कर्णाली प्रदेशमा पाँच वर्ष स्थानीय सरकारको प्रमुख भएर काम गरिसकेका दुई जना स्थानीय तह निर्वाचन २०७९ मा वडा सदस्यका लागि चुनाव लड्दैछन्।
२०७४ को स्थानीय तह निर्वाचनबाट गाउँपालिका अध्यक्ष बनिसकेका उनीहरू अहिले समन्वय प्रमुख बन्ने दाउमा वडा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष रहेका प्रेमबहादुर बुढा वडा नम्बर ७ माथिल्लो कुशापानीबाट खुला सदस्यका उम्मेवार छन्। उनले सदस्यमा उम्मेदवारी दिन वैशाख ९ गते गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।
बुढा दैलेखको जिल्ला समन्वय समितिको संयोजक बन्ने दाउमा छन्। ‘मैंले जितेपछि वडा सदस्यमा मात्र सिमित हुनुपर्छ भन्ने छैन, मलाई पार्टीले समन्वय प्रमुखको जिम्मेवारीमा रहेर काम गर्ने अवसर पनि दिनेछ भन्ने आशा छ,’ बुढाले सेतोपाटीसँग भने, ‘दैलेखमा हाम्रो पार्टीको बहुमत आउने पक्का भएकाले एमालेले समन्वय समितिमा नेतृत्व गर्छ, त्यसमा मैले जिम्मेवारी पाउँछु।’
उनी नेकपा एमालेका दैलेख जिल्ला कमिटी उपाध्यक्ष हुन्। विगतदेखि नै नेकपा एमालेको राजनीति गर्दै आएका उनी २०५४ सालमा साविक कुशापानी गाउँ विकास समितिको अध्यक्ष भएका थिए।
२०५९ असार त्यसबेला गाविस अध्यक्षको पदावधि सकिएको थियो। ‘२०५९ सालपछि लामो समयसम्म स्थानीय तहको चुनाव नहुँदा म पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेँ, २०७४ मा पनि एमालेले मलाई विश्वास गरेर टिकट दियो र मैंले गाउँपालिकाको अध्यक्ष भएर काम गर्ने अवसर पाएँ,’ बुढाले भने ।
बुढाले समन्वय प्रमुखको जिम्मेवारी पाउने निश्चित भने छैन। उनी पार्टीले जिम्मेवारी दिएमा मात्र त्यो भूमिका निर्वाह गर्ने बताउँछन्।
‘यो औपचारिक निर्णय नै भईसकेको कुरा पनि होईन, मेरो कामको कदर गरी पार्टीले अवसर दिन्छ भन्ने मात्र हो। यद्यपि मैंले समन्वय प्रमुख हुने अवसर पाईन भने पनि केही छैन,’ वडा सदस्यका उम्मेवार बुढाले भने, ‘जनताको काम गर्न मेरो लागि वडा सदस्यको भूमिका नै काफी हुन्छ, यदि म वडा सदस्यमै सिमित भईहाले पनि जनताको काम सदस्यका हैसियतले गर्छु । पार्टीको काम गर्न मेरो पदीय जिम्मेवारी छँदैछ।’
बुढाले अहिलेको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्ने ईच्छा जनाएका थिए । तर उनलाई पार्टीले जिम्मेवारी दिएन ।
जनताको काम गर्न त समन्वय प्रमुख भन्दा गाउँपालिका अध्यक्षको जिम्मेवारी नै महत्वपूर्ण छ नि? भन्ने प्रश्नामा उनले ‘ईच्छा त जनाएको हुँ, तर पार्टीका नेता कार्यकर्ताले नै स्थानीय निकाय हुँदा देखि स्थानीय तहसम्मको जिम्मेवारी पूरा गरिसकेको हुनाले यसपटक अरूलाई मौका दिनुपर्छ भन्ने कुरा गर्नुभयो। मैंले पनि यो कुरा स्वीकारेर सदस्यमा उम्मेदवारी दिएँ।’
सुर्खेतको बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नतेले पनि वैशाख ९ गते राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका छन्। स्थानीय तह निर्वाचन २०७९ का लागि उनले बराहताल–८ बाट वडा सदस्यमा उम्मेवारी दिएका हुन्।
नेपाली कांग्रेसबाट उनले २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष जितेका थिए।
उनले अहिलेको निर्वाचनमा पार्टीले भनेअनुसार आफू वडा सदस्यको उम्मेवार बनेको बताए। ‘घरपरिवारले जे गर भन्यो त्यो मान्नु पर्यो, पार्टी भनेको हाम्रो घर हो,’ उनले भने, ‘त्यसैले मलाई पार्टीले वडा सदस्यमा लड् भन्यो मैंले उम्मेदवारी दिएँ।’
उनी आफू वडा सदस्यमा निर्वाचित भएमा जिल्ला समन्वय समितिमा नेतृत्व गर्न पाउने कुरामा आशावादी भने छन्। ‘आशा त हो, तर भएन भने पनि वडामै बसेर जनताको काम गर्न सकिन्छ,’ बस्नेतले भने, सदस्यमै हारिहालेँ भने पनि राजनीतिमा रहेर समाजसेवा गर्नु त छँदै छ नि।’
बस्नेत नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचन क्षेत्र नम्बर २ (ख) को सभापति बनेका छन्।