आफ्ना सबै प्रतिस्पर्धीको जमानत जफत गराएर भक्तपुर नगरपालिकामा मेयरको दोस्रो इनिङ खेल्न गइरहेका छन्, नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति।
अन्तिम परिणामअनुसार सुनिलले २९ हजार २ सय मत पाउँदा उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ३ सय ५२ मत मात्र प्राप्त गरे।
उपमेयरमा पनि नेमकिपाकी रजनी जोशी २९ हजार ६ सय ९५ मत ल्याएर विजयी भएकी छन्। उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ७ सय ८४ मत ल्याइन्।
काठमाडौं उपत्यकाका महानगर तथा नगरपालिकाहरूमध्ये राम्रो काम गरेको भनी चर्चा कमाएका मेयरमा सुनिल अग्रपंक्तिमा आउँछन्। परम्परागत शैली जीवित राख्न, भुइँचालोमा ढलेका सम्पदाहरूलाई पुरानै शैलीमा पुनर्जीवन दिन र मासिएका पोखरी ब्युँताउन महत्वपूर्ण काम गरेका उनी आफ्ना निकट प्रतिद्वन्द्वीको तुलनामा झन्डै नौ गुना बढी मत ल्याएर फेरि मेयरमा दोहोरिएका छन्।
उनी अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका कामलाई यसपालि पहिलो प्राथमिकतामा राख्ने बताउँछन्।
प्रजापतिले दोस्रो कार्यकालमा गर्न चाहेका काम के-के हुन् त?
यसबारे कुराकानी गर्दा उनले छवटा काम आफ्नो मुख्य प्राथमिकतामा पर्ने बताए।
पहिलो, भक्तपुर नगरपालिकालाई उनी 'सांस्कृतिक नगर' घोषणा गर्न चाहन्छन्। यसका लागि पुरानो बस्तीका घरहरूलाई परम्परागत शैलीमा ढाल्ने काम अघि बढिसकेको र अब यो योजनालाई पूरै नगर क्षेत्रभरि विस्तार गरेर सिंगो भक्तपुरलाई नै सांस्कृतिक सहर बनाउने उनले बताए।
नगरपालिकाले पुरानो बस्तीका घरलाई परम्परागत शैलीमा ढाल्न इँटा, झिँगटी, काठ लगायत सामग्री खरिदमा स्थानीयलाई ३५ प्रतिशत अनुदान दिने गरेको छ। अब यो योजना नगर क्षेत्रभरि लागू गरिनेछ।
दोस्रो, उनी पहिले सुरू गरेका भाज्या पोखरी, नरसिंह मन्दिर लगायतको निर्माण दोस्रो कार्यकालमा पूरा गर्न चाहन्छन्। विभिन्न कानुनी अप्ठ्याराका कारण बन्न नसकेका घर निर्माण गरेर भक्तपुरलाई हेर्नलायक सुन्दर सहर बनाउने उनी बताउँछन्।
‘सहर कस्तो बनाउने भन्दा भक्तपुरजस्तो भन्ने उदाहरण छाड्न चाहन्छौं,’ उनले सेतोपाटीसँग भने।
तेस्रो, धेरैले सामुदायिक शिक्षा नराम्रो ठान्ने र निजी स्कुल नपाए मात्र सामुदायिकमा पढाउने प्रवृत्ति हटाउने उनको योजना छ। यसका लागि उनले आर्थिक अवस्थाका कारण उच्च शिक्षा लिन नपाएकाहरूलाई नगरपालिकाबाट शैक्षिक ऋण दिन सुरू गरेका छन्। आगामी कार्यकालमा यसलाई थप विस्तार गर्ने उनले बताए।
‘आर्थिक अभावकै कारण कोही शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने।
चौथोे, शिक्षासँगै विद्यार्थीहरूको मौलिक हक खेलकुद हो भन्ठान्ने प्रजापतिले विद्यालयको पाठ्यक्रममा छवटा खेलकुद समावेश गरेका छन्। त्यसको आधार अघिल्लो कार्यकालमै तयार गरिसकेकाले अब बढीभन्दा बढी खेलकुद प्रतियोगिता र सांस्कृतिक प्रतियोगिताहरू आयोजना गर्ने उनको योजना छ।
