नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कतिपय मिडियाले आफूले चितवनको भरतपुरमा बोलेको सत्य कुरालाई गलत प्रचार गरेको बताएका छन्।
दाङको तुलसीपुरमा आइतबार पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनतालाई धम्क्याएर आफ्नी छोरी जिताउन खोजेको भन्नु नकारात्मक प्रचार भएको बताएका हुन्।
‘कतिपय मिडियाहरूले मलाई भने गठबन्धनलाई जिताएन भने जनतालाई धम्क्यायो, गठबन्धनलाई जिताएन भने दुर्घटना हुन्छ भन्यो भन्ने चर्चा परिचर्चा पनि तपाईंहरूले सुन्नुभयो होला,’ अध्यक्ष प्रचण्डले भने, ‘अस्ति प्रधानमन्त्रीजी लगायत हामी गठबन्धनका सबै नेताहरू भरतपुरमा या काठमाडौं महानगरपालिकाका सभामा जाँदा हामीले भनेको कुरा यति हो कि, यो गठबन्धन एउटा ठूलो प्रतिगामी षड्यन्त्र, एउटा निकै ठूलो लोकतन्त्र विरोधी षड्यन्त्रलाई परास्त गर्ने क्रममा जन्मिएको हो।’
यो निर्वाचनबाट पनि त्यो षड्यन्त्रलाई परास्त गर्न जरूरी र त्यो षड्यन्त्र परास्त गर्न जनतालाई गरिएको अपीलको नकारात्मक टिप्पणी भएको उनले स्पष्ट पार्न खोजे।
प्रचण्डले आफूहरूको गठबन्धन प्रतिगमन र बिखण्डनकारीविरूद्ध भएको पनि बताएका थिए।
अहिले अग्रमनकारी पाँच दलीय गठबन्धन र प्रतिगमनकारी शक्तिका बीचमा केपीले गठबन्धन गरेको भन्दै त्यसलाई परास्त गर्न नसके देश दुर्घटनामा पर्ने उनले बताए।
‘गठबन्धनका उम्मेदवारलाई विजयी गराएरमात्रै हामी प्रतिक्रान्ति र प्रतिगमनको षड्यन्त्रलाई परास्त गर्न सकिन्छ भनें,’ प्रचण्डले अगाडि भने, ‘त्यो भनाइलाई छोरी जिताउनका लागि, छोरी नजिते देशै भाँडमा जाओस् भन्यो, दुर्घटनामा जाओस् भन्यो भनेर बडो नकारात्मक ढंगले प्रचार पनि गरिएको छ।’
एउटा निकै ठूलो प्रतिगामी, संविधान विरोधी, गणतन्त्र विरोधी, लोकतन्त्र विरोधीलाई परास्त गर्ने क्रममा यो गठबन्धन बनेको दोहोर्याउँदै प्रचण्डले तुलसीपुरबासीलाई स्थानीय निर्वाचनमार्फत् गठबन्धनका पक्षमा मतदान गरी त्यो षड्यन्त्रलाई परास्त गर्न अपील गरे।
उनले अझै पनि वडाहरूमा समस्या रहेको भन्दै त्यो मिलाउन सक्ने ठाउँ छ भने मिलाउन अपील पनि गरे।
विगतका तीता-मीठा अनुभवबाट शिक्षा लिएर यो गठबन्धन खाली स्थानीय निर्वाचनका लागि मात्रै नभई संघीय निर्वाचन र विकास र समृद्धिलाई अगाडि बढाउन केही दशकसम्म जान जरूरी रहेको बताए। तर यसमा नेताहरूले मात्रै बुझेर नहुने भन्दै प्रचण्डले आम जनसमुदायको पनि त्यत्तिकै सहयोग र योगदान आवश्यक रहेको बताए।
गठबन्धनका उम्मेदवारले विजयी प्राप्त गरे मात्रै प्रतिगमन परास्त हुने उनको भनाइ थियो।
देशभर गठबन्धन गरेर प्रतिगमनविरूद्ध एकताबद्ध हुन चुनावी तालमेल गरेको भन्दै उनले अब साझा उम्मेदवारहरूलाई विजयी बनाउन जरूरी रहेको जोड दिए।
उनले नेपाली कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्न गठबन्धनका सबै दलहरूलाई आग्रह गरे।