सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मीले तातेको छ। दलका नेताहरू आआफ्ना एजेन्डा सुनाउँदै मतदाताका घरदैलोमा पुग्दैछन्।
गत स्थानीय निर्वाचनमा धनगढी उपमहानगरमा नेपाली कांग्रेसले मेयर र उपमेयरसहित १९ वडामध्ये १२ वटामा वडाध्यक्ष जितेको थियो। बाँकी ५ वटामध्ये नेकपा माओवादी केन्द्रले तीन वटामा र नेकपा एमालेले दुई वटामा वडाध्यक्ष जितेका थिए।
नेकपा एमालेले यस पटक धनगढी उपमहानगरमा रणबहादुर चन्दलाई मेयर र कन्दकला रानालाई उपमेयरको उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेर मेयरमा कांग्रेसका नृप वडलाई र माओवादी केन्द्रकी शान्ति अधिकारी क्षत्रीलाई उम्मेदवार बनाएका छन्। वड यसअघिका मेयर पनि हुन्।
मेयर पदमा व्यवसायी गोपाल (गोपी) हमाल स्वतन्त्र उम्मेदवार बनेका छन्। उम्मेदवारहरू घरघर पुगिरहेका बेला मतदाताहरूको प्रतिक्रिया बुझ्ने प्रयास गरेका छौँ। गत निर्वाचनमा दिएको मत कसलाई थियो? दिने मत तपाईंको कसलाई हुन्छ?
यी प्रश्नमा हामीले धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ६ का ५० जना मतदातासँग कुरा गरेका छौँ।
सीमा सेवा, वडा नम्बर १
अघिल्लो पटक हामीले कांग्रेसलाई भोट हालेका थियौँ। हाम्रो टोलका अरूले पनि कांग्रेसलाई नै भोट दिएका थिए। दलित समुदायहरूले आफ्नो समुदायको व्यक्ति नेतृत्वमा पुगेपछि दलितको मर्का बुझ्छन् भन्ने सोचेका थिए तर दलित समुदायका नागरिकका पीडा मेयरले सुनेनन् भन्ने गुनासो छ। मलाई पनि यस्तै लाग्छ।
अहिले फेरि गठबन्धका उम्मेदवार उहाँ नै भएकोले यसपटक पनि उहाँकै पक्षमा मतदान गर्ने कुरा छ। नृप वड फेरि निर्वाचित हुनुभयो भने काम गरेर देखाउनु पर्छ।
जीवन अछामी (२७ वर्ष)
वडा नम्बर ३, वीरेन्द्रनगर टोल
अघिल्लो स्थानीय तह चुनावमा मैले मेयरका लागि एमालेका उम्मेदवारलाई मतदान गरेको थिएँ। वडा अध्यक्षमा पनि एमालेलाई नै दिएको हुँ। त्यतिबेला काकाहरू एमालेमा हुनुहुन्थ्यो। उहाँहरूको कारणले मैले एमालेमा मतदान गरेको थिएँ।
केही गर्छन् कि भन्ने आशाले मतदान गरेका थियौँ तर उनीहरूले चुनाव जितेनन्। यसपालि मेयरमा स्वतन्त्रबाट उठेका गोपाल हमाललाई भोट दिने हो। नृप बडले केही पनि गर्न सकेनन्। गोपालले केही गर्छन् कि भन्ने आशा छ। वडाध्यक्षमा एकीकृत समाजवादीबाट उठेका उम्मेदारलाई भोट दिन्छु।
भागरथी भट्ट (५२ वर्ष)
वडा नम्बर ३
अघिल्लो पटकको चुनावमा मैले मेयरमा कांग्रेसबाट उठेका नृप वडलाई भोट हालेकी थिएँ। राम्रो बाटोघाटो बनाउँछु एक पटक मलाई हेर्नुहोस् भनेकाले हामी श्रीमान्–श्रीमती दुबैले उहाँलाई भोट दिएका थियौँ।
यो पटक पनि हामीले उहाँलाई नै दिने तयारी गरेका छौँ। अब एक पटक जित्नुभयो भने अधुरा काम पूरा गर्नुहुन्छ कि भन्ने सोचेर फेरि कांग्रेसको रूखमा भोट हाल्ने भनेका छौँ।
पार्वती नेपाली (५० वर्ष)
वडा नम्बर १, पशुपति टोल
हामीले अघिल्लो पटक कांग्रेसलाई भोट हालेको हौँ। केही राम्रो होला, बालबच्चाले काम पाउलान् भन्ने सोचेर भोट हालेका थियौँ तर केही भएन। काममा आफ्नालाई मात्र राख्ने, हामीले केही पनि पाएनौँ। फेरि यस पटकको चुनावमा पनि कांग्रेसलाई नै भोट दिने हो।
हामीले पहिलेदेखि नै कांग्रेसलाई भोट हालेका छौँ। पहिलेदेखि दिइराखेकोले फेरि एक चोटी कांग्रेसलाई काम गर्ने अवसर दिने सोच छ।
अबको मेयरले हाम्रा छोराछोरीका लागि रोजगारीको व्यवस्था गर्नुपर्यो। जनताको दुःख बुझेर काम गर्नु पर्यो।
लिजा सेवा (२० वर्ष)
वडा नम्बर १
गएको चुनावमा देशको विकास र प्रगति होला भन्ने सोचेर इच्छा लागेको व्यक्ति कांग्रेसका नृप वडलाई भोट हालेको हो। भोट दिएर जिताए पनि केही काम भएन। पहिला भोट माग्न आउँदा हजुर, हजुर भन्ने! चुनाव जितेपछि हामीलाई चिन्दा पनि नचिन्ने! कुनै मतलब नगर्ने, तिमी को हौ, के समस्या छ भनेर नसोध्ने!
