मध्यान्ह १२ बजेसम्म लुम्बिनी र कर्णाली प्रदेशका केही जिल्लाहरुमा २५ देखि ४० प्रतिशतसम्म मतदान भएको छ।
बर्दियाका प्रमुख जिल्ला अधिकारीका अनुसार जिल्लामा दिउँसो १२ बजेसम्म २५ प्रतिशत मतदान भएको छ। सबै ठाउँमा शान्तिपूर्वक मतदान भइरहेको छ।
त्यस्तै बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौंपानेका अनुसार त्यहाँ दिउँसो १२ बजेसम्म ३० प्रतिशत मतदान भएको छ। बाँकेमा पनि सबै जिल्लामा शान्तिपूर्वक मतदान भइरहेको उनले जानकारी दिए।
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार दिउँसो १२ बजेसम्म करिब २७ प्रतिशत मतदान भएको छ। दाङमा पनि सबै ठाउँहरुमा शान्तिपूर्वक मतदान भइरहेको छ।
प्यूठान जिल्लाका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार दिउँसो १२ बजेसम्म ३५ प्रतिशत मतदान भइसकेको छ।
९ पालिका रहेको प्यूठानमा सबै स्थानमा शान्तिपूर्वक मतदान भइरहेको छ।
रोल्पाका प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार जिल्लाका दश पालिका मध्ये दिउँसो १२ बजेसम्म सबै स्थानमा शान्तिपूर्वक मतदान भइरहेको छ। यो खबर तयार पार्दासम्म रोल्पामा ३२ प्रतिशत मतदान भइसकेको घिमिरेले बताए।
त्यस्तै रूकुम पूर्वमा एउटा वडामा मतदान अझै सुरू नभएको हुँदा कति प्रतिशत मतदान भयो भन्ने बारे आफूले जानकारी लिन नपाएको प्रहरी प्रमुख तथा डिएसपी प्रकाश डाँगीले बताए। ‘अहिले पनि हामी यहाँ विवाद समाधान गरि मतदान सुरू गर्ने गरि बैठकमै छौं,’ उनले भने ‘ अन्य सबै ठाउँमा शान्तिपूर्ण मतदान भइसकेको छ।’
त्यस्तै कर्णाली प्रदेश अन्तर्गतको सल्यान जिल्लामा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए। सल्यानमा लगभग ३३ प्रतिशत जति मतदान भइसकेको उनले बताए।
रूकुम पश्चिमको आठ बिसकोट ९ को (ख) मतदान केन्द्रमा करिब एक घन्टा ढिला गरि मतदान सुरु भएको छ। त्यहाँका प्रमुख जिल्ला अधिकारीका अनुसार लाइनमा बसेका मतदाता बीच धकेलाधकेल भएपछि झन्डै पौंने घन्टा ढिला गरि मतदान सुरु भएको हो।
यो बाहेक अरू सबै क्षेत्रमा मतदान जारी रहेको उनले बताए। रूकुम पश्चिममा झन्डै ४० प्रतिशत मतदान भइसकेको उनले बताए।