भोलि शुक्रबार देशभर एकै पटक स्थानीय तहको चुनाव हुँदैछ। बिहान ७ देखि साँझ ५ बजेसम्म देशभरै मतदान गर्न समय तोकिएको छ।
काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ बुथबाट जनप्रतिनिधि चुनिँदै छन्।
३ लाख २ सय ४२ मतदाता रहेको महानगरमा सबैभन्दा धेरै वडा नं. १६ मा २० हजार १७५ जना मतदाता छन्। वडा नं. ३२ धेरै मतदाता हुने दोस्रो वडामा पर्छ। यस वडामा १८ हजार ९१३ जना मतदाता छन्। यसैगरी वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन्। यो धेरै मतदाता हुने तेस्रो वडामा पर्छ।
वडा नं. १ सबभन्दा कम मतदाता हुने वडा हो। यस वडामा ३ हजार ७२९ जना मतदाता छन्। यसै गरी वडा १८ दोस्रो थोरै मतदाता हुने वडा हो। यसमा ३ हजार ९३९ जना मतदाता छन्। वडा नं. २३ मा ४ हजार ४७७ जना मतदाता छन्। यो थोरै मतदाता हुने वडामा तेस्रोमा पर्छ। वडा २० मा ४ हजार ६१४ जना मतदाता छन्। यो थोरै मतदाता हुने वडाका क्रममा चौथोमा पर्छ।
यसैगरी ललितपुरमा २९ वटा वडा, ५२ मतदानस्थल, १३७ मतदान केन्द्र रहेका छन् भने कुल मतदाता १ लाख २२ हजार ८ सय ९० मतदाता छन्।
निर्वाचन आयोग नेपालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमा देशभरका सबै मतदान केन्द्रमा निर्वाचनका लागि तयारी पूरा गरेको जनाएको हो।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को सम्पूर्ण तयारी पूरा भइसकेको बताए।
उनले निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिबाट मौनावधि सुरू हुने व्यवस्था वमोजिम वैशाख २७ गते मध्यराति १२ बजेपछि सुरू भएको मौनावधिमा निर्वाचन आचार संहिता २०७८ को पालनामा आयोगले विशेष सजगता अपनाएको पनि जानकारी दिए।
त्यस्तै, आयोगले आचार संहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ भने ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको पनि जानकारी दिए।
उनले आचारसंहिता उल्लंघन गरेको भन्दै विभिन्न पार्टीका नेताहरूलाई पनि स्पष्टीकरण सोधेको बताए।