नेकपा एमालेका अध्यक्ष केपी ओलीको अत्यधिक पकड सहर हो, पोखरा।
एमालेबाट वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गरेर बनाएको नेकपा एकीकृत समाजवादीमा एमालेलाई फुटको असर देखिन नदिएको ठाउँमा सत्ता गठबन्धनले उनै नेपालका पार्टीलाई पोखराको मेयर उम्मेदवार दिएको छ।
करिब ४५ वर्षदेखि एमालेको राजनीतिमा भिजेका नेता धनराज आचार्य नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष र केन्द्रीय सदस्य हुन्।
उनै आचार्यलाई पोखरामा एमालेको किल्ला भत्काउन सत्तारूढ ५ दलीय गठबन्धनले मैदानमा उतारेको छ। गठबन्धनको यो मिसन सफल हुन्छ कि हुँदैन, मतपेटिकाभित्र कैद छ।
अघिल्लो स्थानीय निर्वाचन २०७४ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। त्यतिबेला एमाले एक्लै लडेर दुई दलीय गठबन्धनलाई झण्डै १५ हजार मतले पछाडि पार्दै मेयर, उपमेयरसहित दुई तिहाइ जनप्रतिनिधि एमालेले जितेको थियो। मतगणना अगावै एमालेले जित्ने आकलन चोक, चौतारा र चियापसलमा थियो।
त्यतिबेला निर्वाचित भइसकेपछि एमालेले आयोजना गरेको विजय सभामा बोल्दै अध्यक्ष ओलीले भनेका थिए, ‘एमाले भन्दा १५ हजार मतले पछाडि छौं, त्यो भनेको १५ हजार किलोमिटर पछाडि छौं, एमालेलाई भेटाउने कल्पना नगरे हुन्छ।’
अहिले अवस्था त्यस्तो छैन। किनकि, त्यतिबेलाको सग्लो एमाले यतिबेला विभाजित छ। एमालेकै राजनीतिबाट उदाएका धनराज एमालेविरूद्ध मोर्चाबद्ध छन्। एमाले पोखरा महानगर कमिटीले विभाजन भएर बनेको एकीकृत समाजवादीमा पार्टीका १५० सदस्यमात्र गएको जनाएको छ। अध्यक्ष ओलीले त्यो विभाजन पुर्न पोखरामा पटक/पटक आएर हजारौं संख्यामा अन्य दलका कार्यकर्ता पार्टी प्रवेश गराएका थिए।
चुनावैपिच्छे दलबदल गर्ने व्यक्तिलाई पार्टी प्रवेश गराएर विभाजनको असर पुरपार गरेको दाबी गरेका एमाले नेताहरूलाई डेढ सय पार्टी सदस्य लिएर गएका धनराजले हल्लाइदिएका छन्।
एमालेका नेताहरू नै यसपालिको निर्वाचन जित्ने आत्मविश्वासमा छैनन्।
वडाका पनि टोल/टोलसम्म संगठन पुर्याएको एमालेलाई पोखरामा चुनाव जित्न यस्तो गाह्रो नहुनुपर्ने हो।
२०७४ को निर्वाचनमा ६० हजार मत पाएको एमालेले त्यो मत सुरक्षित राख्न सके सजिलै निर्वाचित हुन सक्ने अवस्था थियो। किनकि, त्यसमा थपिएका झण्डै ४० हजार नयाँ मतदातामध्ये १० हजार मतदाता आफ्नो पक्षमा पार्न सके ७० हजार मतले आरामदायी बहुमत जुटाउन सक्ने अवस्था एमालेलाई थियो।
शुक्रबारको निर्वाचनमा पोखरा महानगरमा १ लाख ४३ हजार २१३ मत खसेको छ। यसको आधार मत ल्याउन एमालेलाई गाह्रो थिएन। उसका पार्टी संगठन, मतदाता, समर्थक र शुभेच्छुक पोखरामा अत्यधिक छन्।
एमालेले भने जस्तो १५० जनामात्र विभाजन भएर बनेको एकीकृत समाजवादीमा छैनन्। नयाँ पार्टी भए पनि विगतमा एमालेमा झुकाव राख्ने तर पार्टी सदस्यता नलिएका व्यक्तिहरूलाई समाजवादीले आफ्नो पार्टीमा संगठित गर्यो।
