प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट सबभन्दा धेरै फाइदा नेपाली कांग्रेसलाई भइरहेको बताएका छन्।
दाङको तुसलीपुरमा आइतबार गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनले केही हानी नगरेको र सबभन्दा धेरै फाइदा कांग्रेसलाई भएको बताएका हुन्।
‘गठबन्धनले सबभन्दा धेरै फाइदा नेपाली कांग्रेसलाई भइरहेको छ र हामीले पनि गठबन्धन दलहरूलाई फाइदा दिनु पनि छ,’ देउवाले भने, ‘त्यसकारण कांग्रेसका लागि गठबन्धन जरूरी छ, हाम्रो सरकार टिकाउन आवश्यक छ। त्यसकारण गठबन्धन कांग्रेसका लागि जरूरी छ।’
उनले गठबन्धन राष्ट्रिय आवश्यकता बनेको पनि तर्क गरे।
गठबन्धनको सरकार तल्लो तहसम्म बन्न जरूरी रहेको पनि उनले जोड दिए।
‘तुसलीपुरमा पनि मेयर/उपमेयर गठबन्धनका दलहरूले जितेपछि केन्द्रबाट हामीले पठाएको पैसाको सही सदुपयोग हुनेछ,’ देउवाले भने, ‘त्यसले देशको विकास हुनेछ।’
स्थानीय तहमा पनि गठबन्धन सरकार बनाउन गठबन्धनको मर्मअनुसार मतदान गर्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले सबै गठबन्धन भित्रका दलहरूले मतदातालाई मतदान कसरी गर्ने भनेर सिकाउन जरूरी रहेको बताए।
‘साना तिना समस्या होलान् ती समस्याको समाधान गर्दै जानुपर्छ,’ देउवाले भने, ‘गठबन्धन वर्षौंसम्म टिकाउन जरूरी छ।’
त्यसअघि देउवाले नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रलाई दुर्घटनातर्फ लैजान खोजेको भए पनि आफूहरूको खबरदारीले जोगिएको दाबी गरेका थिए।
नयाँ संविधानमा संसद भंग गर्न नपाइने व्यवस्था भए पनि प्रधानमन्त्री छँदा ओलीले संसदमा विरोध गर्न खोजेपछि संसद नै भंग गरेर गैरप्रजातान्त्रिक छवि प्रस्तुत गरेको आरोप लगाए।
आफूहरूले अदालतमा हारगुहार गरेर संसद पुनर्स्थापना गरेको भन्दै केपी शर्मा ओली प्रजातन्त्रवादी नै नभएको दोषारोपन गरे।
ओलीले अदालतको निर्णय पनि नमानेको र जनताको निर्णय पनि नमान्ने गरेको देउवाले बताए।
‘संसदमा अहिले बहुमत प्राप्त गठबन्धन रहेको छ र बहुमतको कदर विश्वभर हुन्छ,’ प्रधानमन्त्री देउवाले, ‘ओली कस्ता व्यक्ति हुन् भने उनले बहुमत पनि मान्दैनन् र उनी प्रजातन्त्रवादी नै हैनन्। जस्ले 'रूल अफ ल' मान्दैनन्।’
अति नै भएपछि देशले ओलीबाट मुक्ति पाउनुपर्ने अत्यन्तै आवश्यकता परेपछि आफूहरूले ओलीकै खिलापमा गठबन्धन गर्न बाध्य भएको देउवाले स्पष्ट पार्न खोजेका थिए।
गठबन्धन भएपछि ओलीको सरकार ढलेको र अहिले गठबन्धन दलहरू सबैले कांग्रेसको सरकारलाई सद्भावपूर्ण तरिकाले स्वीकारेको देउवाको भनाइ थियो।
देउवाले भने, ‘यो मेरो लागि पनि खुसीको कुरा हो र मेरो पार्टीको लागि पनि राम्रो कुरा हो।’
अहिलेको परिस्थितिमा राष्ट्रिय आवश्यकतालाई मध्यनजगर गर्दै कांग्रेस मिल्नुपर्ने बाध्यता रहेको देउवाले बताए।
‘अहिले जसले जे कुरा उठाए पनि अन्य कुराहरूको भ्रममा पर्ने काम नै छैन,’ देउवाले भने, ‘अहिले गठबन्धनलाई जिताउन जरूरी छ।’
उनले गठबन्धन नभएको भए के अहिले यो प्रदेशमा पनि हाम्रा मन्त्रीहरू हुने थिए? भनेर प्रश्न सोधेका थिए।
भोलि लुम्बिनीसहित अन्य ठाउँमा पनि मुख्यमन्त्री बन्ने सक्ने सम्भावना रहेको उनले औंल्याएका थिए।
‘सुदूरपश्चिममा हाम्रो सरकार छ, कर्णाली प्रदेशमा अहिले हाम्रो सरकार मात्रै हैन मुख्यमन्त्री पनि छ,’ देउवाले प्रश्न गरे, ‘त्यसैले यो गठबन्धनले के नेपाली कांग्रेसलाई हानी गरेको छ?’
देउवाले करिब ६ मिनेट जति मात्रै सम्बोधन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्नको लागि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) एउटै हेलिकप्टरबाट दाङ आएका थिए।
उनीहरू तुलसीपुरमा सम्बोधन गरेपछि सँगसँगै घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न गएका थिए।