वीरगन्जको घन्टाघरनजिकै आदर्शनगरका ठाउँ-ठाउँमा चुनावी ब्यानर टाँगिएका छन्।
एउटा ब्यानरमा महानगरपालिकाका मेयर उम्मेदवार राजेशमान सिंह र वडा नम्बर १० का अध्यक्ष तथा सदस्य उम्मेदवारहरूको फोटो छ। उनीहरू सबै जनता समाजवादी पार्टी (जसपा) का हुन्।
त्यहीँ अर्को ब्यानरमा उपमेयर उम्मेदवार इम्तियाज आलम र उक्त वडाका अध्यक्ष तथा सदस्य उम्मेदवारहरूको फोटो छ। उनीहरू चाहिँ नेपाली कांग्रेसका हुन्।
पाँचदलीय गठबन्धनले वीरगन्ज महानगरमा जसपाका सिंहलाई मेयर र नेपाली कांग्रेसका आलमलाई उपमेयर उम्मेदवार बनाएको छ। तर यहाँका चुनावी प्रचार सामग्रीले गठबन्धनको झल्को दिँदैन। गठबन्धनका मुख्य दल जसपा र नेपाली कांग्रेस एकअर्काका उम्मेदवारको नामै नलिई आफू आफू मात्र प्रचारमा गइरहेका छन्।
आदर्शनगरका एक जना कपडा व्यवसायीले नेपाली कांग्रेसको मुख्य प्रभाव क्षेत्रमा कांग्रेसकै उम्मेदवार नहुँदा चुनावको रौनक नदेखिएको बताए।
‘वीरगन्जको मुख्य बजार क्षेत्र कांग्रेसको गढ हो तर आफ्नो पार्टीको मेयर उम्मेदवार नहुँदा यहाँका कांग्रेसलाई यसपालि चुनावको रौनक छैन,’ उनले भने, ‘मुख्य पदमा आफ्नो उम्मेदवार नहुँदा उनीहरूले भोट कसलाई हाल्छन् यसै भन्न सकिँदैन।’
वीरगन्ज–१० का सुनिलकुमार कलवार नेपाली कांग्रेसका कार्यकर्ता हुन्। उनले गत निर्वाचनमा मेयरमा कांग्रेसका अजयकुमार द्विवेदीलाई भोट हालेका थिए। उनी द्विवेदीको चुनाव प्रचारमा दिनरात खटेका पनि थिए। यसपालि कांग्रेसले मेयरमा अर्को पार्टीका उम्मेदवारलाई सघाएपछि प्रचारमा निस्कने जाँगर नचलेको उनी बताउँछन्।
‘वडाध्यक्ष र सदस्यमा आफ्ना उम्मेदवारलाई जिताउनुपर्छ भनेर लागेको छु। मेयरमा त जसले जिते पनि हामीलाई सरोकार भएन,’ उनले भने।
वीरगन्ज–११ का कांग्रेसका शुभेच्छुक युवा शिवकुमार यादव श्रीनगरको एक चिया पसलमा साथीहरूसँग गफिँदै थिए। ‘आफूले सजिलैसँग चुनाव जित्ने ठाउँमा अर्को पार्टीलाई मेयरमा उठाएर हाम्रा नेताले गर्न नहुने काम गरे। यसको असर त भविष्यको कांग्रेसमा पर्छ,’ उनले भने, ‘हामीले गलत निर्णय गर्ने नेताहरूलाई सबक सिकाउनुपर्छ। यसपालि गठबन्धनलाई भोट नदिने कि भन्ने सोचेका छौं।’
सँगै रहेका आधा दर्जन युवाले उनको कुरामा सही थापे।
वीरगन्ज–१३ का कांग्रेस कार्यकर्ता अनिल श्रेष्ठले पनि यसपालि कांग्रेसले भनेकोभन्दा अर्को पार्टीको उम्मेदवारलाई भोट हालेर नेताहरूको नराम्रो निर्णय कार्यकर्ताले मान्दैनन् भन्ने सन्देश दिन चाहेको बताए।
वडा नम्बर–२४ का पुनिलालकुमार यादव ५४ वर्षका भए। जीवनमा कांग्रेसबाहेक अन्य पार्टीमा भोट नहालेका उनलाई यसपालि आफ्नो पार्टीको निर्णय सुन्दा चित्त दुखेको छ।
‘रूखभन्दा अरूमा हातै नजाने मान्छेलाई छातामा भोट हाल भन्दा चित्त दुखेको छ,’ उनले भने, ‘अब अरू जेसुकै भए पनि आफ्नो पार्टीले निर्णय गरिसक्यो भनेर मान्नुपर्ला।’