यस्तो मान्छेलाई भोट हाल्नुभन्दा त बरु नहालेकै राम्रो। अब यस पटक गोपी हमाललाई भोट दिने हो। उहाँले केही गर्नुहुन्छ भन्ने आशा छ। यहाँ नाली, रोड बनेको छैन। काम गर्ने मान्छेले काम पाएको छैन। नेताहरू आफ्ना मान्छेलाई मात्रै काम दिन्छन्।
दुर्गा सेवा (२३ वर्ष)
वडा नम्बर १
अघिल्लो निर्वाचनमा मलाई केही थाहा थिएन। त्यति बेला हाम्रो टोलका सबैले कांग्रेसमा भोट हाले। अंकल, दाजुहरूले भनेपछि भनेपछि मैले पनि कांग्रेसलाई नै भोट दिएकी हुँ।
हाम्रो समुदायका नेता मेयरमा उठेका छन् भनेर हाम्रो घरका सबैले नृप वडलाई भोट दियौँ। विकास गर्लान्, हाम्रो समुदायको लागि केही काम गर्लान् सोचेका थियौँ।
हामीले जति सोचेका थियौँ, त्यति काम गरेको जस्तो लागेन। गर्नुभएको पनि होला, सबै नराम्रो भयो भन्ने पनि होइन त हाम्रो वडामा केही पनि विकास भएन। हामीले यस पटक गोपी हमाल सरलाई भोट दिने तयारी गरेका छौँ।
उहाँ एक व्यवसायी पनि हो। पदमा नहुँदा पनि पनि उहाँले राम्रो काम गर्नुभएको छ। उहाँले केही उद्योग खोल्न सक्नु हुन्छ। रोजगार पाइएला, देशको विकास होला भन्ने सोचेर भोट दिने विचार गरेको हो। पहिलेका जनता चुनावमा मासुभात पैसाले बिक्थे, अहिले त्यस्तो छैन।
राम चौधरी (६० वर्ष)
वडा नम्बर २, बहैयाबेहडी
अघिल्लो पटक कांग्रेसलाई भोट हालेका हौँ। यसपालि त एमालेबाट चिनेका मान्छे उम्मेदवार छन्। मेयर र वडाअध्यक्षमा एमालेलाई नै दिनुपर्ला जस्तो छ। जसलाई भोट दिए पनि कुनै पनि पार्टीले गर्दैनन्। मलाई सोच्न पनि मन लाग्दैन। काम केही गर्ने होइनन्, आश राखेरमात्रै के गर्ने!