पाँचौं, स्वास्थ्य क्षेत्रतर्फ भक्तपुर नगरपालिकाले घरघरमा नर्स पठाएर घरदैलो नर्सिङ सेवा दिँदै आएको छ। यसले आर्थिक समस्याका कारण अस्पताल जान नसकेका जनताका धेरै समस्या थाहा भएको उनी बताउँछन्।
दोस्रो कार्यकालमा यस्तो सेवा थप विस्तार गर्दै अन्य विशिष्टीकृत स्वास्थ्य सेवाहरू पनि भक्तपुरमै उपलब्ध गराउँदै जाने उनको योजना छ।
‘सबै किसिमका स्वास्थ्य सेवा भक्तपुरबाटै दिन सकौं भनेर हामी प्रयासरत छौं। पैसा नभएकाहरूलाई कसरी स्तरीय सेवा दिने भनेर हामी काम गरिरहेका छौं,’ उनले भने।
छैठौं, उनी यो कार्यकालभित्र ख्वप विश्वविद्यालय सञ्चालनको योजना पूरा गर्न चाहन्छन्।
यसअघि नेपाल सरकारबाट स्वीकृति नपाउँदा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने काम अधुरै रहेकाले त्यसलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने उनले बताए।
यी छ प्राथमिकताबाहेक २०७२ को भुइँचालोले भत्काएका मन्दिर तथा सम्पदाहरूको पुनर्निर्माण र जीर्णोद्धारलाई निरन्तरता दिँदै जाने प्रजापतिले बताए।
भक्तपुर नगरपालिकामा १२० वटा सम्पदा क्षति भएको रेकर्ड थियो। ती सम्पदा लगभग सबै पुनर्निर्माण गर्नुका साथै थप उत्खनन र जीर्णोद्धारका काम भएका छन्।
‘त्यति बेला सम्पदा निर्माण गर्दा नगरपालिकाले विदेशीको सहयोग लिएन, सरकारको हात थापेन। स्थानीयसँग हातेमालो गर्दै उपभोक्ता समिति बनाएर काम गर्यो। कसैले नगद, जिन्सी सहयोग गरे त कसैले श्रमदान गरे। आगामी सम्पदा निर्माण पनि यसरी नै हुनेछ,’ उनले भने।
‘हामीकहाँ ज–जसले सम्पदा निर्माणमा काम गरे, उनीहरूको दस्तावेज नै बनाउने तयारी गरिरहेका छौं। त्यसो भयो भने पछिल्ला पुस्ताले मेरो आमाबुवाले त्यो मन्दिर बनायो, त्यो पोखरी बनायो भनेर गर्व गर्न सक्नेछन्। अनि उनीहरूका पछिल्ला पुस्ताले पनि सिक्नेछन्।’
प्रजापतिको योजनामा सय वर्षपछि भक्तपुर सहर कस्तो हुन्छ भन्ने परिकल्पना पनि छ। त्यो परिकल्पना २० वर्षअघि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले लेखेको किताब ‘सय वर्षपछिको भक्तपुर’ मा आधारित छ।
उक्त परिकल्पनामा नगरभित्र मौलिक शैलीका घरहरू हुनेछन्। सडकमा धुलो फाल्ने सवारी साधन हुने छैन। प्रत्येक घरमा स्थानीयसँगै विदेशी भाषा बोल्ने र खाना बनाउन जान्ने सीप हुनेछ। यसले विदेशी पाहुना नेपाल आउँदा उनीहरूलाई सहज हुनेछ।
‘अहिले नै नगरपालिकाले यसको आधार तयार गर्न नेपाल भाषासँगै चिनियाँ, जापानी भाषाहरू सिकाइरहेको छ। डकर्मी, सिकर्मी र आर्किटेक्टको तालिम दिइरहेको छ,’ उनले भने, ‘भोलिका निम्ति हामीले अहिलेबाटै आधार तयार पारिरहेका छौं।’
बाहिरी मुलुकबाट आएका पर्यटकलाई भक्तपुर पुगिएन भने नेपाल आएजस्तो नलाग्ने सहर बनाउने आफ्नो योजना रहेको प्रजापति बताउँछन्।