्यक्ष जगतबहादुर पहारीले मुस्कानलाई पढ्ने वातावरण मिलाउन विद्यालयलाई पत्र लेखेर सिफारिस गरेको बताए। लक्ष्मीका छोरा विवेकले बुबाको गाउँबाटै जन्मदर्ता र नागरिकता निकाल्ने प्रयास गर्ने भनेकाले अन्य प्रक्रियामा आफू सहभागी नभएको उनको भनाइ छ।
विवेक र मुस्कानको नागरिकता आमाको नामबाट बनाउन सर्वोच्च अदालतमा मुद्धा लड्न आफू तयार भएकोसमेत उनले बताए। ‘यहाँ सिडिओले आमाको नाममा नागरिकता दिँदैन, सर्वोच्च अदालतले आदेश दिएपछि मात्र नागरिकता दिँदो रहेछ,’ उनले भने, ‘उहाँहरुलाई मैले राम्रोसँग चिन्छु, उनीहरुको नागरिकताका लागि म लड्छु।’
पहारी वडाध्यक्षबाट राजीनामा दिएर फेरि सोही पदमा उम्मेदवार छन्। लक्ष्मीका छोरा र छोरीको अध्ययन र नागरिकताका लागि आफूले जतिसुकै ‘रिस्क’ मोल्न पनि तयार रहेको उनले बताए।
लक्ष्मीलाई भने नेताहरुको भनाइमा विश्वास छैन। अघिल्लो पटक पनि भोट माग्न आउँदा छोराछोरीको जन्मदर्ता र नागरिकता बनाइदिने आश्वासन उनले पाएकी थिइन्। यसपटक पनि उनलाई त्यही आश्वासन दिएर उम्मेदवार दैलोमा पुगेका छन्।
‘मेरा छोराछोरीले जन्मदर्ता र नागरिकता पहिला पाउनुपर्यो, अनि बल्ल भोट,’ उनले भनिन्, ‘नत्र जसलाई भोट दिए पनि हाम्रा लागि केही हुँदैन।’