उसै पनि म त यसपटक भोट हाल्न जाने होइन। भोट हाल्न गएपछि खुट्टा दुखी हाल्छ। लाइनमा धेरै बेर बस्दा खुट्टा दुख्छ, गर्मी हुन्छ। हामी बुढापाकालाई त असाध्यै गाह्रो हुन्छ।
लक्ष्मी भट्ट (३२ वर्ष)
वडा नम्बर ६
मलाई त पहिलो पटक जाँदा भोट कसरी हाल्नु पर्छ भन्ने थाहा थिएन, अर्कोसँग सिकाइमागेकी थिए। मेयरमा कांग्रेसका नृप वड र उपमेयरमा पनि कांग्रेसकै सुशीला मिश्रलाई भोट दिएकी थिएँ। उपमेयरले दीनदुःखी महिलाको दुःख बुझेकी छन्।
यो पटक पनि कांग्रेसलाई नै दिने सोच छ। समय अझै बाँकी छ। अब जित्ने उम्मेदवारले दीनदुःखी, गरिब र पीडामा भएका मान्छेहरूलाई हेनुपर्छ।
सागर महतो (२३ वर्ष)
वडा नम्बर २, सन्तोषी टोल
म यसपालि पहिलो पटक भोट हाल्दैछु। यसपालिमात्रै मेरो मतदाता नामावली बनेको हो। कसले विकास गर्छ, कसले राम्रो काम गर्छ भन्ने बुझेरमात्रै मतदान गर्ने हो। अघिल्लो चुनावमा आमाबुबाले मेयरमा स्वतन्त्र उम्मेदवार गोपी हमाललाई भोट दिएका थिए।
यस पटक फेरि उहाँ मेयरको उम्मेदवार बन्नुभएको छ। आमाबुबा यस पटक पनि गोपीलाई नै दिने भन्नुहुन्छ। मैले चाहिँ निर्णय गरेको छैन। जसले काम गर्छ जस्तो लाग्छ उसलाई दिने हो।
डिला खड्का (७० वर्ष)
वडा नम्बर २
मेरो उमेर धेरै भए पनि मैले एक पटकमात्रै भोट हालेकी छु, गएको चुनावमा। हाम्रो घरका मान्छेले कांग्रेसलाई भोट दिन्छन्। हाम्रो ससुरा नाता पर्ने कांग्रेसबाटै उम्मेदवार थिए। कांग्रेसलाई भोट हाले पनि हामीलाई सुविधा भएन, भोट हाल्नु मात्रै हो। बाटोघाटो राम्रो छैन। दिनभरी आँखामा धुलोधुवाँ पस्छ। बाहिर आउनै सकिन्न। केही पनि काम भएन।
टोलका बाटाहरू त्यसै अलपत्र छन्। सरकारका पैसा कहाँ जान्छन्, जान्छन्! अरू पार्टी पनि कांग्रेसजस्तै हुन्। पार्टीलाई दिनुभन्दा यो पटक स्वतन्त्रलाई भोट दिने विचार छ।
कमला राना (५० वर्ष)
वडा नम्बर ३
मलाई चुनावको बारेमा धेरै थाहा हुँदैन। म त नेताहरूलाई राम्रोसँग चिन्दिनँ। पहिला का्रंग्रेसलाई भोट दिएको थिएँ। यो पटक पनि त्यसैलाई दिने कुरा भएको छ। अहिले त पहिलाभन्दा बाटोघाटो पनि बनेको छ। अझै सुधार गर्नु पर्यो।
वास्तविक गरिब जनतालाई रोजगारीको व्यवस्था गर्नुपर्यो। हामीले दिएको भोटअनुसार नेताले काम गर्नुपर्यो।
भागेश्वरी साह चन्द (३४ वर्ष)
वडा नम्बर २, सन्तोषी टोल
पहिलाको चुनावमा मैले एमालेलाई भोट दिएँ। एमालेमा हाम्रा मान्छे छन्। सासुससुराहरूले कांग्रेसलाई दिनुभयो। यस पटक म स्वतन्त्र उम्मेदवारलाई भोट दिने तयारीमा छु। पार्टीका मान्छेले भन्दा स्वतन्त्रले केही राम्रो गर्छ कि भन्ने आश हो। नयाँ प्रतिनिधि चुन्नु ठिका होला जस्तो लागेको छ।
नगरप्रमुखमा जितेपछि ढल निकास, सडकको काम गर्नु पर्यो। खोलानालामा अतिक्रमण हटाउनु पर्यो। जनतालाई सुविधा दिनु पर्यो। गोपाल हमालले जिते काम गर्छन् जस्तो लाग्छ। उहाँले व्यक्तिगत सम्पत्तिबाट नागरिकलाई निःशुल्क शवबाहनको सुविधा दिनुभएको छ।
कलावती पडाल (३९ वर्ष)
वडा नम्बर ३
बाटोघाटो होला, केही सुविधा होला, बालबच्चाले रोजगारी पाउलान् पटक का्रंग्रेसले भोट दिइयो। बाटो उस्तै छ, बर्खामा हिँड्न सकिन्न। रोजगारी पनि पाइएन। फेरि एक पटक फेरि कांग्रेसलाई मौका दिने हो कि भन्ने पनि सोचेकी छु।
फेरि पनि काम गरेन भने कांग्रेस पार्टीमा कहिल्यै भोट हालिन्न। भोट माग्ने बेला यो र त्यो सबै गर्छु भन्छन्। जितेपछि चिल्लागाडीमा हिँड्छन्, हाम्रो दुःख कहाँ देख्छन् र!
