काठमाडौंको दक्षिणकाली नगरपालिकाका नवनिर्वाचित मेयर मोहन बस्नेतलाई सोमबार दिउँसो फोन गर्दा उनी भर्खरै विजय जुलुसबाट घर फर्किएका थिए।
'सबै नगरवासी घरमा हुल बाँधेर आउनुभयो र तपाईंले चुनाव जित्नुभयो भनेर विजय जुलुसमा लग्नुभयो,' उनले भने, 'अनि बल्ल मलाई फेरि मेयर भएछु भन्ने अनुभूति भयो।’
नेपाली कांग्रेसका बस्नेत एमालेका निकट प्रतिद्वन्द्वी श्रीराम आचार्यलाई २ हजार ९ मतले हराउँदै दोस्रोपटक मेयर निर्वाचित भएका हुन्। उनले ७ हजार २ सय १ मत ल्याएका छन् भने आचार्यले ५ हजार १ सय ९२ मत पाएका छन्।
अघिल्लो कार्यकालमा राम्रो काम गरेकैले यसपालि पनि जनताले पत्याएको र आफूलाई ठूलो मतान्तरले विजयी बनाएको बस्नेत बताउँछन्।
'जनताको विश्वास कायम राख्न अबको कार्यकालमा पनि निरन्तर इमानदारी र निष्ठापूर्वक काम गर्ने छु,' उनले भने।
बस्नेत पछिल्लो ३० वर्षदेखि अविच्छिन्न पालिका प्रमुख छन्।
सबभन्दा पहिला उनी साविकको टुल्कू डुँडेचौर गाविसबाट २०४८ सालको स्थानीय निर्वाचनमा गाविस अध्यक्ष निर्वाचित भएका थिए। त्यसपछि २०५४ मा फेरि निर्वाचित भए।
२०४८ को चुनावपछि निकै मिहिनेत गरेर चारवटा वडाका जनतालाई जग्गाको लालपुर्जा दिलाएको उनी अझै सम्झन्छन्।
'जग्गाविहीनहरुलाई लालपुर्जा दिलाएको थिएँ। अहिले पनि सम्झिँदा गौरव गर्न लायक काम गरेको रहेछु भन्ने लाग्छ,' बस्नेतले भने, 'म यहाँका जनताको सुखदु:खमा साथ दिन पाउँदा खुसी हुन्छु।'
दुईचोटि लगातार गाविस अध्यक्ष भएपछि उनले टुल्कू डुँडेचौरलाई नमूना गाउँ विकास समिति बनाएका थिए।
त्यो बेला गाउँमा मोटर बाटो थिएन। उनले बाटो ल्याए। बिजुली थिएन, त्यो पनि ल्याए। खानेपानीको समस्या थियो, पानी जुटाए। जनताको नाममा लालपुर्जा थिएन, त्यो दिलाए।
यिनै सुधारले २०५२ सालमा जिल्ला विकास समितिले टुल्कू डुँडेचौरलाई नमूना गाविस घोषणा गर्यो।
उक्त गाविससहित अन्य ६ गाविस मिलेर बनेको दक्षिणकाली नगरपालिकाको पहिलो मेयर पनि बस्नेत नै भए।
'गाविसमा जस्तै प्रतिबद्धता मैले मेयर पदमा रहेर पनि पूरा गरेको नगरवासीले अनुभव गरेको हुनुपर्छ। त्यही भएर मलाई यो कार्यकालमा पनि उहाँहरूले जिताउनुभयो,’ उनले भने, 'उहाँहरूको भरोसा र विश्वास कायम राख्नुपर्छ भनेर मैले अहिलेबाटै सोचिसकेको छु।’
बस्नेत आफ्नो दोस्रो कार्यकालमा पहिलेका आधाअधुरा कामलाई प्राथमिकतामा राखेर पूरा गर्न चाहन्छन्, भन्छन्, 'मैले कार्यकाल दोहोर्याउन चाहेको यसै कारण हो। ती काम सकेपछि नयाँ योजना थाल्छु।'
पहिलेका अधुरा काममा सडक, खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा लगायत छन्। भूगोल र आर्थिक स्रोत सानो भएको ठाउँमा बजेट निकासा कम हुँदा समस्या भएको उनले बताए।
अघिल्लोपटक कृषकलाई मल र अनुदान दिन समूह बनाउने लगायत काम भए पनि ठूलो आकारमा काम नभएजस्तो उनलाई लाग्छ।
'एउटा नगर समृद्ध बनाउन कृषक अनि व्यवसायीहरूमा बढी लगानी गर्नुपर्ने रहेछ। पहिले थोरै मात्र लगानी भएकाले योपटक बजेट बढाउने सोच छ,’ उनले भने।
सर्वसाधारणलाई खानेपानी वितरणका लागि पचासौं ट्यांकी बनाए पनि पाइपलाइन विस्तार हुन नसक्दा जनता लाभान्वित हुन नसकेको उनले बताए।
सडक यातायातको कुरा गर्दा काठमाडौं–दक्षिणकाली-हेटौंडा जोड्ने बाटो बनेको छ। यसलाई पक्की बनाउन कालोपत्रेको काम बाँकी छ। स्वास्थ्य सेवातर्फ नगर अस्पताल बनाउन टेन्डर खोलिएको छ। शिक्षाका लागि ८० लाखदेखि १२ करोड रूपैयाँ खर्च गरेर विद्यालयका भौतिक संरचना निर्माण भइसकेका छन्। अब ती विद्यालयमा उनी पठनपाठन राम्रो र गुणस्तरीय बनाउन चाहन्छन्।
'दक्षिणकाली नगरपालिका माता दक्षिणकाली र ३३ कोटी देवदेवीहरूको धार्मिक स्थल हो। यो क्षेत्रमा पर्यटक बढाउन विभिन्न पार्क बनाउने, हिमाल र डाँडाकाडा देखिने ठाउँसम्म पुग्ने पदमार्ग बनाउने योजना छ,' उनले भने, 'करिब ६–७ महिनाभित्र चम्पादेवी मन्दिरमा केबलकार पनि सञ्चालन हुँदैछ।'
भूगोलका हिसाबले डाँडाकाँडा धेरै भएकाले विकासका काम गर्न गाह्रो भएको र गरेका काम पनि त्यति नदेखिएको उनी बताउँछन्।
कोरोना महामारीले पनि धेरै सम्भाव्य काम गर्न नसकेजस्तो उनलाई लाग्छ। यति हुँदाहुँदै महामारी बेला उल्लेखनीय काम गरेको उनको दाबी छ।
'हामी जनप्रतिनिधि नै जनताको घरदैलोमा पुगेर समस्या सुन्ने र सेवा पुर्याउने गर्थ्यौं। त्यसले अरू नगरपालिकामा भन्दा हाम्रो नगरपालिकामा कम मानवीय क्षति भएको थियो,' उनले भने।
बस्नेतले कांग्रेसबाट राजनीति गर्न थालेको चार दशक नाघ्यो। २०३४ सालमा पञ्चायती शासनविरूद्ध बाबु जेल परेदेखि नै आफू कांग्रेस भएको उनी बताउँछन्।
बुवाकै प्रभावले कांग्रेस राजनीतिमा लागेका उनी सक्रिय सदस्य हुँदै महासमिति सदस्य भइसकेका छन्।