प्रदेश १ का १३७ पालिकामध्ये अहिलेसम्म ११६ स्थानीय तहको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार गणना जारी रहेका धेरै स्थानीय तहमा नेपाली कांग्रेसको अग्रता छ।
कांग्रेसले अहिले ६६ वटा स्थानीय तहमा अग्रता लिएको छ भने नेकपा एमालेले ३२, माओवादी केन्द्रले १२, एकीकृत समाजवादीले ३, जसपाले २, राप्रपाले १ र स्वतन्त्र उम्मेदवारले १ स्थानीय तहको नेतृत्वमा अग्रता कायम गरेका छन्। धनकुटाको सहिदभूमि गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान हुन बाँकी छ भने बाँकी २० स्थानीय तहको मतगणना परिणाम सार्वजनिक भएको छैन।
अहिलेसम्म मतरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये पाँचथरमा कांग्रेसले ६, माओवादी केन्द्रले १ र एमालेले १ स्थानीय तहमा अग्रता लिएका छन्। यस्तै ताप्लेजुङमा एमाले ४, कांग्रेस ३ र माओवादी १, इलाममा कांग्रेस ५, एमाले २ र एकीकृत समाजवादी २, झापामा कांग्रेस ८, एमाले ५, राप्रपा १ र स्वतन्त्र १ तथा मोरङमा कांग्रेस ७ र एमाले ६ स्थानीय तहमा अग्रता कायम गरेका छन्।
सुनसरीमा कांग्रेसले ६, एमालेले ३ र जसपाले १, धनकुटामा कांग्रेसले ३ र एमालेले ३, संखुवासभामा कांग्रेस ४, माओवादी २ र एमाले १, भोजपुरमा कांग्रेस ६, माओवादी १ र एमाले १,
तेह्रथुममा कांग्रेस ५ र एमाले १, ओखलढुंगामा कांग्रेस ५, एमाले १, माओवादी १ र जसपा १, खोटाङमा कांग्रेस ३ र माओवादी ३, सोलुखुम्बुमा कांग्रेस ४, माओवादी २ र एमाले १ तथा
उदयपुरमा एमाले ३, कांग्रेस १, समाजवादी १ र माओवादी १ तहमा अगाडि छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा १३७ पालिकामध्ये एमालेले ६९ पालिका जितेको थियो भने नेपाली कांग्रेसले ५४, (फोरम लोकतान्त्रिकबाट जितेका ३ सहित,) माओवादी केन्द्रले ९, राप्रपाले ३ र जसपाले २ स्थानीय तहको नेतृत्व जितेको थियो।