नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका ग्रामिण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीलाई मतदान गर्न झन्डै दश मिनेट जति समय लाग्यो।
मन्त्री चौधरीले ठूलो मतपत्र र तलमाथि उम्मेदवारको नाम खोज्नुपर्ने भएकाले समय धेरै लाग्ने गरेको प्रतिक्रिया दिए। ‘मलाई त भोट हाल्न दश मिनेट लाग्यो भने सर्वसाधारणलाई १५ मिनेट भन्दा बढी लाग्ने म देख्छु,’ उनले भने, ‘यो गठबन्धनका कारण यसपालि मतदान गर्न कठिन छ र धेरै मत बदर हुनसक्छ।’
यस्तै संविधान सभा सदस्य तथा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य अनारकली मियाले आफूलाई मतदान गर्न पाँच मिनेट लागेको प्रतिक्रिया दिइन्। उनले पनि सर्वसाधारणलाई मतदान गर्न कम्तिमा पनि ७-८ मिनेट समय लाग्ने प्रतिक्रिया दिइन्।
तुलसीपुर ६ की सुनिता चौधरीले आफूलाई मतदान गर्न १५ मिनेट जति लागेको प्रतिक्रिया दिइन्। मतपत्र निकै ठूलो रहेको हुँदा उम्मेदवारको नाम खोज्दा खोज्दै धेरै समय लागेको उनले बताइन्।
नेकपा एमालेकी उपमेयरकी उम्मेदवार श्यानी चौधरीले भने आफूलाई मतदान गर्न कुनै समस्या नभएको प्रतिक्रिया दिइन्। गठबन्धन दलका कारण मतदान गर्न जटिल भएको अन्य सर्वसाधारणले पनि प्रतिक्रिया दिएका छन्।