समाजवादीले पोखरामा ७ हजार पार्टी सदस्य रहेको दाबी गरे पनि सत्ता गठबन्धनकै नेताहरू पत्याउँदैनन्।
गठबन्धनकै अन्य दलका नेताहरू समाजवादीसँग कम्तीमा ४ हजार पार्टी सदस्य रहेको भने विश्वास गर्छन्।
२०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ४६ हजार मत पाएको थियो। अहिले थपिएका मतदातामध्ये कम्तीमा १५ हजार मतदाता कांग्रेसका भएको उनीहरूको विश्वास छ।
यस्तै, माओवादीले अघिल्लो निर्वाचनमा उपमेयरमा पोखरामा ८ हजार मत पाएको थियो। माओवादीका केही कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। माओवादी कास्कीका नेताहरू पोखरामा पार्टीका १५ हजार मतदाता रहेको दाबी गर्छन्।
गठबन्धनमा इमान्दारिता, प्रभावकारी मतदाता शिक्षा र बदर मत घटाउन सके गठबन्धनले निर्वाचन जित्ने एमालेकै नेताहरू पनि बताउँछन्। तर अवस्था त्यस्तो छैन। पोखराका कुनै वडामा गठबन्धन भयो त कुनैमा प्रतिस्पर्धा भए।
एउटा वडा अध्यक्ष पनि नपाएको भन्दै जनता समाजवादी पार्टीले गठबन्धनमा मतदान गर्न आह्वान नै गरेन। उल्टै, एमालेले चुनाव जित्ने बताउँदै हिँडे। पोखरामा जसपाका २ हजार १०० मतदाता रहेको केन्द्रीय सदस्य किरण थापा ‘आमोद’ले दाबी गरे।
नेपाली कांग्रेसका केही मतदाताले मेयरमा पार्टीका उम्मेदवार नहुँदा गठबन्धनको चुनाव चिन्ह कलममा भोट दिनभन्दा सूर्यमा मत दिने एमालेको विश्वास छ। त्यसमाथि एमालेको प्रभाव क्षेत्र रहेको मेयर उम्मेदवार कृष्ण थापाका गाउँ पोखरा–१६ बाटुलेचौरका बासिन्दाले उनैलाई भोट दिने भए।
सेतोपाटीले निर्वाचनअघि मौन अवधी सुरू हुनुपूर्व मत सर्वेक्षणका क्रममा एक मतदाताले भनेका थिए, ‘कृष्ण थापाले पहिला मेयर हुँदा पनि केही गरेन। सांसद भएर पनि केही गरे। अरूले पनि काम त गर्ने होइन, कृष्णले जित्यो भने किन केही काम गरेनौ भनेर भन्न त पाइन्छ।’
यस्तै, भेगीय भोट धनराजले पनि पाउने देखिन्छ। पोखरा–३३ निर्मल पोखरा र भरत पोखरीका बासिन्दा धनराजलाई भोट दिने बताएका थिए।
एमालेका दिवंगत नेता रवीन्द्र अधिकारीको गाउँ रहेको उक्त वडा एमालेको किल्ला हो।
धनराजको पनि त्यही गाउँ भएकाले गाउँलेलाई भोट दिने त्यहाँका मतदाताले बताएका थिए।
सेतोपाटी टिम निर्मल पोखरी पुग्दा त्यहाँ एमालेको जुलुस निस्किएको थियो। हामीले जुलुसमा सहभागी केही युवा र केही गाउँलेलाई सोध्दा मेयरमा धनराजलाई भोट दिने बताएका थिए।
भरत पोखरीमा न्युरो केलाउँदै गरेकी एक महिलाले भनेकी थिइन्, ‘अहिलेसम्म सूर्यबाहेक अन्त भोट दिएको छैन, यसपालि एउटा भोट कलममा दिनुपर्छ भनेर बुढा (श्रीमान)ले भन्नुभएको छ, उहाँले कलममा भोट हाल्न सिकाउनुभएको छ।’ उनले बाँकी मत भने सूर्यमै हाल्ने बताएकी थिइन्।