टेकबहादुर कार्की (४० वर्ष)
वडा नम्बर ३, बोराडाडी
नेताहरू घरघरमा भोट माग्न आएका छन्। अलगअलग पार्टीका मान्छे आउँछन्। हामीलाई विकास गर्ने र गरिबदुःखी जनतालाई हेर्ने नेता चाहिन्छ। म त फेरि पुरानैलाई भोट दिन चाहन्छु। एक पटक नृप वडलाई दोहोर्याउनु पर्छ।
उहाँको कार्यकालमा बाटोघाटो र अरू संरचनाहरू बनेका छन्, कति ठाउँमा बन्दैछन्। शिक्षा क्षेत्रमा पनि राम्रो भएको छ, छ भवन बनाउने काम भएको छ। अब उहाँले रोजगारी दिने क्षेत्रमा काम गर्नुपर्छ।
जानकी राना (४५ वर्ष)
वडा नम्बर ३
गएको स्थानीय चुनावमा सूर्यमा भोट हालेका थियौँ। अहिले फेरि भोट माग्न नेताहरू घरघर पुग्दैछन्। यस पटक कांग्रेसलाई दिने विचार छ। हाम्रो टोलमा कांग्रेसलाई नै दिने टोलमा तयारी छ।
जेन्युमती राना (२३ वर्ष)
वडा नम्बर ३, बोराडाडी
म नयाँ मतदाता हुँ। पहिलो पटक भोट हाल्ने भएर खुसी लगेको छ। धेरै नेताहरू घर पुगेर तपाईको भोटको आशा छ, जिताउनुहोस् भन्छन्। मेरो घरका मान्छेहरू कांग्रेसलाई भोट दिने भन्ने कुरा गर्दैछन्। म पनि त्यस्तै सोच्दैछु, टुंगो भएको छैन।
हेरौँ, हामीले हालेको भोट नेताहरूले कति सदुपयोग गर्छन्। हामीलाई त रोजगारी दिने मान्छे चाहिएको छ। हाम्रो टोलमा पढेलेखेका मान्छे फाल्तु छन्।
हरिदास राना (५० वर्ष)
वडा नम्बर ३
नेताहरू त के के भन्छन् के के! हाम्रो मनमा कुरा फरक छ। बजार बनाएर गाउँका मान्छेलाई काम लाग्दै। हाम्रा लागि त गाउँघर बनाइदिनु पर्यो। हामी त गाउँघरमा बस्ने मान्छे, बजार त कहिलेकाहीँ मात्रै जाने हो। गाउँको विकास हुनुपर्यो, बाटो हुनुपर्यो, ढलनिकास हुनुपर्यो।
ऐलानीमा बसेकालाई लालपुर्जा दिनु पर्यो। सरकारले हामीलाई पोका नै फालिदिए पनि पुग्दैन। हाम्रोमा बढी डुबान हुन्छ। डुबान कम हुने व्यवस्था गर्नुपर्यो। जसले हात हालिसकेको छ, उसलाई फेरि एक टक काम गर्न दिऊँ भन्ने मेरो विचार छ।
नयाँ आउनेलाई त सिक्नै धेरै दिन लाग्छ भन्छन्। हात हालेको मान्छेलाई काम गर्न दिए अधुरा काम बन्छन्। मैले अघिल्लो चुनावमा पनि कांग्रेसलाई नै भोट हालेको थिएँ।
नेत्रकुमार सेवा (५४ वर्ष)
वडा नम्बर १, पशुपति टोल
गएको चुनावमा कामले बाहिर जानुपरेकाले मैले भोट हाल्न पाइनँ। यस पटक कांग्रेस पार्टीलाई भोट दिन्छु। मले पहिलेदेखि नै कांग्रेसलाई भोट दिएको हुँ। टोलको नालीमा ढक्कन छैन, सडक बने पनि कति ठाउँमा नाली छैन। कति ठाउँमा गुणस्तरहीन काम भएको छ। यसलाई सुधार हुनु पर्यो। नेताले हाम्रो मतको सदुपयोग गर्नु पर्यो।
हामीलाई धेरै चाहिएको छैन। जित्नेहरूले रोजगारी नभएकालाई र खान नपाएकालाई हेर्नुपर्यो। हाम्रो ठाउँ बसेको ठाउँ व्यवस्थित, हराभरा र सफा बनाउनुपर्यो। उद्योगधन्दा पनि खोल्न सके जनता खुसी हुन्छन्।
पर्शुराम चौधरी (४५ वर्ष)
वडा नम्बर ३
पहिलाको चुनावमा वडाअध्यक्षमा माओवादीका बलबहादुर ऐरलाई भोट हालेको थिएँ। मेयरमा चाहिँ रूखमा छाप लगाइदिएँ। बलबहादुर मेरो साथी, चुनाव जितेपछि राम्रै काम गरे। जनताले सहयोग पाए। बाटोघाटो राम्रै बनाए। गाउँमा झैझगडा हुँदा राति आएर पनि मिलाए।