उनले पार्टीको निर्णयले चुनाव नरमाइलो बनाएको अनुभव सुनाए।
राजेशकुमार कानु वडा नम्बर–२५ का मतदाता हुन्। उनले गठबन्धनका उम्मेदवारलाई भोट दिने सोच बनाएका छन्। ‘राजेशमान दाइ पहिले कांग्रेसकै मान्छे हो। अहिले अर्को पार्टीमा हुनुहुन्छ। मलाई लाग्छ उहाँ जितेपछि हाम्रै पार्टीमा आउनुहुन्छ,’ उनी भन्छन्।
सिंह २०५४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य हुँदै वीरगन्जको नगर सदस्य बनेका थिए। पछि उनी राप्रपा, तमसपा, राष्ट्रिय जनता पार्टी हुँदै जसपा पुगेका थिए।
वीरगन्ज–११ का गौरवकुमार झा यहाँको मेयरको टुंगो नेपाली कांग्रेसका मतदाताले नै लगाउने बताउँछन्। गत निर्वाचनमा नेकपा एमालेले वडाध्यक्ष जितेको वडाका मतदाता झा कुनै पनि उम्मेदवारको पक्षमा खुलेनन्। उनले भने, ‘वीरगन्जको मेयर कसलाई बनाउने भन्ने कुरा नेपाली कांग्रेसका मतदाताको हातमा छ।’
उनले केही मतदाताले पार्टीको निर्णय मान्ने, केहीले उम्मेदवारका पृष्ठभूमि र उनीहरूले गरेका कामका आधारमा मत दिने अनुमान गरे।
वीरगन्ज त्यही ठाउँ हो जसले सधैं निर्वाचन हार्दै आएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई २०५६ मा चुनाव जिताएर देशको प्रधानमन्त्री बनाएको थियो।
वीरगन्ज महानगरपालिकामा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार मत ल्याएका थिए। उनलेभन्दा २ हजार १ सय ९६ मत बढी ल्याएर मधेसी जनअधिकार फोरमका विजय सरावगी मेयर बनेका थिए।
पाँच वर्ष अवधिमा सरावगी जनता समाजवादी हुँदै नेकपा एमालेमा प्रवेश गरेर पुनः मेयरको उम्मेदवार बनेका छन्। कांग्रेसले मेयर पदमा जनता समाजवादीका उम्मेदवार राजेशमान सिंहलाई सघाउने निर्णय गरेको छ। उनी अघिल्लो निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट निर्वाचन लडेर करिब १२ हजार मत ल्याई तेस्रो भएका थिए।
उक्त निर्वाचनमा सरावगी अहिले उम्मेदवार बनेको दल नेकपा एमालेका उम्मेदवार बसरूद्दिन अन्सारी ८ हजार ६ सय ८८ भोट ल्याएर पाचौं भएका थिए। उनलाई लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तवले १३ भोटले पछि पारेका थिए।
यसपालि केही समयअघि मात्रै नेकपा एमालेमा गएका विजय सरावगी लोकतान्त्रिक समाजवादीको सहयोगमा र झन्डै एमालेमा गइसकेका राजेशमान सिंह कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको साझा उम्मेदवारका रूपमा वीरगन्जको चुनावी मैदानमा छन्। पत्रकार गिरीश गिरी राप्रपाबाट मेयरको उम्मेदवार बनेका छन्। उनी वीरगन्जका पूर्वमेयर गोपाल गिरीका छोरा हुन्।
पाँचदलीय गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले पनि विभिन्न वडामा आफ्नै ढंगले उम्मेदवार खडा गरेर प्रचार गरिरहेका छन्।