स्थानीय तहको निर्वाचन २०७९ को मतदान गर्ने दिन आउन ८ दिनमात्र बाँकी छ।
अन्यत्र जस्तै सुर्खेतमा पनि चुनावी सरगर्मी निकै बढेको छ। सुर्खेतमा निरन्तर राजनीतिक दलहरू आ–आफ्ना उम्मेदवारसहित चुनाव चिन्ह र कार्यकर्ता लिएर घरदैलो तथा र्याली निकालिरहेका छन्।
वीरेन्द्रनगरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल गरिएको छ।
कांग्रेसले मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दिएका छन्। यी दुई दलले सामूहिक चुनावी अभियान चलाइरहेका छन्।
नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरूले एक्लाएक्लै चुनावी अभियान गरेका छन्।
साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्र हुँदादेखि राजधानीका रूपमा रहेको वीरेन्द्रनगर अहिले कर्णाली प्रदेशको समेत राजधानी छ। यहाँ प्रदेशको संसददेखि सरकारका मुख्य संरचना छन्। वीरेन्द्रनगर आफैं पनि विगतदेखि नै प्रदेशका अरूभन्दा सुविधासम्पन्न पालिका हो।
यी सबै विशेषतासँगै सबभन्दा धेरै जनसंख्या भएको व्यापारिक केन्द्रसमेत भएकाले वीरेन्द्रनगरमा हुने हरेक क्रियाकलामा सबैको ध्यान केन्द्रित हुन्छ।
अहिलेको स्थानीय तहको निर्वाचनमा पनि कर्णाली राजनीतिक दलदेखि विश्लेषकसम्मको ध्यान वीरेन्द्रनगरमा छ।
२०७४ को निर्वाचनबाट नेपाली कांग्रेसले नेतृत्व गरेको वीरेन्द्रनगरमा अहिले कसले नेतृत्व पाउला? उपमहानगर बन्ने बाटोमा हिँडेको वीरेन्द्रनगरमा क–कसको छ चुनावी प्रतिस्पर्धा?
राजनीतिक विश्लेषक तथा पीताम्बर ढकाल भन्छन्,‘अहिले यही व्यक्तिले यहाँको स्थानीय सरकारको नेतृत्व गर्छ भनेर भनिहाल्न त सकिँदैन, तर जनताको भन्दा केन्द्रका नेताको इच्छाले गरिएको गठबन्धन टिक्ने कुरामा पनि ढुक्क हुन नसकिने भएकाले सोचेको भन्दा फरक परिणाम आउन सक्छ।’
वीरेन्द्रनगरमा अहिले राजनीतिक दलबाट मात्र ११ जना मेयरका उम्मेदवार छन्।
नेपाली कांग्रेसबाट उपेन्द्रबहादुर खड्का, नेकपा एमालेबाट मोहनमाया भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्दश्याम गिरी, नेकपा (एकीकृत समाजवादी) बाट धन कुमारी जिसी, जनता समाजवादी पार्टीबाट गगनबहादुर सारु, नेपाल मजदुर किसान पार्टीबाट गोविन्द नाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टंकप्रसाद रेग्मी, राष्ट्रिय नागरिक पार्टीबाट टीकाराम रेग्मी र नेपाल परिवार दलबाट दिनेशप्रसाद काफ्ले, नेपाल दलित पार्टीबाट निलकण्ठ भुषाल, राष्ट्रिय जनमोर्चाबाट विष्णुप्रसाद शर्मा उम्मेदवार छन्।
उनीहरूसँगै दुई जना स्वतन्त्र उम्मेदवार पनि छन्।
यी उम्मेदवारमध्ये लोकप्रिय मानिएका दुई जना उम्मेदवार छन्, राप्रपाका मुकुन्दश्याम गिरी एमालेका मोहनमाया भण्डारी। गिरी २०६१ मा वीरेन्द्रनगरकै मेयर थिए। गिरी राप्रपाका केन्द्रीय उपाध्यक्ष पनि हुन्।
ढकाल २०७४ को स्थानीय तह निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी थिइन्। मेयरमा नेपाली कांग्रेसका देवकुमार सुवेदी निर्वाचित हुँदा एमालेबाट उम्मेदवार बनेकी भण्डारी उपमेयरमा निर्वाचित भइन्।
उपप्रमुख बनेर आफ्नो पाँच वर्षे कार्यकालमा कुनै पनि विवादमा नमुछिएकी र लोकप्रियता कमाएकी भण्डारी अब प्रमुख बन्ने दाउमा छन्। पार्टीको केन्द्रीय कमिटीको महत्वपूर्ण पदमा पुगिसकेका गिरी पनि वीरेन्द्रनगरको फेरि प्रमुख बन्ने दाउमा छन्।
अघिल्लो निर्वाचनमा कांग्रेसले लिएको र अहिलेको निर्वाचनमा भएको गठबन्धनका हिसाबले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उपेन्द्र खड्का पनि बलियो मानिन्छन्। खड्का नेपाली कांग्रेसको नगर कार्य समिति सभापति हुन्।
‘अघिल्लो निर्वाचनमा ५७ हजार मतदाता थिए, अहिले ६७ हजार पुगेका छन्,’ राजनीतिक विश्लेषक ढकालले भने,‘अहिले कसका मतदाता थपिए थाहा हुने कुरा भएन, अहिलेका केही उम्मेदवार भने लोकप्रिय र बलिया छन्।’
अघिल्लो स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा वीरेन्द्रनगरको प्रमुखमा निर्वाचित भएका देवकुमार सुवेदीले १४ हजार ४०५ मत ल्याएका थिए।
नेकपा एमालेका उम्मेदवार बालाराम शर्माले १३ हजार ८९९ र माओवादीका रत्न बहादुर गाहाले ५ हजार २३७ मत ल्याएका थिए।
उपप्रमुख जितेकी भण्डारीले १६ हजार ६८ मत ल्याएकी थिइन्। कांग्रेसबाट उम्मेदवार जानकी सिंहले १४ हजार २६ र माओवादीका हरिमाया शर्माले ४६८९ मत ल्याएकी थिइन्।
निर्वाचन आयोगको तथ्यांक अनुसार स्थानीय तह निर्वाचनमा सहभागी हुन पाउने मतदाता वीरेन्द्रनगरमा ६७ हजार ५६ जना छन्।