रूकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अहिलेम्म पनि मतदान सुरू हुन सकेको छैन।
गाउँपालिकाको प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा अझै मतदान सुरू हुन नसकेको रूकुम(पूर्व) का प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले सेतोपाटीलाई बताए।
बिहानभर फोन सम्पर्क नभएको र बिहान ९ बजेपछि मात्रै स्याटेलाइट फोन सम्पर्क हुँदा मतदान सुरू नभएकोबारे जानकारी आफूले पाएको प्रजिअ खड्काले बताए।
‘स्याटेलाइटको फोन संवाद पनि मुस्किलले अलिअलि मात्रै बुझिने भएर झनै समस्या भयो,’ खड्काले भने, ‘अहिले लगभग कुरा मिल्ला जस्तो भएको छ र अबको केहीबेरमा मतदान सुरू हुने आशा गरिएको छ।’
सर्वदलीय बैठक बसेर निर्वाचन गर्नेबारे करिब-करिब सहमति नजिक पुगेको प्रजिअ खड्काले जानकारी दिए।
यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा चुनावी तालमेल रहेको छ। नेकपा माओवादी केन्द्र एक्लै भिडेको छ।
वैशाख २९ गतेमात्रै यहाँ कांग्रेस र माओवादी कार्यकर्ताको बीचमा झडप भएको थियो। प्रजिअ खड्काले सामान्य झडपमात्रै भएको प्रतिक्रिया दिए।
स्रोतका अनुसार कांग्रेसका एक जना कार्यकर्ता गम्भीर घाइते छन्। उनलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं लैजानुपर्ने माग कांग्रेसका नेताहरूले राखेका थिए।
त्यही माग पूरा नभएको हुँदा कांग्रेसले मतदानमा सहभागी हुन्नँ भनेपछि समस्या भएको प्रजिअ खड्काले बताए।
कांग्रेस कार्यकर्ता भने प्रहरी प्रशासन पीडककै समर्थनमा रहेको हुँदा समस्या भइरहेको बताउँछन्।
उक्त वडामा कांग्रेस, एमाले र माओवादी गरी तीन दलमात्रै छन्।
कांग्रेसको वडाध्यक्ष र एमालेको वडा उपाध्यक्ष तालमेलमा उम्मेदवार छन्। कांग्रेसलाई मनाउने प्रयास भइरहेको र केहीबेरमै मतदान सुरू हुन सक्ने अपेक्षा गरिएको प्रजिअ खड्काले बताए।
जिल्लाका तीन पालिकामध्ये अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान जारी छ।