यस्तै,विगतमा एमालेकै किल्लाका रूपमा बुझिएको कास्कीकोटमा पनि गठबन्धन बलियो छ। उक्त गाउँमा एकीकृत समाजवादीले सदस्यता बढाउनुका साथै एमालेकै मतदाताले पनि मेयरमा धनराजलाई भोट दिने बताएका थिए।
एमालेका चुनाव प्रचार प्रसार समितिका एक जना अध्यक्षले ‘अफ दि रेकर्ड’मा हामीसँग भनेका थिए, ‘तपाईंहरूलाई भन्नुपर्दा हामीले एमालेले जित्छौं त भन्नैपर्छ, तर धनराजको भिजन र काम गर्न सक्छ भन्ने आकर्षण देखिएको छ, हाम्रा धेरै मतदाताले उहाँलाई मत दिनेछन्।’
एमालेकै प्रचारप्रसार कमिटीका अध्यक्ष भएर पनि उनले आफूले पनि धनराजलाई मत दिने अफ दि रेकर्डमा बताएका थिए।
एमालेले सजिलै जित्न सक्ने पोखरामा धनराजले यसरी भोट काट्ने भएकैले एमाले नेताहरू ढुक्क हुन सकेका छैनन्।
एमालेका मेयर उम्मेदवार कृष्ण थापा २०५४ सालमा निर्वाचित मेयर हुन् भने २०७४ मा प्रदेश सांसद निर्वाचित थिए।
एकै व्यक्तिलाई पटक/पटक अवसर दिएको भन्दै एमालेकै केही नेता कार्यकर्ता रूष्ट बनेका थिए। त्यसमाथि पोखराको मेयर टिकट पाएका दीपक पौडेललाई सुनचोरीको आरोप पार्टीभित्रैबाट फैलाएर टिकट खोस्न सफल भएका थिए।
उक्त आरोपको खण्डन गर्नुभन्दा एमाले अध्यक्ष ओलीले सुनचोरीको अप्रमाणित काण्डकै आधारमा टिकट खोसेर थापालाई दिए, जसले कार्यकर्ताको मन दुखाएको थियो।
यी घटनाक्रम मतपत्रमा प्रकट भएको अवस्थामा धनराजले झिनो मतान्तरले चुनाव जित्ने आकलन गरिएको छ।
उक्त घटना साम्य पार्न एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पोखराको पुरनचौरस्थित पौडेलको घरमा पुगेर भविष्यमा उचित जिम्मेवारी दिने भन्दै पौडेलको मन राख्न खोजेका थिए। त्यसपछि अध्यक्ष ओलीले पनि पोखरामा आयोजित आम सभामा आउँदा पौडेललाई मन नदुखाउन भनेका थिए।
यो समाचार तयार पार्दासम्म पोखराका वडा नम्बर १, २ र १२ का तीनवटा वडाका ३ हजार मतगणना सकिएको छ। मत गणनामा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यले ८१ मतले अग्रता लिएका छन्। यस्तै, गठबन्धनका उपमेयर उम्मेदवार कोपिला रानाभाटले पनि ८१ मतले नै अग्रता लिएकी छिन्।
अहिलेसम्मको मत परिणाम हेर्दा गठबन्धनका केही मत बदर देखिएको छ।
गठबन्धनका मेयर उम्मेदवार समाजवादीका धनराजले १ हजार १२१ मत पाउँदा कांग्रेसकी कोपिलाले १ हजार २ सय ४६ मत पाइन्।
एउटै गठबन्धनबाट पनि मेयर र उपमेयरको मतान्तर १२५ मतको फरक परेको छ।
यही हिसाबले मत बदर हुने हो भने पोखरामा झरेको कुल १ लाख ४३ हजार २१३ मतमा करिब ६ हजार मत बदर गठबन्धनको आकलन छ।
अहिलेसम्मको मतगणनामा बदर मत सोचेभन्दा कम भएको धनराजको भनाइ छ।
‘वडा नम्बर १२ मा अलि बढी मत बदर भएछ, अरू सोचेभन्दा कम हो,’ उनले भने, ‘मेरो र कोपिलाजीको मतान्तर जति छ, त्यो बदर मत हो।’
प्रतिपक्षी एमाले उम्मेदवार थापासँगको मतान्तर भन्दा बदर मत धेरै देखिनु उनका लागि राम्रो संकेत भने होइन।