मेयरले राम्रो काम गरेको देखिनँ। चुनाव जितेपछि जनता कस्तो छन् भनेर एक पटक त भेट्न त आउन सकिन्थ्यो, त्यो काम उहाँबाट भएन। एकचोटी मुख पनि हेर्न आउनुभएन।
अहिले फेरि अधुरा काम पूरा गर्छु भन्दै फेरि उम्मेदवार बन्नुभएको छ। सक्नेले पहिला नै पुरा गर्नुपर्ने हो। चुनावमा मुखले ठिक्क पार्छन्, जितेपछि काम गर्दैनन्। मेरो घर नदीको छेउमा छ। ऊ बेला चुनाव जितँे भने तटबन्ध लगाइदिने भनेर मख्ख पारे तर काम भएन।
यस पटक गठबन्धन छ, फेरि पनि मेयरमा नृप वडलाई नै भोट दिइन्छ जस्तो छ। मेयरले न्याय गर्नुपर्यो। समस्या परेका बेला फोन उठाउनु पर्यो।
मनोज जैरु (५२ वर्ष)
वडा नम्बर १
अहिले दलका नेताहरू चुनावी प्रचारका लागि वडामा घुमेका छन्। मतदाताहरू राम्रो उम्मेदवार भन्दा पनि दारु, मासु, पैसामा मात्रै बिक्ने गर्छन्। मतदातरुलाई केही थाहा छैन। नयाँ नेतृत्व, नयाँ काम देख्न चाहँदैनन्। चुनाव प्रचार गर्नेहरू पनि दारु खाएर घरदैलोमा पुग्छन्।
यस पटक मेयरमा गोपाल हमाल र उपमेयरमा राप्रपालाई भोट हाल्ने हो। अघिल्लो पटक त का्रंग्रेसलाई भोट दिएको थिएँ।
मोहनलाल राना (७० वर्ष)
वडा नम्बर ८, धनगढी गाउँ
मैले धेरै पटक भोट हालेँ। धेरैलाई जिताउने काम गरेँ। गएको स्थानीय तहको चुनावमा नृप वडलाई भोट दिएको थिएँ। वडा अध्यक्षमा पनि कांग्रेसकै नारायण बराललाई भोट दिए। उनीहरूले ठिकै काम गरे, धेरै गरेनन्।
म यस पटक आँपमा भोट दिने हो, गोपाल हमाललाई। सबै काम गर्छु, पैसा लिन्न, बरु आफ्नो पैसा पनि विकासमा लगाउँछु भनेका छन्।
म त बस्तीमा बाटो राम्रो भएको देख्न चाहछु। धेरैले रोजगार पाएको देख्न चाहन्छु। त्यही कारण गोपाललाई भोट दिने हो।
रामराज राना ५५ (वर्ष)
वडा नम्बर ८
गएको चुनावमा मैले कांग्रेसलाई भोट दिएँ। आफ्नो मनलाई पार्टी राम्रो लागेर दिएको थिएँ। अहिले पनि उम्मेदवार सबै राम्रा छन्। यस पटक चाहिँ मेयरमा पार्टीका मान्छेलाई नदिने, स्वतन्त्रलाई दिने हो।
रामलाल राना (५० वर्ष)
वडा नम्बर ८
अघिल्लो पटक कांग्रेसलाई भोट दिएको हो। कांग्रेसले राम्रो गर्ला भनेको दिएको थिएँ। यस पटक मलाई गोपी हमाल राम्रो लागेको छ। उनले नगरपालिकाको पैसा खाँदैनन्। उनको बानी राम्रो छ, काम राम्रो गर्छन्। यस पटक उनैलाई भोट दिने हो।
नथोला राना (४५ वर्ष)
वडा नम्बर ८
पाँच वर्ष पहिला कांग्रेसलाई जिताएका थियौँ। यस पटक नयाँ गर्ने मान्छे गोपाल हमाल राम्रो लागेको छ, भोट उनैलाई दिन्छु। नयाँलाई पनि अवसर दिनुपर्छ।
निर्मला सिजापति (६५ वर्ष)
वडा नम्बर ९
महिलाहरूलाई रोजगारी दिने, सीप सिकाउने, बाटो, पानी, बिजुली होला भन्ने सोचर भोट दियौँ। हाम्रो वडामा केही काम पनि भयो। घाट बन्यो, वडा कार्यालय बन्यो, पोखरी बनाएर गाउँका मान्छेलाई माछा पालन गर्न दिएको छ। जनप्रतिनिधिले राम्रो काम गरे।
