स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत शुक्रबार मतदान हुँदैछ। शुक्रबार कर्णाली प्रदेशमा १० जिल्लाका ७९ पालिकाका जनप्रतिनिधि छान्न मतदान हुँदैछ।
कर्णाली प्रदेशमा मतदानका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिइन्।
प्रदेशभर ९०७ वटा मतदानस्थल र १ हजार ३८५ मतदान केन्द्र छन्। उनका अनुसार मतदान केन्द्र र स्थलमा मतदान अधिकृत तथा कर्मचारी पुगिसकेका छन्। वैशाख २७ गतेभित्र सबै ठाउँमा कर्मचारी पुगिसकेको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ।
यस्तै, निर्वाचन सामग्री पनि सबै ठाउँमा पुगिसकेको रेग्मीले जानकारी दिइन्।
प्रदेशका सबै केन्द्रमा मतदानका लागि बुथहरू तयार पारिसकिएको छ।
कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ जना मतदाता छन्। २०७७ चैतसम्मको तथ्याङ्कअनुसार जसमध्ये सल्यानमा १ लाख ४० हजार ६६७, डोल्पामा २० हजार ७६, मुगुमा ३१ हजार ४३१, जुम्लामा ६१ हजार ६४५, कालीकोटमा ७२ हजार ८०, हुम्लामा २८ हजार ५४२ मतदाता छन्।
यस्तै, जाजरकोटमा ९४ हजार ८७५, दैलेखमा १ लाख ४८ हजार ७२७, रूकुम पश्चिममा ९२ हजार ३४७ र सुर्खेतमा २ लाख ३८ हजार ४५७ मतदाता छन्।
प्रदेशका ९०७ मतदानस्थलमध्ये २९८ वटा अति संवेदनशीलमा पर्छन्। ४११ संवेदनशील स्थल छन्।
प्रदेशमा ५ हजार प्रहरी र ७ हजार ७ सय म्यादी प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिएका छन्। तोडफोड र झडपका घटनाहरू भएकाले रूकुम पश्चिममा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ।
कर्णाली प्रदेशमा ७९ पालिकामा १३ हजार ६५ जना उम्मेदवारले विभिन्न पदका लागि प्रतिस्पर्धा गर्दैछन्।
निर्वाचन आयोगका अनुसार मेयर/उपमेयरका लागि ४१९, अध्यक्ष/उपाध्यक्षका लागि ३८५, वडा अध्यक्षका लागि २९२४, महिला सदस्यका लागि २ हजार ३८०, दलित महिला सदस्यका लागि २ हजार २७ र खुला सदस्यका लागि ४ हजार ९३० जना चुनावी प्रतिस्पर्धामा छन्।
यी प्रतिस्पर्धीमध्ये सुर्खेतमा २ हजार ८४, सल्यानमा १ हजार ४८२, रूकुम पश्चिममा ९०२, जाजरकोटमा १ हजार २०३, डोल्पामा ७२०, जुम्लामा १ हजार ९२६, हुम्लामा ९२०, मुगुमा ८४४, कालीकोटमा १ हजार ८४९ र दैलेखमा १ हजाजर ७६५ जना उम्मेदवार छन्।
सुर्खेतका कुन पालिकामा कति मतदाता र कति उम्मेदवार?
कर्णाली प्रदेशमा सबभन्दा धेरै मतदाता रहेको सुर्खेतमा २ हजार ८४ जना उम्मेदवार पालिकाका जनप्रतिनिधिका उम्मेदवार छन्।
नौवटा पालिकामा प्रमुख/अध्यक्षका लागि ६१, उपप्रमुख/उपाध्यक्षका लागि ५२, वडा अध्यक्षका लागि ४६०, खुला सदस्यका लागि ७८५, महिला सदस्यका लागि ३८६ र दलित महिला सदस्यका लागि ३४० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मात्र प्रमुख/उपप्रमुख, वडाध्यक्ष र सदस्यका लागि ४४७ जना उम्मेदवार छन्। यस्तै गुर्भाकोट नगरपालिकामा २५५, चिङ्गाड गाउँपालिकामा १०६, चौकुने गाउँपालिकामा २०६, पञ्चपुरी नगरपालिकामा २६३, बराहताल गाउँपालिकामा १९२, भेरीगंगा नगरपालिकामा २७३, लेकवेशी नगरपालिकामा २११ र सिम्ता गाउँपालिकामा १३१ जना विभिन्न पदका उम्मेदवार छन्।
यस्तै, सुर्खेतका २ लाख ३८ हजार ४५७ मतदातामध्ये वीरेन्द्रनगर नगरपालिकामा ६७ हजार ५६ जना छन्।
गुर्भाकोट नगरापलिकामा ३३ हजार ८२९, चिङ्गाड गाउँपालिकामा १ हजार ७२९, चौकुने गाउँपालिकामा १५ हजार ७३५, पञ्चपुरी नगरपालिकामा २२ हजार ५२३, बराहताल गाउँपालिकामा १७ हजार २९६, भेरीगंगा नगरपालिकामा ३१ हजार २७४, लेकवेंशी नगरपालिकामा २१ हजार ९८३ र सिम्ता गाउँपालिकामा १८ हजार ३२ जना मतदाता छन्।