बुटवल उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका नरेन्द्र बस्नेत विजयी भएका छन्।
नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवार बनेका बस्नेत ६३६ मत लिएर विजयी भएका हुन्।
यसअघि नेकपा एमालेका वडा अध्यक्ष महेन्द्र लिगल निर्वाचित भएको वडा नं. १ मा बस्नेतले एमालेका लिगल र गठबन्धनका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका माधव प्रधानलाई पराजित गर्दै विजयी भएका हुन्।
बस्नेतले ६३६ मत ल्याउँदा लिगलले ५५१ र प्रधानले ३४१ मत प्राप्त गरेका छन्। कुल १९६८ मत खसेको निर्वाचनमा बस्नेतले पुतली चुनाव चिन्ह लिएर निर्वाचन लडेका थिए। सामाजिक कार्यमा सक्रिय बस्नेत यसअघि २०५४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसले टिकट नदिएपछि झाडु चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारको रूपमा वडा अध्यक्षमा विजयी भएका थिए। २०७४ मा उनी कांग्रेसबाट उम्मेदवार बन्दा वडाध्यक्षमा पराजित भएका थिए।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकै उम्मेदवारविरूद्ध उम्मेदवारी दिएको भन्दै बस्नेतलाई नेपाली कांग्रेसले पार्टीबाट निष्काशन गरेको थियो। आफ्नो वडामा मात्र नभई आसपासका वडामा समेत आयोजना हुने सामाजिक कार्यमा सक्रिय रहने बस्नेत स्थानीयका बीचमा लोकप्रिय सावित भएका छन्। बस्नेतले दुर्घटनामा परी निधन भएकी आफ्नी छोरी प्रतिमा बस्नेतको स्मृतिमा प्रतिमा बस्नेत स्मृति प्रतिष्ठान गठन गरी सामाजिक अगुवा, उत्कृष्ट विद्यार्थी पत्रकार लगायतलाई हरेक वर्ष सम्मान गर्दै आएका छन्।
वडा नं. १ को अध्यक्षमा बस्नेत विजयी हुँदा अन्य ४ जना सदस्य भने नेपाली कांग्रेसबाटै विजयी भएका छन्। विजयी हुने सदस्यमा महिला सदस्य निलम गौतम, दलित महिला सदस्य किरणसिंह धोवी तथा खुल्ला सदस्यमा अशोक राइ र अजित अहमद खान विजयी भएका हुन्।