यसपटक चाहिँ नयाँ मेयर आउनु पर्छ भन्ने लागेको छ। नयाँसँग जोसजाँगर हुन्छ, काम पनि गर्छ। म चाहिँ गोपाल हमाललाई समर्थन गर्छु। युवालाई रोजगारी दिन्छु भन्नुभएको छ। सरकारको पैसा लिँदैन भनेको सुनिन्छ। वडा अध्यक्षमा कांग्रेसको मान्छेलाई भोट दिने हो।
सोना राना (५० वर्ष)
वडा नम्बर ८
पहिला कांग्रेसलाई जिताएका हौँ। यसपालि नयाँलाई भोट दिने सोच छ। गाउँका मान्छे यो पटक स्वतन्त्रलाई भोट दिने भन्दैछन्। मेरो समर्थन पनि नयाँलाई नै छ।
रजनी चौधरी (४० वर्ष)
वडा नम्बर ९
पहिलो कांग्रेसको रूखमा भोट दिएका हौँ। अहिलेको चुनावमा नयाँ मान्छे आएका छन्। हाम्रो गाउँका मान्छे कांग्रेसमा छन्। आफ्नो मान्छे काम लाग्छन्। अरूलाई भोट दिनुभन्दा कांग्रेसलाई नै दिने भन्ने छलफल चल्दै छ।
बाधुराम डगौरा (५० वर्ष)
वडा नम्बर १२
मलाई यो पटक मेयरमा गोपाल हमाल र उपमेयरमा एमालेकी कन्दकलालाई जिताउन मन छ। अघिल्लो पटक हाम्रो घरका सबैले कांग्रेसलाई दिएका हौँ तर हामीले चाहेको जस्तो काम कांग्रेसले गरेन। नयाँ आए काम हुन्छ कि भन्ने लागेको छ।
हात्तीको देखाउन र खाने दात फरक हुन्छ भनेजस्तै उम्मेदवारले अहिले गर्छु भनेर फेरि चुनावपछि गरेनन् भने हामीलाई दुःख लाग्छ।
खोजराम चौधरी (६९ वर्ष)
वडा नम्बर १२, मनेरा
मैले कति पटक भोट हालेँ, थाहा छैन। पाँच वर्षअघि मेयरमा नृप वडलाई भोट दिएका थियौँ। यो पटक कसलाई दिने भन्ने ठ्याक्क थाहा छैन। मलाई यो पटक कोही पनि नेता मन परेका छैनन्।
दलबहादुर चौधरी (४५ वर्ष)
वडा नम्बर १२
भोट माग्न धेरै नेता आएका छन्। बर्खामा धेरै डुबानको समस्या छ। जसले नाली बनाउँछ उसैलाई भोट दिने हो। पाँच वर्षसम्म बस्तीमा नाली बनेन।
अघिल्लो पटक रूखलाई भोट हालेको हो। मैले अहिलेसम्म सबै भोट रूखमा नै हालेको छु। भोट हाले पनि काम गर्दैनन्। यो पटक डराएको छु।
मोहन चौधरी (३२ वर्ष)
वडा नम्बर १२, मनेहरा शिविर
एक न एक जनालाई त भोट दिनै पर्छ। भोट सूर्यमा हाल्ने हो। गाउँमा अरूले पनि सूर्य नै भनेका छन्। म पनि यो पटक सूर्यको सर्मथन गर्छु।
अघिल्लो पटक कांगे्रसलाई भोट दिएको हो। हाम्रा धेरै दुःख छन्। बर्खामा डुबानले घरभित्र पानी बग्छ। पानी बग्ने नाला छैनन्। सूर्यले केही गर्ने आशा छ। यो पटक सूर्यले जितेको हेर्ने मन छ।
लवदेव भट्ट (५८ वर्ष)
वडा नम्बर ९, बङ्ग्राकटान
मैले त २०४६ सालदेखि भोेट हालेको हो। अघिल्लो स्थानीय तहमा कांग्रेसलाई दिएको हो। केही काम गर्ने आशाले जिताइयो। मेयर र वडाअध्यक्ष पनि भनेअनुसार काम पनि गरेकै हुन्।
अहिलेको चुनावमा माहोल बदलिएको छ। अहिले पनि वडा अध्यक्ष र सदस्यमा कांग्रेसलाई नै भोट दिने हो। मेयरमा चाहिँ आँपमा भोट हाल्ने, गोपी हमाल मेरो चिनेको साथी हो।
मिनादेवी नेपाली (३९ वर्ष)
वडा नम्बर ९, गौरीकटान
अघिल्लो पटक स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई भोट हालेको हो तर उहाँले जित्नु भएन। यो पटक पनि उठ्नुभएको छ तर हामी एमालेलाई भोट दिने हो। एमालेका एजेन्डा राम्रा छन्। देशको विकासका लागि काम गर्छ भन्ने लागेको छ।
