काठमाडौंको राष्ट्रिय सभा गृहमा नमूना मतदान कार्यक्रम गरिएको छ।
शनिबार राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर नमूना मतदान गरिएको हो।
उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका ११ पालिकाका मतदान अधिकृत र सहायक अधिकृतहरू सहभागी भएका छन्।
नमूना मतदान तालिममा उपस्थित भएकाहरूले गरेका थिए। यस्तै, सर्वसाधारणलाई पनि मतदानको प्रक्रिया देखाइएको थियो।
आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन देशभर एकैपटक हुँदैछ। त्यसका लागि निर्वाचन आयोगले विभिन्न ठाउँमा नमूना मतदान गर्दै तालिमहरू दिँदै आएको छ।
निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ। मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन्।
७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई वडा सदस्यलाई यही वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने आयोगले जनाएको छ।
गाउँपालिका र नगरपालिकामा एक/एक जना अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख निर्वाचित हुनेछन्।
यस्तै, पालिकाका प्रत्येक वडामा पाँच सदस्यीय वडा समिति निर्वाचत हुनेछ।
आसन्न स्थानीय निर्वाचनमा ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरूष र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउछन्। मतसङ्केत गर्ने दिन मतदाता फोटोसहितको मतदाता परिचयपत्र लिएर आफ्नो नामावली भएको मतदान केन्द्रमा जानुपर्नेछ।
तस्बिरहरू :