दाङमा बिहान ११ बजेदेखि भारी वर्षा भइरहेको छ। जसले गर्दा वैशाख ३० गते हुने स्थानीय निकाय निर्वाचन अन्तर्गत खुला चौरका मतदान केन्द्रमा समस्या हुने देखिएको छ।
तुलसीपुरको अरनिको मैदानस्थित मतदान केन्द्र भारी वर्षाका कारण हिलाम्मे जस्तै बनेको छ।
सामान्य त्रिपाल र डोरी लगाइएको भए पनि त्यसले पानी रोक्ने अवस्था छैन।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित ‘क’ मतदान केन्द्रका मतदान अधिकृत राजु आचार्यले निरन्तर वर्षाका कारण चौर हिलाम्मे भएपछि अब के गर्ने भनेर सर्वदलीय बैठक भइरहेको जानकारी दिए।
जिल्ला निर्वाचन व्यवस्थापन समितिले निर्वाचन व्यवस्थापनको जिम्मा स्थानीय पालिकाहरूलाई दिएको छ।
तुलसीपुरको अरनिको मैदानमा २०४८ सालदेखि नै निर्वाचन हुँदै आएको छ। तर, यसपालि निरन्तर वर्षा भइरहेका कारण मतदान प्रभावित हुने अवस्था देखिएको छ।
त्यही भएर मतदान केन्द्र स्थान्तारणको लागि सिफारिस गरिएको तुलसीपुर उपमहानगरपालिकाका मतदान अधिकृत राजेश्वर अर्यालले बताए।
यसैबीच प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका प्रमुख नारायणप्रसाद भण्डारीले निरन्तर वर्षा भइरहेका कारण तुलसीपुरस्थित अरनिको मैदानको मतदान केन्द्र नजिकै रहेको तुलसी बोर्डिङ स्कुलमा स्थान्तारणका लागि सिफारिस गरिएको जानकारी दिए।
उनका अनुसार अरनिको मैदानमात्रै जिल्लामा खुला आकाशमुनि रहेको एक मात्रै मतदान केन्द्र हो।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा संयोजकत्वमा रहेको जिल्ला निर्वाचन व्यवस्थापन समितिले निर्वाचन आयोगलाई मतदान केन्द्र स्थान्तारणको लागि सिफारिस गरेको र स्थान्तारणको काम आयोगको निर्णय अनुसार हुने उनले बताए।
'म त छाता ओढेरै भए पनि मतदान गर्न आउँछु'
उत्साहित मतदाता भने बिहीबार दिउँसो नै झरीका बीचमा पनि छाता ओढेर मतदान केन्द्र अवलोकन गर्न आएका थिए। त्यसमध्यकी एक तुलसीपुर-५ बसपार्ककी शारदा परियारले निरन्तरको वर्षाले मतदातालाई प्रभावित पार्न सक्ने भए पनि कुनै पनि हालतमा मतदानबाट बञ्चित नहुने बताइन्।
‘छाता ओढेरै भए पनि म त मतदान गर्न आउने हो,’ उनले भनिन्, ‘पाँच वर्षमा एकपटक आएको अवसर किन छोड्ने।’
एक मतले पनि गलत मान्छेले निर्वाचन जित्न सक्ने हुँदा आफूले चाहेको उम्मेदवार विजयी गराउन जसरी पनि मतदान गर्न आउने उनको कथन थियो।
दाङमा मतदानस्थल १५३ र मतदान केन्द्र ४६१ रहेका छन्। जिल्लामा पुरूष मतदाताको संख्या दुई लाख आठ सय एक र महिला मतदाताको संख्या दुई लाख नौ हजार ९९ जना रहेका छन्। कुल मतदाता संख्या चार लाख ९९ हजार दुई जना रहेको छ।
जिल्लाका दश पालिकामा निर्वाचन गराउन म्यादीसहित झन्डै ३५ सय सुरक्षाकर्मी र २४ जति कर्मचारी खटिएका छन्।