गणेश नेपाली (४२ वर्ष)
वडा नम्बर ९, गौरीकटान
जनताको माग नेताले कहिल्यै पूरा गर्दैन। हाम्रो बस्तीमा केही पनि सुविधा छैन, रोजगारी छैन। यहाँका सबै मानिस इन्डियाका भरमा बाँचेका छन्। अस्पतालमा पुर्जी काटेर मेडिकलबाट औषधी किन्नु पर्छ। म त बम्बैमा बस्छु। यहाँ केही सुविधा छैन। धेरै काम गर्न बाँकी छ।
यहाँ स्कुलको सुविधा राम्रो छैन। हरेक गाउँमा एम्बुलेन्स हुनु पर्यो। राति बिमारी परे अस्पताल जाने साधन पाइँदैन, एम्बुलेन्स भए राम्रो हुन्छ।
अघिल्लो स्थानीय चुनावमा गोपाल हमाललाई भोट दिएको हो। यस पटक एमाले पार्टीमा आशा राखेर उसलाई भोट दिने सोच छ। एमालेले देशको चुच्चे नक्सा बनाएको छ। रेल ल्याएको, भत्ता बढाएको काम देखेर एमालेलाई आशा गरेका छौं।
धर्मे नेपाली (६८ वर्ष)
वडा नम्बर ९
अघिल्लो पटक सूर्यलाई भोट दिएको हो तर हार्यो। यस पटक चाहिँ सूर्यलाई जिताउने हो। बुढापाकालाई भत्ता बढाएको छ, एमाले नै भोट दिने हो।
भाका नेपाली (६६ वर्ष)
वडा नम्बर ९
अघिल्लो पटक एमालेलाई भोट दियौँ। हामीले भोट दिएको मान्छे नजित्दा मनमा नराम्रो लाग्यो। यस पटक पनि एमालेबाटै राम्रो उम्मेदवार उठेका छन्। फेरि भोट एमालेलाई नै दिने हो। हामीले एमाले पार्टी राम्रो मानेर भोट दिने तयारी गरेका हौँ।
मनसरा देवी विश्वकर्मा (५० वर्ष)
वडा नम्बर ९
पहिला एमालेलाई भोट दिएका थियौँ तर जितेन। विकास हुन्छ कि, गरिबदुःखीलाई सहयोग हुन्छ कि भन्ने सोचेका थियौँ। एमाले जितेन, काम पनि केही भएन।
यस पटक हामी गोपी हमाललाई भोट दिने हो। उसले गाडी फ्री चलाएको छ भन्छन्। राम्रो छ भन्ने कुरा छ।
नीरञ्जन कोली (३२ वर्ष)
वडा नम्बर ९
बिहानदेखि साँझसम्म नेताहरू आएका आयै छन्। म इन्डियामा काम गरेर खाने मान्छे हुँ। चुनावसम्म बसेर फेरि उतै जान्छु।
मेयरमा गोपी दाइ (गोपाल हमाल) लाई र वडा अध्यक्षमा एमालेलाई भोट दिने सोच छ। अघिल्लो पटक एमालेलाई दिएका थियौँ। गोपी दाइका योजना राम्रो लागेर उहाँलाई भोट दिन लागेको हो।
कमला कोली (५२ वर्ष)
वडा नम्बर ९
पहिला एमालेलाई भोट दिएको थियौँ। आफ्ना मान्छे पनि एमालेमा थिए। राम्रै मान्छे छन्, आफ्ना छोराछोरीले काम पाउँछन् भन्ने सोच्यौँ तर एमालेले जितेन।
यसपालिको चुनावमा कसलाई भोट दिने भनेर छलफल गर्दै छौँ। हाम्रो घरमा भोट दिने नौ जना छौँ। यसपालि त कांग्रेसलाई भोट दिउँला भन्ने सोच छ।
नारदमुनी राना (५२ वर्ष)
वडा नम्बर ८
मैले पञ्चायतकालदेखि नै भोट हालेको हुँ। धेरै पटक भोट हाले पनि देशको हालत उस्तै छ। चुनाव जितेपछि गरिबदुःखी मान्छेलाई कसैले हेर्दैन। यो देश नेतागिरीले चलेको छ, नेतालाई भोट नहालौँ भने पनि हुँदैन।