एमाले मेयर उम्मेदवार कृष्ण थापा चुनाव आफूले जित्ने दाबी गरेका छन्।
एमालेको बलियो संगठन, शुभेच्छुक, समर्थक, पोखरा महानगर र प्रदेश सरकारले विगतमा गरेका काम लगायतका कारण आफूले चुनाव जित्ने उनको दाबी छ।
कागजमा मात्र गठबन्धन भएको बताउँदै आएका थापाले जनताले गठबन्धन मन नपराएका कारण आफुले चुनाव जित्ने बताए।
गठबन्धनका धनराजलाई ५ हजार मतान्तरले चुनाव जित्ने दाबी गरेका थापाले अहिले मत गणना भइरहेका वडालाई आफूले जित्ने वडाका रूपमा नगनेको बताए।
‘हाम्रो रिपोर्ट अनुसार ५ हजार मतान्तरले चुनाव जित्छौं,’ थापाले भने, ‘हामीलाई पोखराका वडा नम्बर ५, ६, १५, १६, १७, १८, १९, २०, २१, २८, ३१ र ३३ बाट अत्यधिक मत आउँछ।’
यता, धनराजले उक्त वडा बाहेकका वडाहरूमा आफूले ‘लिड’ गर्ने दाबी गरे।
‘पोखराका ३३ वटा वडामा १२ वडामा उहाँहरूले दाबी गर्नुभएको छ भने बाँकी बहुमत वडामा हामीले लिड गर्छौं,’ उनले भने, ‘ती वडामा पनि मलाई राम्रै मत आउँछ।’
चुनावी प्रचारका दौरान धनराजले एमालेको आलोचना र गाली नगर्ने रणनीति अपनाए।
एमालेका दिवंगत नेता रवीन्द्र अधिकारीसँग जोडेर आफू रवीन्द्रका सपना पूरा गर्न मेयर बन्न आएको गाउँले र पोखरेलीलाई आश्वस्त पार्ने प्रयास गरे।
रवीन्द्र र धनराज एकै गाउँका र राजनीतिक सहकर्मी भएकाले पनि एमालेजनको ध्यान तान्न धनराजले पूरा मेहनत गरे। यसका अलवा आफूले पाउने मत अटेरी अभियानबाट स्वतन्त्र उम्मेदवार उठेका लेखक गनेस पौडेललाई जान नदिन पनि उनले रणनीति अपनाए।
सार्वजनिक बहसमा धनराजले पटक/पटक गनेसका मेयर कार्ययोजना आफूले लागू गर्ने र पूरै समर्थन जनाएका थिए।
सार्वजनिक वृत्तमा एमाले उम्मेदवार थापा भने रक्षात्मक देखिएका थिए। धनराज र गनेसले आफू मेयर बनेपछि पोखरालाई कस्तो बनाउने भन्ने आकर्षक दृष्टिकोण पेश गरे।
फेवाताल जोगाउनेदेखि पोखराका १५ हजार रोपनी सार्वजनिक जगा अतिक्रमण हटाएर जंगल र पार्क बनाउने योजना सुनाए। यता, थापा भने पार्टीको घोषणा पत्र अनुसार काम गर्ने भन्दै रक्षात्मक देखिए।
एमालेकै कार्यकर्तासमेत थापाप्रति आकर्षित देखिएनन्। धनराजले अटेरी उम्मेदवार गनेसतर्फ आकर्षित मतदातालाई पनि आफ्नो पक्षमा पार्न भरपुर प्रयत्न गरे।
पोखरा महानगरमा एमालेका पार्टी सदस्य, सुभेच्छुक र समर्थकले मात्र मतदान गरिदिए पनि कृष्ण थापाले सजिलै चुनाव जित्न सक्छन् । जुन, विगतका मतान्तर र संगठन संरचनाले पनि देखाउँछ।
यता, प्रारम्भिक मत परिणाम अनुसार विपक्षीसँगको मतान्तर भन्दा बदर मत धेरै देखिँदासमेत धनराजले चुनाव जिते भने उनलाई एमालेका कार्यकर्ता र मतदाताले जिताएको देखिनेछ। किनकी, नेपाली कांग्रेसका मतदाताले दिएका निर्णायक मत बदर हुने प्रारम्भिक नतिजाले देखाइसकेको छ ।