दाङमा जारी स्थानीय तहको निर्वाचनमा उत्साह देखिएको छ। बिहान सात बजेदेखि मतदानको समय तोकिएको भए पनि मतदाताहरू ६ बजेभन्दा पहिलेदेखि लाइनमा बसेका थिए।
बिहीबारदेखि लगातार वर्षा भए पनि दाङमा बिहानैदेखि मौसम खुलेको छ।
जल तथा मौसम विज्ञान विभागले छिनछिनमा वर्षा हुन सक्ने सम्भावना सार्वजनिक गरेको हुँदा मतदाता मौसम खुलेको समयमा मतदान गर्न पुगेका हुन्।
बिहान सबेरै मतदान गरेर घरको काम पनि भ्याउन सकिने हुँदा बिहानै मतदान गर्न आएको प्रतिक्रिया मतदाताहरूले दिएका छन्।
तुलसीपुरको मुख्य बजार केन्द्रमा अवस्थित वडा नं. ६ को सेन्टर माध्यमिक विद्यालयमा लुम्बिनी प्रदेशका ग्रामीण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले मतदान गरेका छन्।
सोही मतदान केन्द्रबाट नेकपा एमालेकी उपमेयर उम्मेदवार स्यानी चौधरी, विप्लव निकट नेकपाबाट उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका खेमराज वली लगायतले मतदान गरेका छन्।
शारीरिक रूपमा अशक्त र अपांगता भएका व्यक्तिका साथै किरिया बसेकाहरू पनि मतदान गर्न आएका थिए।
त्यस्तै तुलसीपुर ५ को तुलसी बोर्डिङ स्कुलको मतदान केन्द्रमा संविधानसभा सदस्य अनारकली मियाले मतदान गरेकी छन्।
तुलसीपुर ५ बसपार्क घर भएकी पाँच दिनदेखि किरियापुत्री बसेकी २५ वर्षीया सुनिता बिकले तुलसी बोर्डिङ स्कुलको मतदान केन्द्रबाट मतदान गरेकी हुन्।
उनी खाली खुट्टा पैदल हिँडेर मतदानस्थलसम्म आएकी थिइन्। उनका श्रीमान २४ वर्षीय मानबहादुर बिकको बाँके, सम्शेरगंजमा भएको मोटरसाइकल दुर्घटनामा परी पाँच दिन पहिले मृत्यु भएको थियो। उनका श्रीमान मिस्त्री थिए। प्लाइबोर्ड लगायत सामान लिन गएको समयमा उनी दुर्घटनामा परेका थिए।
पीडाको समयमा पनि मतदान गरी आफूले इच्छाएको व्यक्तिलाई विजयी गराउन मतदान गर्न आएको बिकले बताइन्।
‘मेरो अब साना दुई छोरी मात्रै छन्,’ उनले भनिन्, ‘हामी जस्ता सहारा बिहीनको दुःखसुखमा साथ दिने नेतृत्व आऊन् भन्ने मेरो चाहना छ।’