अघिल्लो पटक एमालेलाई भोट हालेका थियौँ। यस पटक पनि एमालेलाई नै दिने हो। एमालेमा मेरो एक जना मित हुनुहुन्छ। उहाँ हाम्रो समुदायबाट राम्रो स्थानमा पुग्नुभएको छ। आफ्नो मान्छे काम लाग्छन् कि! केही भए पनि नभए पनि आफ्नै मान्छेलाई भोट दिने कुरा छ ।
हाम्रो समस्या धेरै छ। किसानलाई मल, बिउ छैन।
कृष्ण भट्ट (४८ वर्ष)
वडा नम्बर ५
अघिल्लो पटक चुनावमा म भारतमा थिएँ, भोट हालिनँ। अहिले यहीँ अटो चलाउँछु। मलाई त चुनावमा कसैलाई पनि भोट हाल्ने विचार छैन।
नेताहरूले खानलाई मात्र चुनाव गर्छन्। बाटो बनाउँदैनन्, खानेपानी छैन, खाली गठबन्धन भनेको छ। बाहिरको खाने मात्रै हुन्। विदेशीका खुट्टामा पर्छन्।
तेजराज चौधरी (४६ वर्ष)
वडा नम्बर १५
नेताहरू राम्रो टोल बनाउँछु, राम्रो काम गर्छु भन्थे। पहिला एमालेलाई भोट दिएको हो। एमालेले उज्यालो दिन्छ भन्छन्।
विनय चौधरी (४५ वर्ष)
वडा नम्बर १५
अघिल्लो चुनावमा मैले एमालेलाई भोट हालेको हुँ। आफ्नो गाउँठाउँको विकास होस् भनेर भोट दिएको हो। अलिअलि तानतुन काम भयो। यो पटक त नयाँ मान्छेलाई भोट दिने हो।
करणदास राना (६१ वर्ष)
वडा नम्बर ११, बेला
अघिल्लो पटक वडा अध्यक्षमा माओवादीलाई र मेयरमा नृप वडलाई भोट हालेका थियौँ। जितेपछि गाउँमा रोड बन्यो तर यो पटक नयाँ मान्छेलाई भोट दिने कुरा भएको छ।
कर्णबहादुर मल्ल (४८ वर्ष)
वडा नम्बर ६, जाई
मैले दस पटक मतदान गरेँ, उपलब्धि त केही भएन। जति हुनुपर्ने हो त्यति भएन। अघिल्लो पटक मैले एमालेलाई दिएको थिएँ। पछि केपी ओली बहुमतको सरकारमा बस्दा झगडा मात्र गरे, काम गरेनन्।
यस पटक ठूलो पार्टीलाई भोट दिइँदैन, स्वतन्त्रलाई दिने विचार छ।
मोहन सिंह (८७ वर्ष)
वडा नम्बर ६
भोट हालेको जस्तो भएन। अघिल्लो पटक एमालेलाई भोट हाल्यौँ जितेन। यस पटक कांग्रेसलाई दिने कुरा छ। काम त कसैले पनि गर्दैन। भोट पनि दिऊँ कि नदिऊँ जस्तो जस्तो लाग्छ। अहिले छलफल हुँदैछ। अझै समय छ।
डिक्रा देवी साउद (४८ वर्ष)
वडा नम्बर ६
जसलाई दिए पनि एक भोट दान दिने हो। काम गर्ने कोही होइन। नेता आफ्ना हुँदैनन्। भोलि कुर्सीमा बसेपछि नेताहरू बोल्दैनन्। यस पटक स्वतन्त्र उम्मेदवारलाई भोट दिने हो भन्ने मनमा लागेको छ।
सुर्जे साउद (७६ वर्ष)
वडा नम्बर ६
तराई आएपछि एक चोटी भोट दिएको हो। एमालेले भत्ता दिएको छ। यो पटक त अलि बढी काम गर्नेलाई भोट दिने हो।
हाम्रो दुःख कहिल्यै कम हुने होइन। काम गर्नेलाई भोट दिए केही राम्रो होला भन्ने आशा छ।
धर्मा राना (४८ वर्ष)
वडा नम्बर ११
हामीलाई राम्रो नेता चाहिएको छ। गाउँमा बिजुली, बाटो खानेपानी चाहिएको छ। हाम्रो पिरमर्का बुझिदिने नेता हुनुपर्छ।
अघिल्लो पटक वडा अध्यक्षमा माओवादीलाई र मेयरमा कांग्रेसलाई भोट दियौँ। यस पटक गठबन्धनलाई भोट दिने कुरा छ। नयाँ मान्छे पनि ल्याउनु पर्छ भन्ने लागेको छ।
वीरमाया राना (२४ वर्ष)
वडा नम्बर ११
अघिल्लो पटक माओवादीलाई भोट हालेको हो। आफ्नो मान्छेले आफ्नो गाउँ ठाउँको विकास गर्छ। यो पटक पनि माओवादीलाई नै दिने हो। आफ्नो मान्छेले गाउँको दुःख देख्छ।